‘अवसरवादी’ नयाँ पुस्ता

बिहिबार, १७ असार, २०७८
डिजिटल संस्करण

क्रान्तिकारी देखिने उच्च महत्वकांक्षाले युवा नेताहरूलाई पिरोलेको देखिन्छ । तर, अराजकता र क्रान्तिकारिताबीचको फरक छुट्याउन सकेको देखिएन ।

वाल्टर मिचेलले सन् १९७१ मा बालबालिकाहरूमा एक परीक्षण गरे । उनले मार्समेलो नामक एक प्रकारको चकलेट देखाएर पालैपालो बालबालिकालाई भने– यो चकलेट समात, म बाहिर जान्छु र म नआउँदासम्म यो चकलेट नखाएमा म तिमीलाई थप अर्काे एक चकलेट दिन्छु, तर खायौ भने अर्को पाउनेछैनौ । सबैले हुन्छ भने, तर केहीले उनी आउन्जेल पर्खन सके, केहीले तत्कालै खाए, पर्खन सकेनन् । आफूलाई नियन्त्रण गर्न सक्नेले पर्खे, नसक्नेले खाए । पर्खनेले अर्को पनि पाए । यसको १४ वर्षपछि उनले ती परीक्षण गरिएका बालबालिकाको परिवार, उनीहरूले काम गर्ने संस्था र स्वयं उनीहरूसँग अन्तर्वार्ता लिए । उनीहरूले जीवनमा कस्तो प्रगति गरिरहेका छन् भनी खोजी गरे । खोज्दा जसले केही समय पर्खने धैर्य गरेका थिए, तिनलाई केही समय पर्खने धैर्य नभएकाहरूभन्दा धेरै गुणा सफल, अरूले विश्वास गर्ने, संयमित र नेतृत्वदायी भूमिकामा पाए ।

मैले सामाजिक सञ्जालमा जोडिएका विभिन्न पार्टीका १० जना युवा नेताको एक वर्षसम्मको फेसबुक स्टाटस अध्ययन गरेँ र मिचेलको परीक्षणसँग तुलना गरेँ । ती सबै युवा नेताहरूको स्टाटसमा धेरै उतारचढाव छ । उनीहरूमा धैर्य कम, आवेग बढी छ । आशाभन्दा निराशा बढी छ । भक्तवाद हावी छ, सिर्जना कम । तिनको स्टाटसमा कुनै नेताको भनाइ वा विचारको पुनरावृत्ति बढी छ । समाधानभन्दा विरोध अधिक छ । एक वर्ष वा केही महिनाअगाडिको स्टाटस र अहिलेकोमा कतिपय अवस्थामा ठ्याक्कै उल्टो छ । लाग्छ, उनीहरूको संवेगको रिमोट अरूले नै चलाएको छ । राजनीति मूलतः कुनै विचार वा सिद्धान्तले चलाउँछ ।

तर, युवा नेताहरूमा विचारभन्दा अवसरवाद हावी भएको देखियो । आबद्ध पार्टी वा गुटको फेरो समात्नु नै उनीहरूको राजनीतिक आदर्श हो भन्ने झल्कन्थ्यो । उनीहरूका अभिव्यक्ति अवसर दिने र लिनेको वरिपरि घुमेका देखिन्थे । कतै मार्क्सवाद वा लोकतन्त्रको खोल ओढेको जस्तो देखिए तापनि उति नै वेला आफ्नै अभिव्यक्तिले त्यो मुखुण्डो च्यातेको देखिन्थ्यो । कसैको भनाइ वा कामप्रति प्रतिक्रिया जनाउनु नै उनीहरूको धर्म हो जस्तो देखिन्थ्यो । कुनै विकासका मोडेल वा वैचारिक धरातलप्रति नभएर व्यक्तिको स्वभावप्रति मुढे समर्थन वा कटाक्ष छचल्किएका देखिन्थे । सामाजिक सञ्जालमा भाइरल हुने वा समाचारमा आउने आकांक्षाले लतारिरहेको प्रस्टिन्थ्यो । उनीहरूको स्टाटसमा समर्थन वा प्रशंसाका कमेन्ट आउँदा मक्ख परी उफ्रेको र फरक मतका कमेन्ट आउँदा आगो ओकलेको कमेन्टले दर्साउँथे ।

देशलाई दूरदर्शी, धीर, सिर्जनशील, उत्साही, समन्वयकारी, अहंकारलाई जितेको, स्वार्थलाई जितेको, अतिविश्वासको पर्दा हटाएको, विगतलाई सम्मान गर्ने, भविष्यलाई देख्ने, वर्तमानको नेतृत्व गर्ने स्वतन्त्र नेता चाहिएको छ । तर, युवा नेतामा युगानुकूल नेतृत्व गर्न सक्ने छनक नदेखिनु नेपालीका लागि विडम्बना हो !
 

अहिलेको दुनियाँमा कोरोनाभन्दा ठूलो महामारी झुटा सूचनाको छ । मानिसको अस्वाभाविक लाभ लिने मनोवृत्तिको मूल साधन डिजिटल क्षेत्र बनेको छ । धेरै भ्यु वा सेयर होस् भनेर गलत सूचना दिने, काल्पनिक समाचार बनाउने, भित्र कन्टेन्ट अर्कै तर शीर्षक क्याची बनाउने जस्ता गैरव्यावसायिक सूचनाको बिगबिगी नै छ । युवा नेताहरू यी झुटा समाचारको चंगुलबाट बाहिर निस्कन सकेको देखिँदैन । भित्र नखोली कमेन्ट सुरु गर्ने, शीर्षक मात्र हेरेर सेयर गर्ने, र यस्तै बोक्रे सूचनाका आधारमा आफ्नो धारणा बनाउने जस्ता अपरिपक्व व्यवहार देखियो । बुद्धिको प्रयोग गरी आतंक मच्चाउने बौद्धिक आतंकवादीको मूल निसाना युवा हुन् ।

तर, युवा नेताहरू सामाजिक सञ्जाललाई मूल साधन बनाएका बौद्धिक आतंकवादीको मतियार बनेको देखिन्छ । अझ आफ्नै पहलमा दुई–चारजनाको समूह बनाई साइबर सेनामार्फत भजनमण्डलीको निर्माण गरेको देखिन्छ । यिनै समूहहरूले झुटा समाचार बनाउने र ती नेताहरूलाई प्रिय लाग्ने सूचना मात्रै प्रसार गराउने गरेको उनीहरूलाई निरन्तर ट्याग गरिएका स्टाटसबाट प्रस्ट हुन्छ । यस्ता पत्रु सूचनाले ती नेताका व्यक्तित्व खुइल्याइरहेको देखिन्छ । यसले उनीहरूको दृष्टिकोणको दायरालाई पनि साँघुरो बनाउँदै लगेको छ । झुटा सूचना र आत्मरतिको कुहिरीमण्डलमा फसेका नेताहरूले कसरी भविष्यप्रति दृष्टिगोचर गर्न सक्लान् ? कसरी सही र गलत छुट्याउने र सही निर्णय लिने ल्याकत राख्लान् ? कसरी देशलाई सही दिशामा लैजालान् ?

क्रान्तिकारी देखिने उच्च महत्वकांक्षाले युवा नेताहरूलाई पिरोलेको देखिन्छ । तर, अराजकता र क्रान्तिकारिताबीचको फरक छुट्याउन सकेको देखिएन । विद्रोह, गालीगलौज र व्यक्तिगत कटाक्षलाई क्रान्तिकारी देखिने हतियार बनाएको देखिन्छ । क्रान्तिकारिता विचार, चेतना र कर्मले देखाउने हो भन्ने सुझ देखिएन । आलोचना र समालोचनाबीचको भेद छुट्याउने चेत तिनमा देखिएन । विध्वंसको बिउ रोपेर निर्माणको फल कसरी आशा गर्न सकिन्छ र ? हिजोको युद्ध, सडक आन्दोलन, बन्द–हडतालजस्ता विद्रोहको धङधङी उनीहरूमा प्रबलै छ । विद्रोहको नेतृत्वमा सफल हुनेले निर्माणको नेतृत्व दिन सफल हुन्छन् भन्ने कुनै ग्यारेन्टी छैन । बरु, इतिहास विद्रोहीहरू निर्माणको अभियानमा तुलनात्मक रूपमा असफल भएको देखिन्छ । आफूइतरप्रति आगो ओकल्ने युवा नेताले कसरी निर्माणको नेतृत्व गर्न सक्लान् ?

सूचना प्रविधिको छलाङे विकासले विश्व राजनीतिमा नयाँ तरंग आउँदै छ । उदारवादी र समाजवादी राजनीतिक कथाहरू निकै संकटमा छन् । अबको दुनियाँ कुन कथाले डोर्‍याउँछ भन्नेमा अनुमान गर्न सकिँदैन । प्रविधिले निम्त्याएको चुनौती प्राविधिक समस्या मात्र नभएर राजनीतिक पनि हो । यस्तो गम्भीर विषयमा युवा नेताहरूको सोच पुगेको देखिँदैन । ‍औद्योगिक पुँजीको स्थान अब डाटा पुँजीले लिँदै छ । उद्योगका कामदारलाई कृत्रिम बौद्धिकता, अटोमेसनले प्रतिस्थापन गर्दै छन् । यसले ठूलो मात्रामा बेरोजगार जन्माउँदै छ । अबको समस्या शोषण वा विभेदभन्दा पनि आर्थिक बेकामेको हुनेछ ।

यस्तो अवस्थामा उही पुरानै नारा र शैलीले नवयुगको कसरी नेतृत्व गर्ला ? नेपालजस्तो प्रविधिको विकासभन्दा उपयोग मात्रै गर्ने देशले रोजगारी कसरी सिर्जना गर्ला ? ठूला डाटा सेन्टरहरूले पुँजीको दोहन गर्ने र नेपालबाट पुँजी थप बाहिरिने हुँदा नेपालको अर्थतन्त्र के होला ? विदेश गएका युवाहरू रोजगारी गुमाएर फर्कने, नेपालमा रोजगारी सिर्जना नहुने अवस्थामा नेपालको राजनीतिले कसरी सम्बोधन गर्ला ? बेरोजगारहरूको मनोविज्ञानले राजनीतिमा कति अराजकता आउला ? यस्ता गम्भीर विषयमा युवा नेताहरूको चक्षु खुल्न सकेको छैन । 

अर्कोतिर, डिजिटलाइजेसन इतिहासका कृषिक्रान्ति र औद्योगिक क्रान्तिजस्तै महान् क्रान्ति हो । हेक्का राख्नुपर्ने के छ भने यो कुनै राजनीतिक नेतृत्वको क्रान्ति होइन । माक्र्सले भने जस्तो सर्वहारा वर्गको नेतृत्वमा, लेनिनले भने जस्तो सचेत राजनीतिक नेतृत्वमा वा ग्राम्सीले भने जस्तो अर्गानिक बुद्धिजीवीको नेतृत्वमा भएको क्रान्ति होइन, न त यो क्रमिक विकास नै हो । यो त प्राविधिक, वैज्ञानिक र इन्जिनियरहरूबाट भएको महान् क्रान्ति हो । तर, उनीहरूको संगठित क्रान्ति होइन । क्रान्ति गर्नेलाई राजनीतिको मतलव छैन, तर यसको उपयोग भने अब राजनीतिक हुनेछ । यो अन्वेषण र नीतिको बीचमा तालमेल ल्याउने काम राजनीतिले गर्ने हो । क्रान्तिको उपयोग गर्ने नीतिगत राजनीति जरुरी छ । 

सामाजिक सञ्जालका स्टाटसले उसको व्यक्तित्व झल्काउँछ । त्यो व्यक्तित्वले भविष्य देखाउँछ, भलै यो सानो अध्ययनको सामान्यीकरणमा सीमितता छ । व्यक्तित्वमा उतारचढाव भएका, धैर्य नभएका, रचनात्मकता नभएका, निराशा छाएका, नयाँ परिस्थितिका बारे चक्षु नखुलेका, उमेरले युवा नेता मानिने व्यक्ति भोलि देश सम्हाल्ने ठाउँमा जानेछन् । तब देशको हालत के होला ? देशलाई दूरदर्शी, धीर, सिर्जनशील, उत्साही, समन्वयकारी, अहंकारलाई जितेको, स्वार्थलाई जितेको, अतिविश्वासको पर्दा हटाएको, विगतलाई सम्मान गर्ने, भविष्यलाई देख्ने, वर्तमानको नेतृत्व गर्ने स्वतन्त्र नेता चाहिएको छ । तर, युवा नेतामा युगानुकूल नेतृत्व गर्न सक्ने छनक नदेखिनु नेपालीका लागि विडम्बना हो ! 

लेखक त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक हुन् । 

सुझावित समाचार