अफगानिस्तानबाट अमेरिकाको दुर्भाग्यपूर्ण बहिर्गमनले सन् २०२० र १९७० को दशकबीच सादृश्य झल्कायो । सन् १९७० को दशककै जस्तो अहिले पनि लामो समय मुद्रास्फीति रहला ? अधिकांश अर्थशास्त्री मुद्रास्फीतिलाई एक विशुद्ध प्राविधिक समस्याका रूपमा हेर्छन्, अधिकांश केन्द्रीय बैंकर पनि यही मान्यतामा विश्वास गर्छन् । तर, वास्तवमा दीर्घ मुद्रास्फीतिको जड अर्थ राजनीतिबाट निःसृत हुन्छ ।
घरेलु अवस्थाको सन्दर्भमा, १९७० को दशकका अमेरिकी राष्ट्रपति निक्सनकै समतुल्य डोनाल्ड ट्रम्प, जसले संस्थागत मूल्य–मान्यतालाई चुनौती दिए, उनलाई हराउँदै अहिले शालीन जो बाइडेनले राष्ट्रपतिको कमान सम्हालेका छन्, जसरी त्यो समय जिम्मी कार्टर आएका थिए । विदेशको सन्दर्भमा, आफूभन्दा निकै कमजोर प्रतिद्वन्द्वीबाट लज्जास्पद पराजयको सामाना गरेको छ (पहिले भियातनामसँग र अहिले तालिबानसँग) । आर्थिक मोर्चामा वैश्विक अर्थतन्त्र उसैगरी उत्पादकत्व सुस्तिएर मन्दीको मारमा छ ।
नर्थवेस्टर्न विश्वविद्यालयका अर्थशास्त्री रोबर्ट गोर्डनको नवप्रवर्तन एवं वृद्धिसम्बन्धी चर्चित पुस्तक ‘द राइज एन्ड फल अफ अमेरिकन ग्रोथ’ अनुसार १९७० को दशक अमेरिकी अर्थतन्त्रको इतिहासको एक नयाँ मोड थियो । तत्कालीन तीव्र गतिको मन्दीले अर्थपूर्ण आर्थिक नवप्रवर्तन ल्याएथ्यो । जैविक प्रविधि एवं आर्टिफिसियल इन्टेलिजेन्समा अविश्वसनीय प्रगतिका बाबजुद कैयाँै क्षेत्रमा उत्पादकत्व घट्दै गइरहेको परिप्रेक्ष्यमा जारी महामारीले उत्पादकत्वलाई थप धक्का दिएको छ । मध्यपूर्वका मुलुकले तेलको मूल्य भारी मात्रामा बढाउँदा त्यसको मारले विश्व अर्थव्यवस्थाले सन् १९७० को दशकमा ठूलो आपूर्ति संकट भोगेको थियो । अहिलेको संरक्षणवाद एवं विश्वव्यापी आपूर्ति शृंखलामा अवरुद्धताले सन् १९७० कै जस्तो नकारात्मक आपूर्ति संकट निम्त्याएको छ ।
सन् १९६० को अन्त्य र १९७० को दशकको सुरुवाती वर्षमा भएको सरकारी खर्चमा अत्यधिक वृद्धिको राजस्वसँग तादात्म्य भएन । राष्ट्रपति लिन्डन बि. जोनसनको ‘ग्रेट सोसाइटी’ कार्यक्रमले चापमा परेको सार्वजनिक खर्चलाई भियातनाम युद्धले थप वृद्धि ग¥यो । राजनीतिक समर्थन गुम्ने डरले राष्ट्रपति जोनसन र निक्सन दुवै खर्चपूर्ति गर्न कर बढाउन अनिच्छुक रहे । पछिल्ला वर्षमा पनि ट्रम्पको आक्रामक कर कटौती, जारी महामारी सम्बन्धित राहत तथा उद्धार खर्च र अहिले बाइडेन प्रशासनको सामाजिक सुरक्षाका प्रगतिशील योजनाले संघीय बजेटलाई गम्भीर रूपमा असर पारेको देखिन्छ ।
सन् १९७० र सन् २०२० को दशकका यी समानताका बाबजुद अहिलेका स्वायत्त केन्द्रीय बैंकहरू मुद्रास्फीतिलाई नियन्त्रणमै राख्न सक्षम छन् । मुद्रास्फीतिको दबाब नियन्त्रणबाहिर गए ब्याजदर बढाउन सक्छन् । १९७० को दशकमा केही मुलुकमा मात्रै केन्द्रीय बैंक स्वतन्त्र थिए । अहिले विश्वका केन्द्रीय बैंकहरू तुलनात्मक रूपले स्वतन्त्र छन् । र, अहिले विश्वव्यापी ब्याजका दरहरू अत्यन्तै न्यून भएकाले पनि सन् १९७० को तुलनामा धनी मुलुकका सरकारलाई बजेट घाटा थाम्ने प्रशस्त ठाउँ छन् ।
अफगानिस्तानमा अमेरिकाको पराजय सन् १९७० को दशकको जस्तै न्यून आर्थिक वृद्धि र उच्च मुद्रास्फीतिको वातावरणतर्फको एक ठोस कदम हुन सक्छ
अकोतर्फ पछिल्ला पाँच दशकयता वृद्ध जनसंख्यालाई सामाजिक सुरक्षा प्रबन्धको चुनौती सबैभन्दा धेरै देखिन्छ, विशेषतः चीनलगायत विकसित अर्थतन्त्रका लागि यो विषय टाउको दुखाइ बन्दै छ । सरकारका लागि ऋणभन्दा पनि ज्यादै कम लगानी गरिएका कारण सार्वजनिक पेन्सन कार्यक्रम ठूलो चुनौती देखिन्छ । चुलिँदो वैश्विक असमानता पछिल्लो समय राजनीतिक मुद्दाका रूपमा विकसित भइरहेको तर आर्थिक वृद्धिमा सुधार कमजोर रहेको सन्दर्भमा विश्वभर नै सरकारलाई सार्वजनिक खर्चमा वृद्धि र राहतलगायतमा आर्थिक सहयोग वितरणको दबाब अत्यधिक देखिन्छ । सतहमा आएको जलवायु परिवर्तन एवं वातावरणीय समस्याले पनि बजेट र सुस्त वृद्धिमा थप दबाब दिने देखिन्छ ।
उच्च दरमा बढिरहेको सरकारी ऋणले अवश्यम्भावी रूपमा केन्द्रीय बैंकहरूलाई ब्याजदर बढाउने अप्रिय राजनीतिक निर्णय लिन बाध्य गराउनेछ । महामारीपछि स्थिति सामान्य भए पनि केही केन्द्रीय बैंकहरू उच्च ऋणका कारण ब्याजदर बढाउन असमर्थ हुनेछन् । महामारीका वेला ह्वात्तै बढेको निजी क्षेत्रको ऋणभारले पनि ठूलै समस्याको रूप लिन सक्ने देखिन्छ । ऋणभार र न्यून आम्दानीका कारण निजी क्षेत्र धराशयी हँुदा त्यसको ठूलो वित्तीय असर न्यून कर संकलन र उच्च सामाजिक सुरक्षा खर्चका रूपमा देखिनेछ ।
अहिलेका आर्थिक चुनौती निश्चय पनि समाधानयोग्य छन्, साथै मुद्रास्फीति बढिरहने कुनै कारण पनि छैन । अमेरिकी केन्द्रीय बैंक (फेड) का पावेल, युरोपेली केन्द्रीय बैंककी प्रमुख क्रिस्टिन लगार्डलगायत विश्वका प्रभावशाली केन्द्रीय बैंकका नेतृत्वहरू पनि सन् १९७० को दशकका फेड प्रमुख आर्थर बन्र्सभन्दा निकै फरक छन् । पावेल र लगार्ड दुवैसँग एकदमै सक्षम कर्मचारी छन् । तर, राजनीतिक नेतृत्व हतास र कमजोर भए भनेचाहिँ तिनको दबाब थेग्न र स्वायत्त रहिरहन केन्द्रीय बैंकहरूलाई पनि कठिन हुनेछ ।
अफगानिस्तानमा अमेरिकाको पराजय सन् १९७० को दशकको जस्तै न्यून आर्थिक वृद्धि र उच्च मुद्रास्फीतिको वातावरणतर्फको एक ठोस कदम हुन सक्छ । केही साताअघि देखिएको हल्का मुद्रास्फीति सम्हाल्न सकिने खालकै थियो । तर, अहिले स्फीतिको जोखिम बढेको छ ।
(रोगोफ हार्वर्ड विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुन्)