तेजराज भट्ट (धनगढी), रामकृष्ण थापा (सिन्धुपाल्चोक), हदिश खुद्दार (जनकपुरधाम), हेमन्त केसी (जाजरकोट), अशोक पहाडी (रौतहट), नवीन केसी (अर्घाखाँची)
......
राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि गठन गरेको सरकारका ‘शाही मन्त्री’हरू स्वागत थाप्न र राजाको कमदको पक्षमा जनमत बनाउन देश दौडाहामा निस्केका थिए । उस्तै, झल्को दिनेगरी अहिले काम चलाउ सरकारका मन्त्रीहरू पनि देश दौडाहामा निस्केका छन् ।
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गराएपछि मन्त्रिपरिषद् हेरफेर गरेका छन् । केही मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ भने केही नयाँ मन्त्रीहरू नियुक्त भएका छन् । कतिपय विघटित संसद्का सदस्य पनि छैनन् । उनीहरू अहिले देश दौडाहामा निस्केर शाहीमन्त्रीहरूजस्तै जिल्ला–जिल्लामा स्वागत थापिरहेका छन् । सँग–सँगै प्रधानमन्त्री ओलीको संसद् विघटन गर्ने कदमको बचाउ गर्दै भाषणा दिइरहेका छन् ।
खेलकुदमन्त्री तामाङलाई गृहजिल्लामा फूलमालासँगै कालो झन्डा
सिन्धुपाल्चोक २ ‘ख’ बाट प्रदेश सभाको चुनाव हारेका दावा तामाङ काम चलाउ सरकारका युवा तथा खेलकुदमन्त्री बनेका छन् । उनले पनि शनिबार गृहजिल्ला सिन्धुपाल्चोकमा फूलमाला र खादाले स्वागत पाएका छन् ।
पहिलो संविधानसभा निर्वाचनमा राप्रपा अध्यक्ष पशुपतिशमशेर राणालाई पराजित गरेर चर्चामा आएका तामाङ प्रदेशमा चुनाव हार्दा पनि संघीय सरकारको मन्त्री बन्न सफल भएपछि फेरि चर्चामा आएका छन् । तर, त्यतिवेला भने स्थानीय बासिन्दा नै उनको विरोधमा थिए । नेकपाका धेरैजसो नेता कार्यकर्ता प्रचण्ड–नेपाल समूहमा भएकाले उनको विरोध भइरहेको छ ।
केही नेता र कार्यकर्ताको स्वागत थापे पनि उपप्रधानमन्त्री ईश्वर पोखरेललाई लिएर गृहजिल्ला पुगेका तामाङलाई युवा संघ र अनेरास्ववियुले कालो झन्डा देखाएर विरोध जनायो । बलेफी गाउँपालिकाको कोठेमा जम्मा भएका अनेरास्ववियुका कार्यकर्ता र अँधेरी सडकमा युवा संघका नेता कार्यकर्ताले कालो झन्डा देखाएर विरोध जनाए । कोठेदेखि खाडीचौरसम्म मन्त्रीद्वयविरुद्ध नाराबाजी भएपछि बाटोमा कर्ही ओर्लेनन् ।
खाडीचौरको अक्करमा आयोजित अगुवा कार्यकर्ता भेलामा मन्त्रीद्वयलाई कार्यकर्ताले फूलमाला र खादा लगाएर स्वागत गरे । भेलालाई सम्बोधन गर्दै मन्त्री तामाङले प्रधानमन्त्री ओलीको कदमको प्रशंसा गरे । उनले प्रधानमन्त्री ओलीकै शैलीमा कथा हालेर सभामुख अग्निप्रसाद सापकोटा र नेकपा अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’को आलोचना गरे । ‘अब जनवादको घाम ताप्न खुमलटारमा होइन, ओली नेकपातिर लाग्नुपर्छ,’ उनले भने ।
महतोलाई श्रीमान् र कार्यकर्ताले लगाए १०१ किलोको माला
महिला, बालबालिका तथा ज्येष्ट नागरिकमन्त्री जुलीकुमारी महतो केही दिनदेखि गृहजिल्ला धनुषामा छिन् । २१ पुसमा जनकपुर आएकी मन्त्री महतोकाे स्वागतमा उनका श्रीमान् रघुवीर महासेठसहित कार्यकर्ताहरू जनकपुर विमानस्थल पुगेका थिए ।
विमानस्थलमै एक सय एक किलोको फूलको मालाकाे स्वागत पाएर महताे दंग थिइन् । त्यसपछि उनी ओली समूहले जनकपुरस्थित प्रादेशिक कार्यालयमा आयोजना गरेको बृहत् जिल्ला कार्यकर्ता भेलामा सहभागी भइन् । त्यहाँ पनि उनलाई फूलमालाले स्वागत गरियो ।

त्यसयता उनी आफ्नो मन्त्रालयसँग सम्बन्धित नरहेको पुलको शिलान्यास, उद्घाटन तथा पार्टी प्रवेशका कार्यक्रममा सहभागी भइरहेकी छिन् । पाँच दिनमा मन्त्री महतोले धनुषा र महोत्तरीका ६ वटा पुलको शिलान्यास र चारवटा पुलको उद्घाटन गरेकी छिन् ।
शनिबार पनि महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित बिग्ही पुलको शिलान्यास गरिन् । यसअघि शुक्रबार धनुषाको देपुरा नोचास्थित जल्लाद नदीको पुल र नेपाल–भारत जोड्ने भडरियास्थित बेलौती नदीमा निर्माण गरिएको पुलको उद्घाटन र नेपालको बिर्ता र भारतको हैरने जोड्ने जमुनी नदीको पुल शिलान्यास गरेकी थिइन् ।
त्यस्तै, बिहीबार मिथिला विहारी नगरपालिकाको ठेरास्थित जलाद नदीको पुल, बटेश्वर गाउँपालिका र मिथिला नगरपालिका जोड्ने सुखजोरको पुलको शिलान्यास तथा वटेश्वर गाउँपालिकाअन्तर्गत बटेश्वर र नक्टाझिज जोडने सुखजोरको पुलको उद्घाटन गरेकी छिन् । त्यसअघि धनौजिक गाउँपालिका भररियाँस्थित भलौची पुलको उद्घाटन गरेकी थिइन् ।
जिल्लाका विभिन्न कार्यक्रममा स्वागत थापिरहेकी मन्त्री महतोले प्रधानमन्त्री ओलीको कदमको बचाउ पनि गर्दै आएकी छिन् । सरकारलाई काम गर्न नदिएकाले प्रधानमन्त्री ओलीले बाध्य भएर संसद् विघटन गरेको उनको भनाइ छ । ‘संसद् विघटन गरेर प्रधानमन्त्री ओलीले कुनै असंवैधानिक कार्य गरेका छैनन् । नयाँ निर्वाचनको मितिसमेत घोषणा गरेका छन्, लोकतन्त्रमा जनता सर्वोपरि हुन्छन् र ताजा जनादेशका लागि जनताका बीच गएका छौँ,’ मन्त्री महतोले भनिन् ।
सहरी विकासमन्त्री साहलाई गृहजिल्ला रौतहटमा स्वागत

सहरी विकासमन्त्री भएपछि गृहजिल्ला पुगेका प्रभु साहलाई फूलमालाले स्वागत गरिएको छ । केही दिनयता जिल्लाका विभिन्न कार्यक्रममा सह भागी भइरहेका उनी स्वागत थाप्नमै व्यस्त छन् ।
जिल्लामा आयोजित कार्यक्रममा स्वागत थाप्दै प्रधानमन्त्री ओलीको प्रशंसा गरिरहेका मन्त्री साह प्रचण्ड र नेपालको भने चर्को आलोचना गर्दै आइरहेका छन् । रौतहटको गरुडामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री साहले निर्वाचनमा जाँदा पराजित हुने डरले प्रचण्ड–नेपाल समूहले आन्दोलन गरिरहेको दाबी गरे । ‘अगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनलाई कसैले चाहेर पनि रोक्न सक्दैन,’ मन्त्री साहले भने । असारमा अर्कै प्रयोजनका लागि गरिएको हस्ताक्षरको दुरूपयोग गरी प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव ल्याउन खोजेपछि संसद् विघटन गर्नु परेको उनको भनाइ थियो ।
ऊर्जामन्त्री रायमाझीलाई गाउँ–गाउँमा स्वागत
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री नियुक्त भएपछि गृहजिल्ला अर्घाखाँची पुगेका टोपबहादुर रायमाझीलाई नेता तथा कार्यकर्ताले स्वागत गरेका छन् । उनले अन्य मन्त्रीले जस्तो विरोधको सामना गर्नु परेको छैन ।
नेकपा ओली समूहको राम्रो प्रभाव रहेको अर्घाखाँचीमा मन्त्री रायमाझीको स्वागत गर्न मोटरसाइकल ¥याली निकालिएको थियो । उनी जिल्लाका ६ वटै स्थानीय तहमा पुगेका छन् । स्थानीय तहमा आयोजित अगुवा कार्यकर्ता भेलामा उनको भव्य स्वागत गरिएको छ ।
अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दा भने उनले प्रधानमन्त्री ओलीको कदमको बचाउ गरेका छन् । त्यस्तै, प्रचण्ड र नेपालको भने चर्को आलोचना गर्दै आएका छन् । शनिबार प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि उनले प्रचण्डको आलोचना गरे । प्रचण्डले नेतृत्व गरेको पार्टीमा पुस्ता हस्तान्तरण गर्ने नदेखेपछि केपी ओलीसँग सहकार्य गर्ने निर्णय गरेको उनको भनाइ थियो । ‘केपी ओलीले म महाधिवेशनमा अध्यक्ष उठ्दिनँ, दोस्रो पुस्तालाई हस्तान्तरण गर्छु भनेर भन्न त भने, तर प्रचण्डले त्यो भन्ने आँटसमेत गरेनन्,’ मन्त्री रायमाझीले भने । उनले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर अग्रगामी कदम चालेको दाबी गरे ।
वनमन्त्री आलेलाई विमानस्थलबाटै फूलमाला

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले मन्त्री नियुक्त भएपछि पहिलोपटक गत १७ पुसमा गृहजिल्ला डोटी पुगे । धनगढी विमानमा उत्रेर सँगै आफ्ना समर्थकबाट फूलमालाले स्वागत पाएका मन्त्री आले गृहजिल्ला प्रस्थान गर्दा कैलालीबाटै केही समर्थक र कार्यकर्ता पनि लिएर गए । जिल्ला सदरमुकाम सिलगढीमा नेकपा ओली समूहले आयोजना गरेको सभामा सहभागी भएका भएका उनीसँगै धनगढी र गृहनगर बुडरबाट पनि समर्थक र कार्यकर्ता गएका थिए ।
सिलगढी पुग्दा मन्त्री आलेको गाडीको पछाडि दर्जनभन्दा बढी गाडीको लस्कर थियो । तीमध्ये आधा दर्जनभन्दा बढी गाडी दिपायल–सिलगढीभन्दा बाहिरबाट उनका समर्थक र कार्यकर्ता लिएर आएका थिए । सिलगढीमा तामझामका साथ गरिएको सभामा मन्त्री आलेले डोटीमा सडक, खानेपानीलगायत विकासका विभिन्न योजना अगाडि बढाउने आश्वासन दिए । ‘प्रधानमन्त्रीले एउटा मगरको छोरालाई विश्वास गरेर जिम्मेवारी दिनुभएको छ । म यो मन्त्रालयलाई अहिलेसम्मकै उत्कृष्ट मन्त्रालय बनाएर देखाउनेछु । तपाईं जनताको शिर निहुरिन नदिने गरी काम गर्नेछु,’ सभामा मन्त्री आलेले भनेका थिए, ‘यो जिल्लामा हुने विकास–निर्माणका काममा म जहिले पनि तत्पर रहनेछु ।’
नेकपा विभाजनसँगै आफ्नो समूहको प्रदेशस्तरीय भेला र छलफलका लागि केही दिनदेखि धनगढीमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट गत बिहीबार विद्यालय भवन शिलान्यासका लागि कञ्चनपुरको वेदकोट पुगे । आफ्नो समूहनिकट केही विघटित प्रतिनिधिसभा सदस्य र सुदूरपश्चिम प्रदेश सभा सदस्य लिएर तामझामका साथ पुगेका मन्त्री भट्टले वेदकोट नगरपालिका–८, स्थित बैजनाथ माविको भवन शिलान्यास गरे ।
उनीसँगै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्ना र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी केही दिन धनगढीमै छन् । यहाँ रहँदा ठगुन्ना मन्त्रालयमातहतको एक कार्यालय उद्घाटन र चौधरी निर्वाचन क्षेत्रअन्तर्गत भजनी नगरपालिकामा कार्यक्रममा सहभागी भए । मन्त्री सहभागी भएका पार्टी र अन्य कार्यक्रममा निकै तामझाम देखिन्थ्यो । मन्त्रीको स्वागतमा विमानस्थलमा पनि उस्तै तामझाम देखिएको थियो ।
श्रममन्त्री चौधरीलाई आफ्नै निर्वाचन क्षेत्रमा फूलमालासँगै कालो झन्डा
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी पनि यतिवेला गृहजिल्लामा छन् । उनी जिल्लाका विभिन्न कार्यक्रममा स्वागत थापिरहेका छन् ।
बुधबारबार भने उनकै निर्वाचन क्षेत्रमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले कालोझन्डा देखाएका छन् । भजनी नगरपालिका जाने क्रममा पूर्व–पश्चिम राजमार्गको घोडाघोडी नगरपालिकास्थित सुक्खड बजारमा कालोझन्डा देखाइएको हो । गृहक्षेत्रमा रहेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्ना पनि स्वागत थापिरहेका छन् । उनले धनगढीमा स्थापना भएको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयको बिहीबार उद्घाटन गरेका छन् । उनले पनि प्रधानमन्त्री ओलीको कदमको बचाउ गर्दै मुलुकमा राजनीतिक परिवर्तन भई संघीयतासमेत आइसकेकाले अब सम्पूर्ण राजनीतिक दलसहित सबैको साझा अभियान मुलुकको विकास हुनुपर्ने बताए ।
खानेपानीमन्त्री थापालाई फूलमालासँगै कालो झन्डा

खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापा पनि जाजरकोट पुगेका छन् । उनलाई पनि कार्यकर्ताले फूलमाला लगाएर स्वागत गरेका छन् भने विपक्षीहरूले कालो झन्डा देखाएका छन् ।
जाजरकोट सदरमुकाम खलंगामा आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले प्रधानमन्त्री ओलीको कदमको बचाउ मात्रै गरेनन्, प्रचण्ड र नेपालको चर्को आलोचना पनि गरे । १० वर्षे जनयुद्धको नेतृत्व गरेका प्रचण्डले देश, जनता र पार्टीका लागि केही नगरेको आरोप लगाए ।
प्रचण्डसँगै मोहन वैद्य ‘किरण’, डा. बाबुराम भट्टराई र नेत्रविक्रम चन्द ‘विप्लव’को समेत आलोचना गरेका मन्त्री थापाले प्रधानमन्त्री ओलीको भने प्रशंसा गरे । उनले समकालीन कम्युनिस्ट पार्टीका नेतामा देशको जनमत ओलीको पक्षमा भएको जिकिर गर्दै राष्ट्रवादी भएको दाबी गरे । ‘अक्टुबर क्रान्तिविरुद्ध भएको प्रतिक्रान्तिलाई रोक्न बोल्सेभिकहरू जनतामा पुग्नु परेको थियो । त्यस्तै, नेपालका सन्दर्भमा पनि यतिवेला केपी ओलीविरुद्ध भएको प्रतिक्रान्तिलाई रोक्न पार्टी जनताको बीचमा जानुपर्ने अवस्था आएको छ,’ मन्त्री थापाले भने ।
पार्टीको आगामी महाधिवेशनले उठाउन खोजेको पार्टी विचारलाई कार्यकर्तासम्म पु¥याउन र आगामी वैशाखको निर्वाचनमा आफ्नो पक्षमा जनमत सिर्जना गर्न पार्टीको नीति तथा कार्यक्रम लिएर गाउँ, टोल र घर–घरसम्म पुग्ने मन्त्री थापाको भनाइ थियो ।