नक्कली स्मार्ट लाइसेन्ससहित दुईजना पक्राउ

सोमबार, ३२ साउन, २०७८
डिजिटल संस्करण

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)सहित दुईजनालाई नियन्त्रणमा लिएको छ । ललितपुर महानगरपालिका- २, बुङमती घर भई हाल जोरपाटी बस्ने ४६ वर्षीय प्रेम तुलाधर र खोटाङ ऐंसेलुखर्क- ६ घर भई हाल मूलपानी बस्ने ३१ वर्षीया कल्पना दाहाल पक्राउ परेका हुन्।

यातायात कार्यालयबाट जारी गरिने सवारीचालक अनुमतिपत्रका नगदी रसिदहरू केही व्यक्तिले सरकारी कागजात दस्तखत किर्ते गरी रकम लिने गरेको भन्ने विशेष सूचनाका आधारमा ट्राफिक प्रहरीले उनीहरूलाई मूलपानीस्थित राइजिङ एक्सपोर्ट ड्राइभिङ सेन्टरबाट पक्राउ गरेको हो।

उनीहरूले दर्जनौँ व्यक्तिसँग रकम लिएर नक्कली लाइसेन्स रसिद दिई किर्ते ठगी गर्ने काम गर्दै आएका ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए। पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि  प्रहरी वृत्त सिंहदरबारमा बुझाएको ट्राफिक महाशाखाले जनाएको छ।

सुझावित समाचार