किन बदलियो हङकङवासीका लागि बेलायतको मन ?

देश/विदेश

मंगलबार, २९ असार, २०७८
डिजिटल संस्करण

आफ्ना लागि युद्ध लडेका गोर्खा सैनिकप्रति क्रूरता र बेवास्ता प्रदर्शन गर्ने ब्रिटेनले अरूलाई कसरी असल नियतले सहयोग गर्ला ?

ब्रिटेनले भर्खरै हङकङवासीलाई ब्रिटिस नेसनल (ओभरसिज) अर्थात् बिएन (ओ) पासपोर्ट प्रदान गर्ने नीति अँगालेको छ । यो पासपोर्ट पाएका विदेशीले कालान्तरमा बेलायतको नागरिकतासमेत लिन पाउँछन् । झट्ट हेर्दा यो बेलायत सरकारले ल्याएको उदार योजनाजस्तो देखिन्छ । र, कैयौँ हङकङवासीले यसको उपभोग पनि गरिसकेका छन् । सन् १९९७ मा चीनलाई सार्वभौमिकता फिर्ता गरेको बेलायतले बल्ल आएर हङकङको आन्तरिक मामिलामा यति धेरै चासो दिएको छ । आखिर अहिले हङकङवासीका लागि बेलायतको मन किन बदलियो त ? 

हङकङवासीलाई किन बिएन (ओ) योजनामा समेटियो भन्ने विषय बेलायतले स्पष्टीकरण दिएको छ– ‘चीनले शासन गर्न थालेपछि प्रजातन्त्र, मानवअधिकार, वाक्स्वतन्त्रता र प्रेस स्वतन्त्रता सबैमा उल्लेख्य क्षय आएकाले हङकङवासीका लागि असुरक्षित वातावरण सिर्जना भएको छ ।’ आखिरमा बेलायतले यहाँ कुन हङकङको कुरा गरेको हो ? ब्रिटेनको १५० वर्षे शासनकाल हङकङमा कहिल्यै प्रजातन्त्र थिएन । जुन कुरा छँदै थिएन, त्यसमा कसरी क्षय हुन्छ ? ब्रिटिस ‘स्पष्टीकरण’ले मेरो मनमा दुई प्रश्न उब्जिए ।

पहिलो, बेलायतले १५० वर्षे लामो शासनकालमा हङकङमा किन कहिल्यै गम्भीरतासाथ प्रजातान्त्रिक नीति लागू गर्ने प्रयास गरेन ? दोस्रो, यो भूमि छाडेको २५ वर्ष पुग्न लाग्दा बल्ल ब्रिटिसलाई किन हङकङको चिन्ता जाग्यो ? बेलायतको अग्रसरताको सम्बन्ध ब्रेक्जिट र चीनसँग जोडिन्छ । ब्रेक्जिटपछि ब्रिटेनले युरोपेली संघको बजार र त्यहाँको विशाल श्रमिकमाथिको पहुँच गुमायो । ब्रिटेनले त्यसलाई युवा हङकङवासीको व्यावसायिक दक्षताबाट पूर्ति गर्न खोजेको छ । त्यसबाहेक धनी हङकङवासीले बेलायतमा सुस्त हुँदै गएको घरबारको कारोबार क्षेत्रलाई उकास्ने बेलायतको आशा छ । चीनको सबालमा पछिल्लो समय उसले विकसित मुलुकलाई समेत विभिन्न क्षेत्रमा उछिन्न थालेपछि पश्चिम आत्तिएको छ । उसले चीनको विकासमा अवरोध पुर्‍याउन हरसम्भव प्रयास सुरु गरेको छ । 

हङकङवासीको कल्याणमा ब्रिटेनको अचानकको रुचिमा सहरको प्रजातन्त्र वा अधिकारसँग केही लिनु–दिनु छैन । ब्रिटेनको कदमपछाडि ब्रेक्जिटपछि घट्दो श्रमशक्ति पूर्ति गर्ने र चीनलाई अस्थिर बनाउने मुख्य उद्देश्य लुकेको छ ।

अमेरिका, क्यानडा, ब्रिटेन, अस्ट्रेलिया र न्युजिल्यान्डको जासुसी गठबन्धन ‘फाइभ आइज’ले चीनलाई प्रहार गर्न हङकङ पाएका छन् । किनकि, चिनियाँ कानुन भएको भेगमध्ये हङकङमा मात्र ती मुलुकका जासुसी एजेन्ट स्वतन्त्र विचरण गर्न र काम गर्न सक्छन् । तिनकै जासुसले विगतमा हङकङको प्रदर्शनलाई हस्तक्षेप गरेर तिनलाई बिकराल बनाउन सघाए । त्यसले सहरमा विध्वंस र अराजकता मच्चियो । त्यसपछिका बाँकी कुरा इतिहास बनेको छ । यदि समीकरणबाट चीन हटाइदिने हो भने कसैले पनि हङकङको अधिकारको कुरा गर्ने छैनन् । हङकङवासीले ब्रिटिस र तिनको सेनामा कार्यरत गोर्खा सैनिकबीचको सम्बन्धबाट पनि पाठ सिक्न सक्छन् । नेपालका पहाडी भेगका युवा सन् १९१६–१८ को अंग्रेजी–नेपाल युद्धको अन्त्यदेखि ब्रिटिस सेनामा सहभागी हुन थाले । गोर्खा सैनिकले भारतमा ब्रिटिसराज सबल बनाउन महत्वपूर्ण भूमिका निभायो । पहिलो तथा दोस्रो विश्वयुद्धमा क्रमशः दुई लाख र दुई लाख ५० हजार गोर्खाले बेलायतका लागि लडे, जसमध्ये झन्डै ५३ हजार कहिल्यै फर्किएनन् ।

भारतबाट बेलायती शासन अन्त्य भएपछि गोर्खा फौजलाई भारतीय र ब्रिटिस सेनामा विभाजित गरियो । ब्रिटिस गोर्खाले त्यसपछि पनि दक्षिणपूर्वी एसियाका दुई रक्तपातपूर्ण द्वन्द्वविरुद्ध लडेपछि सन् १९७१ मा हङकङमा तैनाथ गरियो । सन् १९८० को सुरुमा हङकङमा उत्पन्न भएको अनधिकृत आप्रवासी संकटलाई सल्टाउन पनि गोर्खा काम लाग्यो । यी तमाम निष्ठा र सहयोगका बाबजुद बेलायतले गोर्खाहरूलाई सधैँ अपमानजनक व्यवहार ग¥यो । दोस्रो विश्वयुद्धदेखि सन् १९९४ बीच गोर्खा फौजलाई तिनका ब्रिटिस समकक्षीभन्दा १० गुणा कम तलब दिइन्थ्यो । युद्धमा गम्भीर घाइते भएकाहरूलाई क्षतिपूर्ति र पेन्सनबिनै घर पठाइथ्यो । कैयौँले नेपालका गाउँमा गरिबीमा जीवन गुजार्न बाध्य भए । सन् १९९० को दशकमा आएर बल्ल गोर्खा सैनिकले न्यायका लागि आन्दोलन सुरु गरे । आन्दोलनले केही माग पूरा भए भने कैयौँ अझै पूरा हुन बाँकी छ । 

बेलायतको उपनिवेश नभए पनि नेपालले विगत २०६ वर्षदेखि बेलायतलाई आफ्ना सबैभन्दा बलिष्ठ युवा छानेर उसको सेनामा भर्ती गर्ने छुट दिँदै आएको छ । तर, बेलायतले नेपालको यो गुन कहिल्यै सम्झेन । अहिलेको कोरोना महामारीमा औषधोपचार र खोप अभाव हुँदा नेपालले धेरै दुःख पायो । नेपाल सरकार तथा अन्य संगठनले बेलायतसँग पटक–पटक खोप माग्दा पनि उसले हालसम्म एक डोज खोप पनि दिएको छैन । विगत दुई सय वर्षदेखि आफ्ना युद्ध लडेका गोर्खा सैनिकप्रति क्रूरता र बेवास्ता प्रदर्शन गर्ने ब्रिटेनले हङकङवासीलाई असल नियतले सहयोग गर्ला भनेर विश्वास गर्न कठिन छ ।

(हङकङमा बसोवास गर्ने पूर्वब्रिटिस गोर्खा सैनिक गुरुङ चर्चित पुस्तक ‘गोर्खा’का लेखक हुन्) 
साउथ चाइना मर्निङ पोस्टबाट

सुझावित समाचार