सडकपेटीमै सुत्केरी बबिताको घटना उठाउँदै सांसद तोसिमा कार्कीले भनिन्, ‘राज्यको सेवा उनीसम्म पुगेन’

शुक्रबार, २६ भदौ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार तथा प्रसूति सेवा नपाउँदा सडकपेटीमै सुत्केरी हुनुपरेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले पर्साहीकी बबिता पासवान राज्यको सेवा खोज्दै अस्पताल पुगे पनि राज्यको सेवा उनीसम्म पुग्न नसकेको बताइन्।

‘राज्य खोज्दै बबिता अस्पताल पुगिन् । तर, राज्यको सेवा बबितासम्म पुगेन,’ उनले भनिन्।

उनले स्वास्थ्य सेवाबाट कुनै पनि गर्भवती महिला वञ्चित हुन नहुने भन्दै हरेक गर्भवतीसम्म राज्यको उपस्थिति सुनिश्चित गर्न सरकारसँग आग्रह गरिन्।

‘हरेक गर्भवतीसम्म राज्य पुगोस् र भनियोस्– चिन्ता नलेऊ बबिता, म तिम्रो साथमा छु। तिमीलाई केही पनि हुँदैन, राज्य तिम्रो साथमा छ,’ कार्कीले भनिन्।

सांसद कार्कीले बबिता पासवानको घटनालाई राज्यको स्वास्थ्य सेवा र पहुँचको अवस्थासँग जोड्दै यस्ता घटना दोहोरिन नदिन सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिइन्।

सुझावित समाचार