नेप्सेमा दोहोरो अंकको वृद्धि, सबै समूहमा हरियाली

शुक्रबार, २६ भदौ, २०८३
डिजिटल संस्करण

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। शुक्रबार नेप्से २७.९४ अंकले बढेर दुई हजार ५५९.४९ विन्दुमा कायम भएको हो। नेप्से १.१० प्रतिशतले बढ्दा सेन्सेटिभ इन्डेक्स ०.८८ प्रतिशतले बढेको छ।

आज कारोबार रकममा समेत वृद्धि भएको छ। बिहीबार चार अर्बबराबरको सेयर किनबेच भएकोमा शुक्रबार सो रकम बढेर चार अर्ब ३६ करोड रुपैयाँभन्दा माथि पुगेको छ। यस दिन एक करोड २० लाख कित्ताभन्दा धेरै सेयर खरिद–बिक्री भए।

आज नेप्सेका १३ वटै समूहको सूचकमा हरियाली छाएको छ । विकास बैंक, होटेल तथा पर्यटन, जलविद्युत, लगानी, निर्जीवन बिमा र व्यापार समूह एक प्रतिशतभन्दा धेरैले वृद्धि हुँदा बाँकी समूहको वृद्धि एक प्रतिशतभन्दा कम छ।

आज उपकार लघुवित्त र अभियान लघुवित्तको सेयर मूल्य १० प्रतिशतभन्दा धेरैले बढ्दा सर्वाधिक घटेका मल्टिपर्पोज फाइनान्स, इमर्जिङ नेपाल र ओम मेगाश्रीको गिरावट ५.७१ प्रतिशतदेखि चार प्रतिशतसम्म छ।

कारोबार रकमका आधारमा शुक्रबार लिबर्टी इनर्जी कम्पनी शीर्ष स्थानमा छ। यो कम्पनीको १४ लाख ३४ हजार कित्ता सेयर ३६ करोड ६६ लाख रुपैयाँबराबरमा खरिद–बिक्री भएको हो।
 

सुझावित समाचार