आज साउन पहिलो साता । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलालको ४३औँ स्मृति दिवस हो । ००६ साल वैशाख १० गते १०४ वर्षे निरंकुश राणाशासनको अन्त्यको उद्घोष गर्दै उहाँकै नेतृत्वमा नेकपाको स्थापना भएको थियो ।
पार्टी स्थापना भएको ७२ वर्ष पूरा भएको छ । नेपाली कम्युनिस्ट आन्दोलन विभिन्न उतारचढाव पार गर्दै अनेकौँ राजनीतिक संगठनात्मक उपलब्धिका साथ अहिले इतिहासकै गम्भीर मोडमा आइपुगेको छ । कमरेड पुष्पलाल अत्यन्त दूरदर्शी, गतिशील र इमानदार नेता हुनुहुन्थ्यो । उहाँ सधैँ राजनीतिक विचार र पार्टीका संस्थागत प्रणालीको विकासमा जोड दिनुहुन्थ्यो । त्यसैले भन्नुहुन्थ्यो, पार्टीमा नीति प्रधान हुन्छ, नेता प्रधान होइन । तर, अहिले कम्युनिस्ट पार्टीका नेता प्रधान भएको दुरुह अवस्था विद्यमान छ । पुष्पलाल साह्रै मिहिनेती र सादा जीवनका धनी हुनुहुन्थ्यो । अहिले कम्युनिस्ट नेताहरू अल्छी र विलासी जीवन व्यतित गरिरहेका छन् । उहाँ सिद्धान्तनिष्ठ पनि हुनुहुन्थ्यो । तर, हामी के भयौँ ? उहाँको यो स्मृति दिवसले हामीलाई आफ्नो निर्मम समीक्षा गर्ने चेत देओस् । राजनीति र सिद्धान्तका सवालमा पुष्पलालले कहिल्यै सम्झौता गर्नुभएन । हामीले के गरिरहेका छौँ ? के हाम्रो राजनीति सिद्धान्तनिष्ठ भएको छ ?
निरंकुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्था अन्त्य गर्न कम्युनिस्ट र कांग्रेस नमिली सम्भव छैन भन्ने बलियो धारणा थियो, पुष्पलालको । यद्यपि, उहाँको जीवनकालमा त्यो मान्यता सफल भएन । ०४६ र ०६२/६३ को ऐतिहासिक आन्दोलनपछि मात्र त्यस नीतिले सार्थकता पायो ।
उहाँ जीवनपर्यन्त कस्तै कठिन घडीमा पनि आफ्नो क्रान्तिकारी अडानमा रहनुभयो । धेरै दुःख–कष्ट सहेर भोक–तिर्खा बिर्सेर उहाँले कम्युनिस्ट पार्टीको निर्माण गर्नुभएको हो । उहाँ संयुक्त जनआन्दोलनका प्रणेता पनि हुनुहुन्थ्यो । निरंकुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थालाई अन्त्य गर्न कम्युनिस्ट र कांग्रेस नमिली सम्भव छैन भन्ने बलियो धारणा थियो, पुष्पलालको । यद्यपि, उहाँको जीवनकालमा त्यो मान्यता सफल भएन । ०४६ र ०६२/६३ को ऐतिहासिक आन्दोलनपछि मात्र त्यस नीतिले सार्थकता पायो । त्यसैले उहाँ हाम्रो लोकतन्त्र, गणतन्त्र र समाजवादी आन्दोलनका अग्रणी नेता हुनुहुन्छ । पुष्पलाल मेरा वैचारिक शिक्षक मात्र होइन, आन्दोलन र आदर्शका प्रेरणादायी स्रोत पनि हो ।
मार्क्सवादी दर्शन, कम्युनिस्ट पार्टी, कम्युनिस्ट आन्दोलन, सादा जीवन, राजनीतिक नैतिकता र कार्यशैली आदिबारे मैले उहाँबाटै प्रारम्भिक प्रशिक्षण पाएको थिएँ । प्रशिक्षणका उहाँका ती क्रान्तिकारी दृढता, ओजस्वी, गहन र तथ्यगत विचार एवं विश्लेषणहरू आजपर्यन्त मेरा कानमा गुञ्जिरहेका छन् । गम्भीर समस्या र कठिन चुनौतीका वेला पुष्पलाल कमरेडका ती वाणी मेरा वैचारिक प्रेरणाका स्रोत बनिरहेका हुन्छन् । यस अर्थमा उहाँ मेरा आदर्श र वैचारिक शिक्षक पनि हो ।
म उहाँको ४३औँ स्मृति दिवसको उपलक्ष्यमा भावपूर्ण हार्दिक श्रद्धाञ्जली एवं सम्मान व्यक्त गर्छु । उहाँका व्यवहार र आदर्शलाई हामी सबैले सधैँ सम्झना गरिरहनुपर्छ । त्यो सम्झना हाम्रो व्यवहारमै प्रकट भएर प्रदर्शित हुन जरुरी छ । कम्युनिस्ट आन्दोलनप्रतिको समर्पण र निष्ठाले मात्रै उहाँको सम्मान हुन सक्छ ।स्मृति–साताको उपलक्ष्यमा नेपाली लोकतान्त्रिक आन्दोलनका दृढ एवं शिखर पुरुष बिपी कोइरालाप्रति पनि हार्दिक श्रद्धा एवं सम्मान व्यक्त गर्न चाहन्छु । हामीले बुझ्नुपर्छ, उहाँहरूको आँट, हिम्मत र प्रेरणा नभएको भए निरंकुश राणाशासनको अन्त्य हुने थिएन र नेपालमा प्रजातन्त्र आउने थिएन । ऐतिहासिक जनआन्दोलनका फलस्वरूप आज मुलुकमा लोकतन्त्र, गणतन्त्र र जनताबाट निर्मित संविधान आएको छ । यसलाई जोगाउन र मुलुकको राष्ट्रिय सार्वभौमिकतालाई बलियो पार्न हामी एकताबद्ध बन्नुपर्छ ।
हाम्रो संविधानले आमजनताको जीवनमा परिवर्तन ल्याउने समाजवादी व्यवस्थाको परिकल्पना गरेको छ । तर, दुःखको कुरा उच्च राजनीतिक नेतृत्वमा भएको अदूरदर्शिता, व्यक्तिवादी अहं, मूल्यमान्यताप्रतिको विचलन, पार्टीहरूबीचको फुट, विभाजन र संकीर्ण मानसिकताका कारण हाम्रा लक्ष्यहरू चुनौतीमा परेका छन् । कठोर संघर्ष गरेर प्राप्त गरेका हाम्रा राजनीतिक उपलब्धिहरू धराशायी बनाउने खेलहरू चलिरहेका छन् । ऐतिहासिक आन्दोलनका सकारात्मक, नकारात्मक अनुभवबाट शिक्षा लिन हामी पछि पर्न हुँदैन । पार्टी र आन्दोलनलाई फुटबाट जोगाउन गलत विचार र पद्धतिविरुद्ध संघर्ष गर्न हिम्मत गर्नैपर्छ ।
तर, वैचारिक संघर्षमा संयम र धैर्यको आवश्यकता पर्छ । हामीसँग अहिले एकताको अर्काे विकल्प छैन । त्यसैले उत्तेजना, आवेगको प्रदर्शन कसैले नगरौँ । हृदयको विशालता देखाऔँ । हामी सबैले ठूलो त्याग र मिहिनेतबाट बनाएको नेपाल कम्युनिस्ट पार्टी (एमाले)लाई दुर्घटनाबाट जोगाउन सचेत बनौँ । जनता, राष्ट्र र आदर्शलाई केन्द्रबिन्दुमा राखौँ । एकता हाम्रो शक्ति हो । त्यसलाई कमजोर हुन नदिऔँ । सधैँभरि माक्र्सवादको अवलम्बन गरौँ, अवसरवादी कहिल्यै नबनौँ । खुला र खुलस्त बनौँ, जालझेल र षड्यन्त्र नगरौँ । लक्ष्यमा पुग्न एकताबद्ध बनौँ, कहिल्यै नफुटौँ । यी कुरा नै माक्र्सवादका आधारभूत सिद्धान्त हुन् । कमरेड पुष्पलालको स्मृति दिवसको उपलक्ष्यमा हामी कम्युनिस्टहरूले गर्नुपर्ने संकल्प यही नै हो ।