बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्री बालेनको भावुक सन्देश– फेरि सपना बुन्ने वातावरण बनाउँछौँ

शुक्रबार, १९ भदौ, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा रसुवा–भोटेकोशी बाढी प्रभावित बालबालिकालाई सम्झिँदै भावुक सन्देश दिएका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत सन्देश दिँदै शाहले जन्माष्टमीका दिन अधिकांश बालबालिका राधा–कृष्णको वेशमा सजिएर रमाइरहँदा बाढी प्रभावित क्षेत्रका बालबालिका भने गहिरो पीडामा रहेको बताएका छन्।

‘आज श्रीकृष्ण जन्माष्टमी। स–साना नानी–बाबुहरू राधा–कृष्णको रूपमा सिँगारिएर मखन खाने र रमाउने दिन हो,’ उनले लेखेका छन्, ‘तर, यसपालिको यो उत्सवमा रसुवा–भोटेकोशी बाढी प्रभावित क्षेत्रका नानी–बाबुहरू त्यसरी खुसी हुन सक्नुभएन। उहाँहरू गहिरो पीडामा हुनुहुन्छ।’ ‘हामी चाँडै नै सुरक्षित र सहज बसोबासको व्यवस्था गर्नेछौँ। पुनः यहाँहरूलाई आफ्नो भविष्यको सपना बुन्ने वातावरण तयार गरिदिनेछौँ,’ शाहले भनेका छन्।

उनले बाढीबाट कतिपय बालबालिकाले आफ्ना बाबुआमा तथा आफन्त गुमाएको र कतिपयले अझै उनीहरूलाई खोजिरहेको हुन सक्ने उल्लेख गरेका छन्। बाढीले घरबस्ती, खेल्ने चौर र आफ्नै ठाउँसमेत बिरानो बनाइदिएको भन्दै उनले प्रभावित बालबालिकाको अवस्थाप्रति संवेदनशील बन्न आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहले बाढीपछि गम्भीर घाइते, गर्भवती, सुत्केरी, अपांगता भएका व्यक्ति र वृद्धवृद्धासँगै बालबालिकाको उद्धारलाई पहिलो प्राथमिकता दिइएको बताए। अहिले प्रभावित क्षेत्रमा सञ्चालन भइरहेका होल्डिङ सेन्टरमा बालबालिका बसिरहेको र उनीहरूका लागि चाँडै सुरक्षित तथा सहज बसोबासको व्यवस्था गरिने उनको भनाइ छ।

उनले बालबालिकालाई भविष्यका उज्याला झुल्का भन्दै सुरक्षित भविष्य निर्माणका लागि सरकारले निरन्तर काम गरिरहेको बताए।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा विपतकाे जोखिम बढ्दै गएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले विपत् पूर्वतयारीमा बालबालिकालाई पनि सक्रिय हुन आग्रह गरेका छन्। उनले घरमा ‘विपत् झोला’ तयार राख्न, सानैदेखि बचत गर्ने बानी बसाल्न तथा जलवायु परिवर्तनबारे अध्ययन र छलफल गर्न सुझाव दिएका छन्।

प्रधानमन्त्रीका अनुसार विपतमा परेका १३ हजार ९५ जनाको उद्धार भइसकेको छ। उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत विज्ञ टोलीप्रति उनले धन्यवाद व्यक्त गरेका छन्। साथै विदेशमा रहेका नेपाली, मित्रराष्ट्र तथा विकास साझेदार संस्थाले गरेको सहयोगप्रति पनि उनले कृतज्ञता व्यक्त गरेका छन्।

संकटका वेला एकता, सदभाव र भ्रातृत्वका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै शाहले श्रीकृष्णको शिक्षालाई स्मरण गरेका छन्।

‘संघर्ष र विपतकाे समयमा हार मानेर वा निराश भएर बस्ने होइन। धैर्य, कर्तव्य र एकताका साथ अघि बढ्नुपर्छ। हामी रोकिँदैनौँ,’ उनले भनेका छन्।

प्रधानमन्त्री शाहले सबैलाई मिलेर विपतकाे सामना गर्दै सुरक्षित र उज्यालो नेपालको निर्माणमा जुट्न आह्वान गरेका छन्।

सुझावित समाचार