मोदीको छविमा कोभिडको धक्का

मंगलबार, २१ बैशाख, २०७८
डिजिटल संस्करण

उनले गठन गरेको कोडिभ–१९ कार्यदलको बैठक महिनौँसम्म बसेन । उनको स्वास्थ्यमन्त्रीले मार्च महिनामै भारत महामारीको अन्तिम चरणमा पुगेको आश्वस्त पार्दै थिए । त्यसको केही साताअघि प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व नेतासँग उनको देशले कोरोना भाइरसमाथि विजय प्राप्त गरेको घोषणा गरेका थिए । भारतले ‘कोरोना भाइरसलाई प्रभावकारी रूपमा नियन्त्रण गरेर मानवतालाई ठूलो संकटबाट जोगायो,’ जनवरीको अन्तिममा सम्पन्न वल्र्ड इकोनोमिक फोरमको भर्चुअल भेलामा भनेका थिए । अहिले महामारीको दोस्रो लहर सामना गरिरहेको भारत विश्वमै सबैभन्दा बढी प्रभावित बनेको छ । 

दैनिक संक्रमितको संख्या चार लाख पुगिसकेको छ, खोपको अभाव देखिएको छ, अस्पताल भरिभराउ छ । जीवनदायिनी अक्सिजन सकिँदै छ । प्रत्येक दिन मसानघाटमा हजारौँ शव जलिरेका छन् । तर, केही समयअघिसम्म विश्वभरका विज्ञहरू भारतले महामारीको पहिलो लहरलाई नियन्त्रण गर्न सकेकोमा चकित थिए । धेरैले भारतको अधिकांश जनता युवा रहनुले भारतलाई फाइदा पुगेको तर्क गरिरहेका थिए । अहिले पनि मोदीका समर्थकहरू भारतलाई विश्वव्यापी परिघटनाले लपेटेको र दोस्रो लहरको कारण पहिचान गर्न थप समय लाग्ने बताइरहेका छन् । 

तर, स्वतन्त्र स्वास्थ्यविज्ञ र राजनीतिक विश्लेषकहरूले मोदीको अतिआत्मविश्वास र एकाकी नेतृत्व शैली पछिल्लो संकटका लागि मुख्य जिम्मेवार रहेको बताइरहेका छन् । मोदीले विपक्षीहरूलाई पेलेर र आफ्नो व्यक्तिगत आकर्षणका कारण आफूलाई भारतको सबैभन्दा शक्तिशाली राजनीतिज्ञको स्थितिमा पुर्याएका छन् । संसदीय चुनाव आउन अझै तीन वर्ष बाँकी छ । पार्टी तथा सरकारमा बलियो एकता रहेको अवस्थामा मोदीको शक्ति अझै कायम रहनेछ । केन्द्रीय राजनीतिमाथि मोदीको आधिपत्यका कारण देशमा बढेको बिरामी र मृत्युका लागि धेरैले मोदीमाथि दोष लगाउन सक्ने विज्ञले अनुमान गरेका छन् । 

सरकारको अतिआत्मविश्वास र गलत कदमले भारत अहिले विनाशकारी दोस्रो लहरको चपेटामा परेको छ, यसले शक्तिशाली नेताको रूपमा मोदीको जुन छवि थियो, त्यसमा नै धक्का लागेको छ

‘मुख्य दोष मोदीको शासन शैलीलाई जान्छ । मोदीले शीर्ष मन्त्रीहरू क्षमताभन्दा पनि उनीप्रतिको निष्ठाका आधारमा चुनेका छन् । अझ पारदर्शिताभन्दा गोपनीयता र छवि कायम गर्ने कुराले बढी महत्व पाउने गर्छ,’ नयाँदिल्लीस्थित सेन्टर फर पोलिसी रिसर्चका अध्येता असीम अलीले बताए । ‘यस्तो खालको शासन संरचनामा मुख्य मानिसले गल्ती गर्यो भने घातक परिणाम निम्तिन्छ, अहिले कोभिड संकटमा त्यही भयो,’ अलीले भने । पछिल्लो सरकारको केही निर्णय भारतका लागि घातक साबित भयो । भारत विश्वको सबैभन्दा ठूलो खोप निर्माता हो । तर, सरकारले आफ्नो जनताका लागि आवश्यक पर्याप्त डोज किनेर राखेन । देशभित्र खोपदर सुस्त भइरहेको समयमा सरकार विश्वमा आफ्नो छवि बलियो बनाउन खोप निर्यात गर्दै थियो । भारतले यस अवधिमा ६० करोड डोज खोप निर्यात गर्यो ।

महामारीको समयमा मोदीको साटो अरू नेता भएका भए पनि बलियो चुनौती सामना गर्ने थिए । भारतमा करोडौँ मानिस आफ्नो गुजाराका लागि भीडभाडयुक्त स्थानमा काम गर्ने गर्छन् । त्यसमाथि भारतले सार्वजनिक स्वास्थ्यमाथि कैयौँ विकासोन्मुख देशले भन्दा न्यून खर्च गर्छ । विश्व बैंकका अनुसार भारतले हरेक वर्ष स्वास्थ्यमा प्रतिव्यक्ति १०० डलरभन्दा कम खर्च गर्ने गर्छ । यो समस्या मोदी आउनुअघिदेखि नै कायम थियो । शनिबार नयाँ भाइरस संक्रमितको संख्या तीन लाख ९८ हजार र मृतकको संख्या ३५ सय माथि थियो । विभिन्न तथ्यले हताहतीको सरकारी तथ्यांक वास्तविकताभन्दा निकै कम भएको संकेत गर्छ । खोप सकिएपछि देशको सबैभन्दा ठूलो सहर मुम्बईमा खोप अभियान नै रोकिएको छ । 

महामारीको पहिलो लहरमा मोदीले निकै राम्रो गरेको भन्दै विज्ञहरूले प्रशंसा गरेका थिए । मार्च २४, २०२० मा जम्मा ६०० संक्रमित भेटिएको अवस्थामा मोदीले देशव्यापी लकडाउनको घोषणा गरे । विश्वकै सबैभन्दा कडामध्ये एक मानिएको सो लकडाउनबारे चार घन्टाअघि मात्र सूचना दिइएको थियो । अधिकांश जनता सरकारी निर्देशनको पालना गर्दै घरभित्रै बसे । मोदीले स्वास्थ्यकर्मीप्रति ऐक्यबद्धता देखाउन घरको छतमा निस्किएर थाल र भाँडा बजाउन आग्रह गर्दासमेत धेरैले त्यसै गरे । देशव्यापी लकडाउनका कमीकमजोरी भए पनि त्यसले महामारीको नियन्त्रणमा सहयोग पुर्याएको विज्ञहरू बताउँछन् । तर, उक्त लकडाउन आर्थिक रूपमा विध्वंसकारी साबित भयो । लाखौँलाख मानिस बेरोजगार भए र मोदीका केही ठूला महत्वाकांक्षी आयोजनामाथि पनि असर पर्यो । त्यसैले उनी अर्को लकडाउन लगाउने कुरामा त्रसित भए । लकडाउन खुलाएपछि दैनिक संक्रमण सेप्टेम्बरमा एक लाखसम्म पुग्यो । तर, देशको स्वास्थ्य प्रणालीले त्यसलाई थेग्यो । सन् २०२१ को सुरुसम्म संक्रमण निकै घट्यो र अर्थतन्त्र पुनर्जीवित हुन थाल्यो । त्यसपछि मोदी र उनको टिमले भारत पूर्वअवस्थामा फर्किएको संकेत गर्न थाल्यो । आमभारतीयहरूले सतर्कता अपनाउन छाडे । मानिसहरू भीडभाडयुक्त विवाहजस्ता कार्यक्रम गर्न थाले । मार्चसम्म पुग्दा केन्द्रीय स्वास्थ्यमन्त्री हर्ष वद्र्धनले भारत कोभिड–१९ महामारीको अन्तिम अवस्थामा आएको घोषणा गरे । 

पहिले महिनाको दुईपटक बैठक बस्ने २० जना स्वास्थ्यविज्ञ सम्मिलित कोभिड–१९ को सरकारी टास्क फोर्सको बैठक बस्न छाड्यो । सरकारले भारत ‘हर्ड इम्युनिटी’को स्थितिमा पुग्न लागेको दाबी गर्न थाल्यो । वैज्ञानिकहरू भने यस दाबीप्रति सहमत थिएनन् । खोप अभियानले पनि महत्व पाउन छाड्यो । खोप अभियान सुस्त हुन थालेको समयमा मोदीले चुनावी अभियान सुरु गरे । अप्रिलको मध्यसम्म पनि प्रधानमन्त्री मोदी र गृहमन्त्री अमित शाह लाखौँ सहभागी र्यालीलाई सम्बोधन गरिरहेका थिए । मध्यअप्रिलमा नयाँ संक्रमितको संख्या दुई लाख पुगेको एक दिन उनी चुनावी र्यालीमा भाग लिन आएका विशाल संख्याका लागि खुसी व्यक्त गरिरहेका थिए । मोदीले धेरै चुनावी सभा गरेको पश्चिम बंगाल राज्यमा अहिले परीक्षण गरिएको आधामा संक्रमण देखिइरहेको छ । अहिलेको संक्रमण वृद्धिका लागि धेरै पक्ष जिम्मेवार रहे पनि धेरैले चुनावलाई जिम्मेवार ठहराइरहेका छन् । कमजोर विपक्षी र बलियो हिन्दूवादी आधारका कारण मोदीको शक्ति कम हुनेछैन । तथापि, उनको हुलिया भने बदलिएको छ । मोदी अहिले लामो कपाल र दाह्री पालेर साधुजस्तो देखिन्छन् । 

सुझावित समाचार