फेवा किङ्स कप : गण्डकी, एपिएफ र आयोजकको विजयी सुरुवात

बुधबार, ९ मंसिर, २०८३
डिजिटल संस्करण

कास्की/ गण्डकी प्रदेश, नेपाल एपिएफ क्लब र आयोजक किङ्स क्लबले बुधबारदेखि पोखरामा सुरु ‘फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता’मा विजयी सुरुवात गरेका छन्।

युनाइटेड किङ्स क्लब पोखराको आयोजना एवं फेवा मल्टी प्रोडक्ट्स प्रालिको मुख्य प्रायोजनमा पोखरा रंगशालामा सुरु प्रतियोगिताको पहिलो खेलमा गण्डकीले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ। पहिलो र दोस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको गण्डकीले तेस्रो सेट १९–२५ ले गुमाएकामा चौथो सेट २५–२२ ले आफ्नो पक्षमा पार्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो।

दोस्रो खेलमा विभागीय एपिएफले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्यो। एपिएफले पहिलो सेट २९–२७ ले जित्दा दोस्रो सेट २५–१८ ले पुलिसलाई सुम्पिएको थियो। तेस्रो सेट २५–१८ ले जितेको एपिएफले चौथो सेट २५–२२ ले गुमाएपछि खेल पाँचौँ सेटमा पुगेको थियो। निर्णायक पाँचौँ सेट १५–१३ ले आफ्नो पक्षमा पार्दै एपिएफले जित निकालेको हो।

तेस्रो खेलमा आयोजक किङ्सले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्यो। किङ्सले पहिलो सेट २६–२४, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो।

पोखरालाई राष्ट्रिय खेलकुदको महत्त्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित विभिन्न खेल संघ, सरकारी निकाय, प्रायोजक, सहयोगी संस्था तथा खेलप्रेमीहरूसँगको सहकार्य र समन्वयमा प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक थमन गुरुङले जानकारी दिए। प्रतियोगितामा नेपालका ६ उत्कृष्ट टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबसँगै गण्डकी प्रदेश भलिबल संघ, कोशी प्रदेश भलिबल संघ र आयोजक किङ्स क्लब सहभागी छन्।

सुझावित समाचार