प्रधानमन्त्री दैवीप्रकाेप उद्धार कोषमा १३ अर्ब २३ करोड मौज्दात
प्रधानमन्त्री दैवीप्रकाेप उद्धार कोषमा कुल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात रहेको छ। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि कोषमा रकम जम्मा गर्न सरकारले आह्वान गरेको थियो।
कोषमा जम्मा भएको उक्त रकममध्ये नाैवटा वाणिज्य बैंकका खाताहरूमा नाै अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ मौज्दात रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यस्तै, दुईवटा वाणिज्य बैंकमा दुई करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर मौज्दात छ।
‘राइट टु रिकल’सम्बन्धी दस्ताबेज बनाउन रास्वपाद्वारा समिति गठन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्ताबेज निर्माण गर्न ११ सदस्यीय समिति गठन गरेको छ। भदौ ५ गतेको केन्द्रीय कमिटीको निर्णयबमोजिम महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा समिति गठन भएको रास्वपाले जनाएको छ।
समितिको सदस्यहरूमा गणेश पराजुली, मनीष झा, समीक्षा बाँस्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनीष खनाल, सुशान्त वैदिक, गजला समिम मिकरानी, करिश्मा कठरिया र प्रमोद न्यौपाने छन्।
बढी मूल्य लिएर ग्यास बिक्री गर्नेलाई कारबाही गर्न ग्यास विक्रेता महासंघको आग्रह
आपूर्ति असहज भइरहेका वेला तोकिएभन्दा बढी मूल्य लिने विक्रेतालाई कानुनबमोजिम कडा कारबाही गर्न ग्यास विक्रेता महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।
महासंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उपत्यकाभित्रका लागि सरकारले तोकेको प्रतिसिलिन्डर दुई हजार १६५ रुपैयाँ ३८ पैसा मूल्य लिई ग्यास बिक्री गर्न पनि विक्रेताहरूलाई आग्रह गरेको छ। तर, तोकिएभन्दा बढी मूल्य लिई बिक्री गरेको खण्डमा भने कडा कारबाही गर्नुपर्ने महासंघको माग छ।
एमाले बैठकमा बादल र शंकर पोखरेलका छुट्टाछुट्टै प्रतिवेदन पेस, एउटै बनाउने निर्णय
नेकपा (एमाले)को ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’को बैठकमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेलका दुई छुट्टाछुट्टै प्रतिवेदन पेस भएका छन् ।
बैठकले आज प्रस्तुत भएका प्रतिवेदनको अध्ययन गर्ने र भोलिदेखि आवासीय रूपमा बसेर थप छलफल गरी एउटै प्रतिवेदन तयार गर्ने निर्णय गरेको छ। सोही निर्णयसहित आजको बैठक सम्पन्न भएको एमालेले जनाएको छ ।
बादलले निर्वाचन हार्नुमा अध्यक्ष केपी ओलीको गल्ती नभएको प्रतिवेदन बनाएका छन् भने महासचिव पोखरेलको प्रतिवेदनमा ओली मुख्य जिम्मेवार रहेको उल्लेख छ ।
आफ्नो विदेश भ्रमणको ‘ट्राभल हिस्ट्री’ नागरिक एपमै हेर्न मिल्ने
आफ्नाे विदेश भ्रमणसम्बन्धी विवरण नागरिक एपमै हेर्न सकिने भएको छ । अध्यागमन विभागले अध्यागमनको नेपाल पोर्ट र नागरिक एपबिच इन्ट्रिगेसन गरेको छ ।
अध्यागमन विभागले शुक्रबार जारी गरेकाे विज्ञप्तिअनुसार आफ्नो भ्रमण विवरण माग्दै ठुलो संख्यामा सेवाग्राही विभागमा धाउने गर्दछन् । अब, नागरिक एपबाट आफैँ विवरण निकाल्न सकिने विभागका महानिर्देशक रामचन्द्र तिवारी बताउँछन् ।
दसाैँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि कर्णालीमा हुने
दसाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्को १२५औँ बैठकको सिफारिसका आधारमा शुक्रबार प्रतियोगिताको मिति तय गरेको हो। प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेतलगायत विभिन्न जिल्लामा सञ्चालन हुनेछ।
रावल आयोगले औँल्याएको अतिक्रमित सम्पूर्ण जग्गा एकमुस्ट नेपाल सरकारको नाममा कायम गर्ने निर्णय
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ ले औँल्याएका सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको छ।
मन्त्रालयद्वारा गठित प्रतिवेदन कार्यान्वयन समितिको प्रतिवेदनका आधारमा सो निर्णय भएको हो। उक्त प्रतिवेदनका आधारमा मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा घुसाएको भनी उल्लेख भएका कित्ताहरूबाट घुसेको भनिएको क्षेत्रफल एकमुस्ट रूपमा कट्टा गरी नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको हो। सो आयोगले काठमाडौं उपत्यकामा मात्र १९ सय ३५ रोपनी जग्गा अतिक्रमण गरेको निष्कर्ष निकालेको छ ।
प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका स्वीकृत
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिले आगामी असोज १५ गतेसम्मको संसदीय कार्यतालिका स्वीकृत गरेको छ।
सभामुख डोलप्रसाद (डिपी) अर्यालको सभापतित्वमा सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको समितिको बैठकले प्रस्तावित कार्यतालिकामाथि विस्तृत छलफल गरी आवश्यक परिमार्जनसहित स्वीकृति दिएको हो।
सभामुखको निजी सचिवालयका अनुसार नयाँ कार्यतालिका स्वीकृत भएसँगै प्रतिनिधिसभाका आगामी बैठक, विभिन्न विधेयकमाथिको छलफल तथा अन्य संसदीय गतिविधि सोही कार्यतालिकाअनुसार सञ्चालन हुनेछन्।
समितिले संसद्को कामकारबाहीलाई व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले कार्यतालिकामा आवश्यक समायोजन गरेको जनाएको छ।
सडकपेटीमै सुत्केरी बबिताको घटना उठाउँदै सांसद तोसिमा कार्कीले भनिन्, ‘राज्यको सेवा उनीसम्म पुगेन’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार तथा प्रसूति सेवा नपाउँदा सडकपेटीमै सुत्केरी हुनुपरेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले पर्साहीकी बबिता पासवान राज्यको सेवा खोज्दै अस्पताल पुगे पनि राज्यको सेवा उनीसम्म पुग्न नसकेको बताइन्।
नेप्सेमा दोहोरो अंकको वृद्धि, सबै समूहमा हरियाली
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। शुक्रबार नेप्से २७.९४ अंकले बढेर दुई हजार ५५९.४९ विन्दुमा कायम भएको हो। नेप्से १.१० प्रतिशतले बढ्दा सेन्सेटिभ इन्डेक्स ०.८८ प्रतिशतले बढेको छ।
आज कारोबार रकममा समेत वृद्धि भएको छ। बिहीबार चार अर्बबराबरको सेयर किनबेच भएकोमा शुक्रबार सो रकम बढेर चार अर्ब ३६ करोड रुपैयाँभन्दा माथि पुगेको छ। यस दिन एक करोड २० लाख कित्ताभन्दा धेरै सेयर खरिद–बिक्री भए।