दसाैँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि कर्णालीमा हुने

शुक्रबार, २६ भदौ, २०८३
डिजिटल संस्करण

दसाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्को १२५औँ बैठकको सिफारिसका आधारमा शुक्रबार प्रतियोगिताको मिति तय गरेको हो। प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेतलगायत विभिन्न जिल्लामा सञ्चालन हुनेछ।

मन्त्रालयका अनुसार यसअघि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता ०७९ असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना भएको थियो। त्यसयता राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन सकेको थिएन।

स्वस्थ, सक्षम, मर्यादित तथा अनुशासित खेलाडी र सिर्जनशील नागरिक उत्पादन गर्ने उद्देश्यले दसाैँ राष्ट्रिय खेलकुद आयोजना गर्न लागिएको मन्त्रालयले जनाएको छ।

प्रतियोगितालाई भव्य, सभ्य, व्यवस्थित र सफल बनाउन मन्त्रालयले सबै प्रदेश सरकार, स्थानीय तह तथा सम्बन्धित सरोकारवालालाई योजनाबद्ध तयारी र व्यवस्थापनमा जुट्न आग्रह गरेको छ।

मन्त्रालयले प्रतियोगितामा खेलाडीको उत्साहजनक सहभागिता, उत्कृष्ट व्यवस्थापन तथा अनुशासित खेल प्रदर्शन हुने विश्वाससमेत व्यक्त गरेको छ।

सुझावित समाचार