शुक्रबार १० बजेसम्मका प्रमुख १० खबर

शुक्रबार, १९ भदौ, २०८३
डिजिटल संस्करण

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्री बालेनको भावुक सन्देश– फेरि सपना बुन्ने वातावरण बनाउँछौँ

प्रधानमन्त्री बालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा रसुवा–भोटेकोशी बाढी प्रभावित बालबालिकालाई सम्झिँदै भावुक सन्देश दिएका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत सन्देश दिँदै शाहले जन्माष्टमीका दिन अधिकांश बालबालिका राधा–कृष्णको वेशमा सजिएर रमाइरहँदा बाढी प्रभावित क्षेत्रका बालबालिका भने गहिरो पीडामा रहेको बताएका छन्।

‘आज श्रीकृष्ण जन्माष्टमी। स–साना नानी–बाबुहरू राधा–कृष्णको रूपमा सिँगारिएर मखन खाने र रमाउने दिन हो,’ उनले लेखेका छन्, ‘तर, यसपालिको यो उत्सवमा रसुवा–भोटेकोशी बाढी प्रभावित क्षेत्रका नानी–बाबुहरू त्यसरी खुसी हुन सक्नुभएन। उहाँहरू गहिरो पीडामा हुनुहुन्छ।’ ‘हामी चाँडै नै सुरक्षित र सहज बसोबासको व्यवस्था गर्नेछौँ। पुनः यहाँहरूलाई आफ्नो भविष्यको सपना बुन्ने वातावरण तयार गरिदिनेछौँ,’ शाहले भनेका छन्।

१,२९४ शव भेटिँदा ९६ मात्रै सनाखत

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या एक हजार २९४ पुगेको छ। शुक्रबार साँझ साढे ६ बजेसम्मको अद्यावधिक विवरणअनुसार एक हजार २९४ शव फेला परेका हुन्।

रसुवाबाट १४०, नुवाकोटबाट १८४, धादिङबाट ६७, गोरखाबाट ७३, चितवनबाट ३५९, तनहुँबाट ३८ तथा नवलपरासी पूर्व र पश्चिमबाट क्रमशः २२१ र २१२ शव फेला परेका राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। त्यसमध्ये ९६ शवको मात्र सनाखत भई परिवार तथा आफन्तले बुझिलिएका छन्।

काठमाडौंका लागि तराईमा कसरी भरिँदै छ ग्यास ?

कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि तराईका उद्योगमा ग्यास भरेर काठमाडौं ल्याउन थालिएको छ। नेपाल आयल निगमका अनुसार तराईका १५ उद्योगमा काठमाडौंमा बजारीकरण गरिरहेका करिब २६ ब्रान्डका सिलिन्डरमा ग्यास भर्ने गरिएको छ।

निगमबाट प्राप्त तथ्यांकअनुसार एभरेस्ट र सुगम ब्रान्डको खाली सिलिन्डरमा हेटौँडाको साहारा उद्योगमा ग्यास भरिरहेका छन्। तीनवटै उद्योगका सञ्चालक शिवप्रसाद घिमिरे हुन्। त्यसैले, घिमिरेले आफ्नै उद्योगमा सिलिन्डर रिफिलिङ गरी काठमाडौंका लागि दैनिक ५–६ ट्रक ग्यास ल्याइरहेको निगमले जानकारी दिएको छ।

गृहका २३ अधिकारीको सरुवा, झापासहित १३ जिल्लाका सिडिओ फेरिए

गृह मन्त्रालयले २३ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । सरुवामा झापासहित १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्। 

झापामा श्रवणकुमार पोखरेललाई खटाइएको छ । त्यस्तै, बारामा खडानन्द अधिकारीको सरुवा भएको छ। गत महिनाको संगठन तथा व्यवस्थापन सर्वेक्षणमा नौ जिल्लामा सहसचिवको दरबन्दी कटौती गरेर उपसचिव रहने व्यवस्था गरिएकोमा त्यसको कार्यान्वयन गर्दै सहसचिवलाई हटाएर उपसचिवलाई खटाइएको छ। 

नक्कली कागजपत्र बनाएर बिहे दर्ता गर्न खोज्ने कानुन व्यवसायीसहित तीनजनाविरुद्ध मुद्दा दर्ता

स्थानीय तहको नक्कली कागजपत्र बनाएर अदालतमा विवाह दर्ता गर्न खोज्ने तीनजनाविरुद्ध प्रहरीले लिखत किर्ते मुद्दा दायर गरेको छ । नुवाकोटका रामहरि सापकोटा, तनहुँकी विष्णु लम्साल र नुवाकोट घर भएका कानुन व्यवसायी वासुदेव रिजालविरुद्ध लिखत किर्ते मुद्दा दायर भएको हो। 

उनीहरू गत ९ भदौमा जिल्ला अदालत, काठमाडौंमा विवाह दर्ताका लागि गएका थिए। अदालतका कर्मचारीलाई स्थानीय तहबाट भएको सिफारिसमा शंका लागेर बुझ्दा नक्कली भएको खुलेको छ । काठमाडौंको बुढानीलकण्ठ– २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठको नक्कली हस्ताक्षर गरी पत्र सिफारिस गरेको थियो । वडाध्यक्ष श्रेष्ठले त्यस्तो पत्र आफूले नलेखेको बताएपछि अदालतले विवाह दर्ताका लागि गएका दुवैलाई प्रहरीको जिम्मा लगाएको थियो। बयानको क्रममा उनीहरूले कानुन व्यवसायी रिजालले ती सबै कागजपत्र बनाइदिएको बयान दिएका हुन्। सोही आधारमा रिजालविरुद्ध पनि मुद्दा दायर भएको छ । तर, उनलाई पक्राउ भने गरिएको छैन । यसमा अनुसन्धान सकेर बुधबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर भएको हो। 

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा छलफल गरिने

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी तथा प्रभावकारी बनाउन सातै प्रदेशमा सरोकारवालासँग प्रत्यक्ष छलफल गरी सुझाव तथा पृष्ठपोषण संकलन गरिने भएको छ।

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि पाठ्यक्रम विकास केन्द्रको सहजीकरणमा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलले भदौ २४ देखि ३० गतेसम्म सातै प्रदेशका २८ जिल्लामा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, विज्ञ, नीति निर्माता तथा अन्य सरोकारवालासँग अन्तरक्रिया गर्ने भएको हो।

कुर्सीमा बसेर कागजात समात्ने शैलीलाई नेतृत्व मान्नुहुन्छ भने तपाईं गलत युगमा हुनुहुन्छ : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले पुरानो प्रशासनिक परिपाटी र परम्परागत कार्यशैलीप्रति कडा टिप्पणी गर्दै आधुनिक प्रविधिको प्रयोगमार्फत शासन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

आफ्नो कार्यशैलीलाई लिएर भइरहेको आलोचनाप्रति लक्षित गर्दै गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत ‘जेनेरेसन ग्याप’ अर्थात् पुस्तान्तरणको विषय उठाएका हुन्। मन्त्रालयको टेबुल र कुर्सीमा भौतिक रूपमा उपस्थित नभएको भन्दै भइरहेको टीका–टिप्पणीप्रति प्रतिक्रिया जनाउँदै उनले प्रविधिको युगमा डिजिटल माध्यमबाट कार्यसम्पादन अझ छिटो र प्रभावकारी बनाउन सकिने बताएका छन्।

बिदामा पनि राहदानी विभागका सेवा नियमित सञ्चालन हुने

राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ।

विभागले शुक्रबार सूचना जारी गर्दै ०८३ भदौ २२ र २३ गते राहदानीसम्बन्धी सेवा नियमित रूपमा सञ्चालन हुने जानकारी दिएको हो।

विभागले ती दिन सेवा लिन आउने सबै सेवाग्राहीलाई आवश्यक प्रक्रिया पूरा गरी निर्धारित समयमा सेवा लिन आग्रह गरेको छ।

प्रधानमन्त्री बालेन्द्र शाह र अस्ट्रेलियाली समकक्षीबिच फोनवार्ता

प्रधानमन्त्री बालेन्द्र शाह र अस्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानिजबिच आज टेलिफोन वार्ता भएको छ। बिहान १० बजे भएको टेलिफोन वार्तामा प्रधानमन्त्रीले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका वेला अस्ट्रेलियाली समकक्षीसँग संवाद हुनु महत्त्वपूर्ण रहेको बताए। 

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा हालै आएको विनाशकारी बाढी तथा सुनामीजस्तै विनाशप्रति गहिरो दुःख व्यक्त गरेका छन्।  उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन वार्ता गर्दै अस्ट्रेलिया नेपालको साथमा रहेको र आवश्यकता परेका क्षेत्रमा सहयोग उपलब्ध गराइरहेको बताएका हुन्। 

सगरमाथा स्म्यासर्सको विजयी सुरुवात

फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभिएल)मा सगरमाथा स्म्यासर्सले विजयी सुरुवात गरेको छ।

शुक्रबार त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको पहिलो खेलमा सगरमाथाले मधेश वारियर्सलाई ३–१ को सेटमा पराजित गरेकाे हाे। सगरमाथाले २५–२१, २५–२१, २३–२५ र २५–१५ ले जित निकालेको हो।

पहिलो संस्करणमा सगरमाथा स्म्यासर्स, मधेश वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किंग्स, कर्णाली यशविस र खप्तड फाल्कन्स सुदूरपश्चिमले प्रतिस्पर्धा गर्नेछन्।

सुझावित समाचार