एमआरएनए भ्याक्सिनले आश्चर्यजनक रूपले कोभिड भाइरसविरुद्ध काम गर्ने देखाएको छ
केही महिनायता केही वैज्ञानिक शब्दावलीले आममानिसको ध्यान खिचिरहेका छन् । ‘आर’, ‘पिसिआर’, जस्ता पदावली आम हुँदै गइरहेको सन्दर्भमा अब ‘एमआरएनए’ पनि थपिएको छ । कोरोना भाइरसविरुद्ध विकास भइरहेका दुई नयाँ एमआरएनए खोप (भ्याक्सिन)ले सानदार नतिजा देखाएपछि ‘एमआरएनए (मेसेन्जर राइबोन्युक्लिक एसिड) पदावली समाचारहरूमा छाएको छ । खोप अनुसन्धानको क्षेत्रमै पनि अहिलेभन्दा १० वर्षपहिले समेत एमआरएनए इन्जेक्ट गरेर संक्रमणबाट मानिसहरूलाई जोगाउन सकिने कुरा गरिँदो हो त त्यो उट्पट्याङ लाग्न सक्थ्यो ।
एमआरएनए भनेको जीवित कोषद्वारा डिएनएका जिन अनुक्रमहरू (त्यान्द्रा) प्रोटिनमा परिणत गराउन प्रयोग हुने मोलिक्युल हुन्, जसलाई डिएनए संरचनाका सामग्रीभन्दा पनि हुन्छ । डिएनएको खण्ड नै एमआरएनएमा उपलेखित (कपी) हुने हो, कोषले यसैबाट प्रोटिन संश्लेषण गर्छ । एमआरएनए भ्याक्सिनमा पनि यस्तै हुन्छ, मांसपेशीमा इन्जेक्ट गरिएको भाइरसको एमआरएनएलाई हाम्रा कोषले संज्ञानमा लिएर भाइरल प्रोटिन निर्माण (सिन्थेसिस) गर्छन् । र, हाम्रो रोगप्रतिरोध प्रणालीले पूरै भाइरसहरूप्रति प्रतिक्रिया जनाउँछन्, मानौँ ती प्रोटिन यिनैले ल्याएका हुन् । यसले एकखाले सुरक्षात्मक प्रतिक्रिया उत्पन्न गर्छ । सुन्दर विज्ञान कथा लाग्ने यो कुरा गत सप्ताह मात्रै यथार्थ भएर आएको हो ।
जैविक प्रयोगशालामा अवलोकन हुने सेल कल्चर अब वास्तविक जीवनमा नै अनुवाद भएको असाधारण परिघटना हो यो । यसैबीच, तेस्रो चरणको परीक्षणमा पुगेका पहिला दुई खोपमध्ये दुवै नै एमआरएनए प्रविधि आधारित छन् । यस प्रविधिमा काम गरिरहेका कम्पनीहरू चिनियाँ वैज्ञानिकले ‘सार्स–कोभ–२’ को जेनेटिक कोड प्रकाशन गरेको (जनवरी, २०२०) केही समयमै यो भाइरसको एमआरएनए उत्पादन सुरु गर्न सक्षम भए । जब कि परम्परागत प्रविधिअन्तर्गत खोप बनाउन निकै लामो समय लाग्छ ।
यस विश्वव्यापी महाव्याधिको संकटले अत्यन्त तीव्र गतिमा नवप्रवर्तनहरू गरेको छ खोपहरूलाई क्लिनिकल परीक्षणमा ल्याउन पनि त्यसमा सामेल हुन उत्सुक, हिम्मतवाला थुप्रै स्वयंसेवी आवश्यक हुन्छन्
यी नयाँ खोपको प्रभावशाली प्रदर्शनले विकास हुँदै गरेका अन्य खोपहरूलाई ग्रहण लगाउने छाँट देखाएका छन् । यी खोप कति प्रभावकारी हुन्छन्, त्यसमा यो निर्भर हुनेछ, जसको नतिजा छिटै देख्न पाइनेछ । त्यसो भए अबका सबै खोप यसै प्रविधिका होलान् भन्ने प्रश्न स्वाभाविक उठ्छ । एमआरएनए विधिबाट कोरोना भाइरसको खोप यति चाँडै निर्माण सम्भव भयो भने भविष्यका खोपहरूको निर्माण र रोगहरूको रोकथाममा यो कोसेढुंगा हुनेछ । खोपको रक्षाकवच कति लामो समय रहन्छ, खोप लगाउनेहरू संक्रमित हुन्छन्–हुँदैनन्, खोप लगाएकाबाट अन्यमा भाइरस सर्छ–सर्दैन भन्ने कुराले नै यस खोप प्रविधिको सफलता निक्र्योल गर्नेछ ।
कुनै पनि नयाँ खोप प्रविधिको सफलताको महत्वपूर्ण पक्ष भनेको त्यो कति सुरक्षित छ भन्ने पनि हो । खोप भनेको औषधिजस्तो जो–जो बिरामी हुन्छन्, तिनलाई मात्रै दिने कुरा होइन, यो त सबैलाई दिइन्छ । त्यसैले, यसका साइड–इफेक्टहरू छोटो समय र सामान्य रहे मात्रै मानिसले यसलाई स्वीकार गर्छन् । यद्यपि यसो हेर्दा एमआरएनए सुरक्षित हुने छनक देखिन्छ । आखिर हाम्रो शरीरका सबै कोषमा हरसमय यो पर्याप्त मात्रामा मौजुद जो हुन्छ । यो निकै कमजोर मोलिक्युल हो । सजिलै टुक्रिरहने, बदलिएर गायब भइरहने भएकाले एमआरएनएमाथि प्रयोगशालामा काम गर्नु कठिन हुन्छ ।
यसर्थ, इन्जेक्ट गरिएको एमआरएनए शरीरमा लामो समय रहनुहुँदैन । एमआरएनए आनुवांशिक तत्व भएकाले यसका केही जेनेटिक साइड–इफेक्ट हुन सक्छ भन्ने आशंका उठ्न सक्छ । मानव कोषमा डिएनए निरन्तर आरएनएमा बदलिरहन्छ, तर आरएनए पुनः डिएनएमा उपलेखित हुन नसक्ने भएकाले यसले डिएनएमा आएर जिनमा कुनै बदलाब ल्याउन सक्दैन । (एचआइभीजस्ता केही भाइरसले भने आरएनएबाट पनि डिएनए बनाउँछन्) । फेरि, खोप सुरक्षित छ भन्ने आत्मविश्वास त अनुभवबाटै आउने न हो । एमआरएनएको सन्दर्भमा पनि यही लागू हुन्छ । एमआरएनए सुरक्षित भए–नभएको हेर्न दसौँ हजार परीक्षण भइसकेको हुनाले पनि यसमा आश्वस्त हुन सकिएला । अब केही समयमै दसौँ लाखमा परीक्षण हुनेछन्, त्यसपछि थप आश्वस्त हुन सकिनेछ ।
जे होस्, यस विश्वव्यापी महाव्याधिको संकटले अत्यन्त तीव्र गतिमा नवप्रवर्तनहरू गरेको छ । यसलाई परिस्थितिले निम्त्याएको मानव उपलब्धि भन्न सकिन्छ । एमआरएनएजस्ता वैज्ञानिक उपलब्धि सधैँ नै विभिन्न दक्षता र पृष्ठभूमिका थुप्रै मानिसको सहयोगी प्रयासका निर्माण हुन् । खोपहरूलाई क्लिनिकल परीक्षणमा ल्याउन पनि त्यसमा सामेल हुन उत्सुक, हिम्मतवाला थुप्रै स्वयंसेवी आवश्यक हुन्छन् । नोभेम्बरको सुरुवातसम्म पनि हामीलाई यस खतरनाक रोगबाट पार दिलाउन कुनै खोप आउला कि नआउला भन्ने थाहा थिएन । तर, नोभेम्बरको अन्त्य हुँदा–नहुँदै, खोप आउने निश्चित भयो । एमआरएनए खोप अब इतिहासमा दर्ज भए–भए । मानव प्रतिभा, नवप्रवर्तन एवं कडा परिश्रमका कारण हामी यो भयानक रोगबाट सुरक्षित हुने मार्गमा छाैँ ।
(फिन ब्रिस्टोल विश्वविद्यालयका चिकित्साशास्त्रका प्राध्यापक हुन्)
द गार्डियनबाट