ताप्लेजुङ । पर्यटकीय मौसम सुरु भएलगत्तै ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रको भ्रमण गर्नेहरूको संख्या बढेको छ। अहिले कञ्चनजंघाको मौसम सफा रहेकाले यस क्षेत्रमा चहलपहल बढेको हो।
पर्यटकको संख्या बढेसँगै कञ्चनजंघाका आधार शिविरहरूमा पनि चाप बढ्न थालेको छ। उत्तरी आधार शिविरअन्तर्गत खम्बाचेन, लोनाक र पाङ्पेमा तथा दक्षिणी आधार शिविरअन्तर्गत चिरावा, ओक्ताङ र रामजेर क्षेत्रमा पर्यटकको उपस्थिति राम्रो रहेको स्थानीय होटेल व्यवसायीहरूले बताएका छन्। लोनाकमा होटेल सञ्चालन गर्दै आएका तेन्जिङ शेर्पाले असोजको अन्तिम सातादेखि पर्यटकको उपस्थिति उल्लेख्य रूपमा बढ्न थालेको बताए।

होटेलमा मात्र नभई विदेशी पर्यटकहरू आफैँ टेन्ट टाँगेर, स्लिपिङ ब्याग र आवश्यक सामग्री बोकेर हिँड्ने भएकाले वासको ठुलो समस्या नभएको व्यवसायीहरूको भनाइ छ। कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयका सूचना अधिकारी आदर्श क्षेत्रीका अनुसार चालू आर्थिक वर्षको साउनमा चारजना पर्यटक आएका थिए भने असोज मसान्तसम्ममा कुल १६४ जना पर्यटक भित्रिएका छन्। संरक्षण क्षेत्रको तथ्यांकअनुसार अमेरिका, रुस, बेलायत, जर्मनी र चीनलगायतका देशबाट पर्यटकहरू कञ्चनजंघा भ्रमणका लागि आएका छन्।
कञ्चनजंघा क्षेत्रमा भ्रमण र हिमाल आरोहणका लागि वर्षमा मुख्य दुईवटा पर्यटकीय मौसम हुने गरेका छन्। पहिलो मौसम असोज–कात्तिक तथा दोस्रो मौसम चैत, वैशाख र जेठ मानिने कञ्चनजंघा संरक्षण क्षेत्रले जनाएको छ।
हाल पहिलो पर्यटकीय मौसम चलिरहेकाले आगामी दिनमा पर्यटकको संख्या अझै बढ्ने अपेक्षा गरिएको छ।