सन् २०१६ को कुरा हो, म त्यस बखत २३ वर्षको थिएँ र सानफ्रान्सिस्कोमा रिपोर्टिङ गर्थें । न्यून मूल्यको सेयर खरिद–बिक्री गर्न सघाउने एप रबिनहुडमा दश लाख प्रयोगकर्ता पुगेको थियो । एपका सञ्चार प्रमुखले (जो मभन्दा पनि कान्छा थिए) मसँगको कफी गफमा आफ्नो कम्पनीले स्टकमा राम्रो गर्ने बताए ।
अन्तिममा मैले सो स्टार्टअपको प्रोफाइल नबनाउने निर्णय गरेँ । किनकि, मलाई कम्पनीको ‘बजारको लोकतान्त्रिक पहुँच र व्यक्तिगत लगानीकर्ताको सशक्तीकरण’ भनाइप्रति विश्वास लागेन । फर्किएर हेर्दा मेरो आशंका सही निस्कियो । किनकि, अहिले रबिनहुडका प्राथमिक उपभोक्ता यसका प्रयोगकर्ता नभएर अन्य वित्तीय संस्थान देखिएका छन् । र, अघिल्लो हप्ता सेक्युरिटी एन्ड एक्स्चेन्ज कमिसनले रबिनहुडलाई आयस्रोत नखुलाएको भन्दै ६.५ करोड डलर जरिवाना तिराएको छ । तथापि, म रबिनहुडको सामथ्र्यबारे भने गलत ठहरिएँ ।
विगत पाँच वर्षमा यसले आर्जन गरेको १.२ करोड प्रयोगकर्ताको सामथ्र्य यो हप्ता देखियो । यो हप्ता कैयौँ रबिनहुड प्रयोगकर्ताले गिद्दजस्ता हेज फन्ड लगानीकर्तालाई नंग्याउन आर/वालस्ट्रिटबेट्स नामक रेडिट फोरमका अर्गनाइजरसँग सहकार्य गरे । यसमा उनीहरूलाई ट्विटरका डे ट्रेडर्स र अन्य अनलाइन माध्यमका अवलोकनर्ताले सघाएका थिए ।
हेज फन्ड लगानीकर्ताहरूले गेमस्टपका स्टकहरू आक्रामक रूपमा बेचेलगत्तै रेडिट प्रयोगकर्ताले सुरु गरेको अभियानका कारण सो कम्पनीको सेयरमूल्य बढेर एकाएक १७ सय प्रतिशतसम्म माथि पुग्यो । गेमस्टपको सेयरमा उल्लेख्य वृद्धि हुँदा त्यसविरुद्ध बोली लगाएकाहरूले पैसा गुमाउन थालेपछि उनीहरूले नै पनि सेयर किन्न बाध्य भए । परिणामस्वरूप सो भिडियो गेम विक्रेताको सेयरको मूल्य झन् बढ्यो ।
विजनेस इन्साइडर नामक अनलाइनका अनुसार यस अभियानले हेज फन्ड लगानीकर्ताले ३.३ अर्ब डलर घाटा बेहोरे । रेडिटर्सको निसानामा परेको मेल्भिन क्यापिटल नामक हेज फन्डले त टाट पल्टिनबाट बच्न २.७५ अर्ब डलरको सहयोग नै लिएको छ । बुधबार साँझ सेयर बजार बन्द हुँदा कुनै समय प्रतिसेयर २० डलर पनि नरहेको गेमस्टपको सेयर ३५० डलरमा बिक्री भइरहेको थियो ।
यो क्राउडसोर्स अभियानलाई ट्रम्पवादी प्रतिक्रियावादी भीडले गराएको भन्नु या वित्तीय बजारमा क्रान्तिको संज्ञा दिनु गल्ती हुनेछ । यथार्थमा मध्यमवर्गीय मानिसहरूले पूर्णतः विक्रेन्द्रित भएर हेज फन्डबाट अर्बौं डलर चुना लगाएको यो प्रकरणले धेरैको ध्यान तानेको छ । यस प्रकरण धेरैले भनेजस्तो संस्थापनप्रतिको जनताको एकपक्षीय जित होइन । विश्वको सबैभन्दा ठूलो एसेट म्यानेजर ब्ल्याकलाई गेमस्टपको व्यापारले फाइदा गरेको छ । उसको गेमस्टपमा १३ प्रतिशत सेयर थियो । आखिरमा धेरै सेयर धनाढ्यकै हातमा रहने गथ्र्यो । र, यस खेलमा पछि समावेश हुने साना लगानीकर्ताले सबैभन्दा बढी गुमाउने सम्भावना छ ।
बुधबार साँझ सेयर बजार बन्द हुँदा कुनै समय प्रतिसेयर २० डलर पनि नरहेको गेमस्टपको सेयर ३५० डलरमा बिक्री भइरहेको थियो । यो एलिट हेज फन्ड लगानीकर्तालाई नंग्याउने एकथरी रेडिट प्रयोगकर्ताको अभियानको प्रतिफल सम्भव भएको हो ।
बिहीबारभर स्टक एक्स्चेन्ज, सरकारी नियमनकर्ता र रबिनहुडजस्ता रिटेलर भने सेयर बजारमा विकसित अस्थिर ऊर्जालाई दबाउनमा केन्द्रित थिए । कैयौँ प्ल्याटफर्मले इन्टरनेटका प्रतिरोधी समूहमाझ लोकप्रिय कम्पनीको सेयर खरिद–बिक्री नै रोकेका छन् । रबिनहुडमा पनि गेमस्टप, एएमसी, नोकिया, ब्ल्याकबेरी, अमेरिकन एयरलाइन्स, बेड बाथ एन्ड वियोन्डजस्ता कम्पनीको कारोबारलाई रद्द गरेको छ । यस कदमबाट धेरै साना लगानीकर्ता क्रुद्ध बनेका छन् ।
इन्टरनेटको बलमा अत्यन्त छोटो समयमै उदाएकी अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभमा न्युयोर्ककी प्रतिनिधि एलेक्जान्डर ओकासियो–कोर्टेजले साना लगानीकर्ताको असन्तुष्टिलाई सही ठहराएकी छन् । उनले विभिन्न ट्रेडिङ प्ल्याटफर्मको कारोबार रोक्ने कार्यलाई ‘अस्वीकार्य’ बताइन् । ट्विटमार्फत उनले, ‘आवश्यक परे संसदीय सुनुवाइका लागि समर्थन गर्ने’ भनिन् ।
उनकी अर्की प्रगतिशील कोकस सदस्य तथा सिलिकन भ्यालीको एक खण्डकी रिप्रिजेन्टेटिभ रो खन्नाले पनि कोर्टेजको कुरालाई समर्थन जनाएकी छन् । यसको पक्षमा केही रिपब्लिकनसमेत देखिएका छन् । रबिनहुडविरुद्ध न्युयोर्कको दक्षिणी भेगमा संघीयस्तरको मुद्दा पनि हालिएको छ । बिहीबार साँझ पर्न लाग्दा दबाब बढ्दै गएपछि रबिनहुडले सीमित बिक्री खुलाउने बताएको छ, तर कुन–कुन कम्पनीको बिक्री खुलाइनेछ भन्ने केही स्पष्ट गरेको छैन ।
हरेक क्रान्तिको जस्तो यो पनि गन्जागोलयुक्त बनेको छ । गेमस्टपको सेयरले उचाइ लिएको छ र बिहीबार यसको मूल्य महिनाको सुरुभन्दा निकै माथि थियो । व्यापारसम्बन्धी प्रेस र ठूला संस्थागत लगानीकर्ताले रेडिटको नेतृत्वमा भएको आन्दोलनविरुद्ध बोल्न थालेपछि अन्य छनोटमा रहेका कम्पनीको सेयरमा उल्लेख्य वृद्धि देखिएन ।
तथापि, इन्टरनेटका केही कुनामा गेमस्टपको वृद्धि कायम रहनु र खस्कनुले अब केही फरक नपर्ने, मुख्य कुरा सन्देश प्रवाहित भइसकेको बहस भइरहेको छ । आफूलाई विशिष्ट ठान्ने संस्थापनको कन्सिरी तात्ने काम भएकोमा कैयौँले सन्तुष्टि जाहेर गरेका छन् । तर, केहीलाई भने वृद्धि भएको सेयरबाट उठेको पैसाले सन्तुष्टि दिएको छ ।
‘म मेरी मम्मीलाई पैसा दिन सक्ने भएको छु र साथमा बैनीको ‘लाइम रोग’को उपचार गराउन सक्ने भएको छु,’ स्ट्यामबम नामक एक रेडिटरले बुधबार एक पोस्टमा लेखेका थिए । साथमा उनको ६४ हजार डलरको रबिनहुड एकाउन्टमा ३४९ प्रतिशत रिटर्न आएको स्क्रिनसट राखेका थिए, ‘यो वर्ष कठिन रह्यो, तर अहिले आएर म हरेकप्रति कृतज्ञ बनेको छु ।’
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य
नोआ कुलविन ‘ब्लोब्याक’ नामक राजनीतिक इतिहासको पोडकास्टका को–होस्ट हुन् र उनी जेविस करेन्टका सम्पादक हुन् ।