- काठ तस्करीमा संलग्न युवकलाई पक्राउ गरेर कारबाहीविना छाडेको आरोपमा बाँके प्रहरीका तत्कालीन एसपी ओमबहादुर रानामाथि कारबाही सिफारिस
- पश्चिम नवलपरासीमा तस्करीको मोबाइल छाड्दा एक लाख ७५ हजार घुस लिने बर्दघाट इलाका प्रहरी कार्यालयका जवान सञ्जय धवल निलम्बनमा
- प्रहरी हेडक्वार्टरमै सञ्चालित पेट्रोल पम्पमा एक करोड चार लाख हिनामिना गरेको अभियोगमा असइ दिलीप कार्कीविरुद्ध अख्तियारद्वारा मुद्दा
हेडक्वार्टरमै तेलको पैसा लुकाउनेदेखि घुस लिएर तस्करलाई साथ दिएका पछिल्ला निरन्तरका घटनाले ‘सत्य, सेवा, सुरक्षणम्’ मन्त्र अंगीकार गरेको प्रहरी संगठनमाथि नै फेरि प्रश्न उठेको छ । यस्ता अनियमिततामा उच्चपदस्थदेखि तल्लो तहसम्मका प्रहरी जोडिएका छन् ।
काठ तस्करीमा संलग्न युवकलाई पक्राउ गरेर कारबाहीविना छाडेको आरोपमा बाँके प्रहरीका तत्कालीन एसपी ओमबहादुर रानामाथि कारबाही सिफारिस भएको छ । प्रदेश प्रहरी कार्यालय लुम्बिनीले एसपी राजेन्द्रसिंह खड्का नेतृत्वमा गठन गरेको छानबिन समितिले घटनामा एसपी रानाकै मिलेमतो रहेको औँल्याएको हो । समितिले प्रहरी प्रधान कार्यालयलाई गत मंगलबार प्रतिवेदन बुझाएको छ ।
गत वैशाखमा जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले डुडुवा– ६ हिलमिनियाबाट सालको काठसहित निसार खाँलाई पक्राउ गरेको थियो । पक्राउ परेपछि उनी हत्कडीसहित भागेको भनेर माथिल्लो निकायलाई खबर गरिएको थियो । तर, प्रहरीले बरामद गरेको उनको मोटरसाइकल तथा मोबाइल पनि फिर्ता भएपछि घटना शंकास्पद बनेको थियो । त्यसपछि प्रहरीले भगाएको सूचनाका आधारमा प्रदेश प्रहरीले समिति नै बनाएर छानबिन थालेको थियो ।
‘पक्राउ परेका व्यक्ति भाग्न सक्ने भए, तर मोटरसाइकल र मोबाइलसमेत फिर्ता हुुनुले मिलेमतो देखियो,’ छानबिनमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘यसमा एसपीकै मिलेमतो प्रस्ट देखिएको छ । प्रतिवेदन बुझाइसकेका छौँ, हेरौँ कारबाही के हुन्छ ।’ प्रतिवेदनमा यसमा आर्थिक चलखेलको आशंका गरिएको छ ।
काठ बरामद गरी पक्राउमा संलग्न प्रहरीसँग पनि छानबिन समितिले सोधपुछ गरेको थियो । सुरुमा उनीहरूले खाँ भागेको बताए पनि पछि एसपीकै आदेशमा छाडेको बताएका थिए । खाँ हत्कडी नै लिएर भागेकोमा पछि हत्कडी भने फिर्ता गरेका थिए । ‘हत्कडी फिर्ता गरेपछि प्रहरीले पनि उनको मोटरसाइकल र मोबाइल फिर्ता गरेको देखियो,’ छानबिन समिति स्रोतले बतायो ।
एसपी रानाको काठमाडौं सरुवा भइसकेपछि यस विषयमा छानबिन सुरु भएको थियो । हाल प्रदेशको छानबिन प्रतिवेदनमाथि प्रहरीको उजुरी छानबिन शाखाले कारबाही प्रक्रिया अघि बढाएको छ । एसपीमाथि कारबाही टुंगिएपछि त्यसमा संलग्न अन्य प्रहरीमाथि कारबाही गर्ने प्रदेश प्रहरी कार्यालयको तयारी छ ।
एसपी राना यसअघि पनि पटक–पटक कारबाहीमा परेका अधिकृत हुन् । रसुवामा जिल्ला प्रमुखका रूपमा काम गर्दा रक्तचन्दन तस्करीमा मिलेमतो देखिएपछि उनीमाथि विभागीय कारबाही भएको थियो । सोही घटनामा सेनाका कर्नेल बर्खास्त हुँदा उनलाई भने राजनीतिक पहुँचको आधारमा सामान्य कारबाही गरेर जोगाइएको प्रहरी अधिकारीहरू बताउँछन् । विवादास्पद पृष्ठभूमि भए पनि दबाबकै भरमा कास्की, बाँकेजस्ता जिल्लाको इन्चार्ज दिइएको थियो । अहिले पनि कारबाहीबाट जोगिन उनले राजनीतिक नेतृत्वबाट दबाब दिन थालिसकेको स्रोत बताउँछ । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी मुकुन्द आचार्यले बाँकेको सो घटनामा छानबिन सकाएर प्रतिवेदन बुझाएको पुष्टि गरे ।
मोबाइल तस्करीमा प्रहरीले घुस लिएको पुष्टि
पश्चिम नवलपरासीको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरीले तस्करीको मोबाइल छाड्दा घुस लिएको पुष्टि भएको छ । घुुमुवाका रूपमा कार्यरत प्रहरी जवान सञ्जय धवलले घुस लिएको छानबिनमा पुष्टि भएको हो । उनले एक लाख २० हजार नगद र ५५ हजार रुपैयाँ बैंक खातामा लिएको छानबिनबाट खुलेको हो ।
सो विषयमा प्रदेश प्रहरी र गृह मन्त्रालयले छुट्टाछुट्टै छानबिन गरिरहेको छ । सो घटनाको छानबिनका लागि इन्स्पेक्टर कपिल वाग्लेलाई गृह मन्त्रालयले निलम्बन गरेकोमा गत २५ साउनमा उनको दुर्घटनामा मृत्यु भएको थियो । निलम्बनलगत्तै मृत्यु भएको घटना शंकास्पद भएको भन्दै प्रश्न उठेपछि गृह मन्त्रालयले शुक्रबार सहसचिव सुनील खनालको नेतृत्वका छानबिन समिति गठन गरेको छ । पश्चिम नवलपरासीका सांसद देवेन्द्रराज कँडेलले यसमा अन्य प्रहरीको समेत संलग्नताको आरोप लगाएपछि छानबिन सुरु भएको छ । जवान धवललाई भने जिल्ला प्रहरी कार्यालयले नै निलम्बन गरिसकेको छ । बर्दघाट प्रहरीको मिलेमतोमा तस्करी भएको मोबाइल पूर्वी नवलपरासीको प्रहरीले बरामद गरेपछि मिलेमतोमा भएको तस्करी प्रकरण बाहिर आएको थियो ।
प्रश्नपत्र चोरीमा संलग्न तीन प्रहरी निलम्बित
राष्ट्रसंघीय शान्ति मिसनको प्रारम्भिक छनोट परीक्षाको प्रश्नपत्र चोरी र वितरणमा संलग्न तीन प्रहरीलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको छ । सइ जनक थापा, हवल्दार कुमार शाह र कार्यालय सहयोगी सुरेश बम निलम्बित भएका हुन् । उनीहरूलाई नोकरीबाटै हटाउने प्रहरी प्रधान कार्यालयको तयारी छ ।
कार्यालय सहयोगी बमले एसपीको घर्राबाट प्रश्नपत्र चोरी गरेर हवल्दार शाहलाई दिएका थिए । यसको योजनाकार शाह थिए । युएन शाखामै कार्यरत सइ थापाले पनि प्रश्नपत्र लिएर आफन्तलाई दिएका थिए । प्रश्नपत्र चोरीमा संलग्न ११ जना तथा लापरबाही गर्ने परीक्षा तयारी समितिका तीन प्रहरीमाथि प्रहरी प्रधान कार्यालयले स्पष्टीकरण सोधेर विभागीय कारबाही प्रक्रिया अघि बढाएको छ । डिआइजी वसन्त लामा नेतृत्वको समितिले दुई एसपी, दुई डिएसपी, दुई इन्स्पेक्टरसहित १४ जनामाथि कारबाही सिफारिस गरेको थियो ।
प्रहरी पेट्रोल पम्पको एक करोड असइको खल्तीमा
नेपाल प्रहरी कल्याण कोषद्वारा नक्सालस्थित प्रहरी हेडक्वार्टरमै सञ्चालित पेट्रोल पम्पको एक करोड रुपैयाँभन्दा धेरै अनियमितता गरेको अभियोगमा असइ दिलीप कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनले एक करोड तीन लाख ९७ हजार नौ सय ३७ रुपैयाँ हिनामिना गरेको आयोगले जनाएको छ ।
प्रहरी पेट्रोल पम्पमा कार्यरत रहँदा कार्कीले विभिन्न कम्पनीबाट लिएको भुक्तानी आफ्नो खातामा जम्मा गरेका थिए । तीन आर्थिक वर्षमा यसरी पम्पको आम्दानी लुकाउँदा पनि कल्याण कोषका अधिकारीले थाहा पाएका थिएनन् । पछि लेखापरीक्षणका क्रममा उनको बदमासी खुलेको थियो । गत वर्ष नै प्रहरीले उनलाई नियन्त्रणमा लिई अख्तियारमा बुझाएको थियो । धरौटीमा छुटेका उनलाई एक वर्ष लामो अनुसन्धानपछि आयोगले मुद्दा दायर गरेको हो ।
प्रहरी पेट्रोल पम्पमा भएको यो पहिलो अनियमितता होइन । यसअघि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्स्पेक्टर जोगलाल डंगोललगायतमाथि पम्पको रकम अनियमितता गरेको अभियोगमा मुद्दा दायर गरेको थियो । राष्ट्रसंघीय शान्ति मिसनमा गएर फर्कने प्रहरीले आफ्नो तलबबाट कट्टी गरेको रकमबाट स्थापना भएको कल्याण कोषमा पटक–पटक अनियमितता हुँदै आएको छ । यसअघि सुडानस्थित शान्ति मिसनका लागि खरिद गरिएका बन्दोबस्तीका सामानमा पनि करिब २९ करोड अनियमितता गरेको दाबीसहित अख्तियारले प्रहरीका तीन पूर्वप्रमुखलगायत प्रहरीविरुद्ध मुद्दा दायर गरेको थियो । यसअघि मेडिकल कलेज खोल्ने नाममा पनि प्रहरी कल्याण कोषको करोडौँ गुमेको थियो । प्रहरी कल्याण कोषअन्तर्गत सञ्चालित प्रहरी विद्यालयमा समेत अनियमितता भएका छन् ।