रुपन्देहीका २३ जनप्रतिनिधिले सोमबारसम्म नयाँ दल रोजेका छन् । रुपन्देहीमा वडा सदस्यदेखि पालिका अध्यक्षसम्मले नयाँ दल रोजेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले बताए ।
सोमबारसम्म एमालेका पाँच र जसपाका १८ जनप्रतिनिधिहरूले नयाँ दल रोजेका छन् । निर्वाचन आयोगले नयाँ दर्ता भएको दल रोज्न मंगलबार साँझसम्मको समय दिएको छ ।
एमालेबाट नेकपा एकीकृत समाजवादीमा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेसहित पाँचजनाले सनाखत गरेका छन् । जसपाबाट मर्चवारी गाउँपालिका अध्यक्ष केशवनन्द बनियाँ, उपाध्यक्ष सुनिता कलवारसहित १८ जनाले लोकतान्त्रिक समाजवादी पार्टी रोजेको भण्डारीले बताए ।
सोमबार उपप्रमुख काफ्लेसहित बुटवल उपमहानगरपालिका– १८ का वडा सदस्य गोपाल नेपाल, वडा नम्बर २ का वडा सदस्य सुनील शाक्य, वडा नम्बर ३ का वडा सदस्य चीनबहादुर गुरुङ र तिलोत्तमा नगरपालिका– ११ का वडा सदस्य यज्ञेश्वर क्षेत्रीले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।