भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या एक हजार २९४ पुगेको छ। शुक्रबार साँझ साढे ६ बजेसम्मको अद्यावधिक विवरणअनुसार एक हजार २९४ शव फेला परेका हुन्।
रसुवाबाट १४०, नुवाकोटबाट १८४, धादिङबाट ६७, गोरखाबाट ७३, चितवनबाट ३५९, तनहुँबाट ३८ तथा नवलपरासी पूर्व र पश्चिमबाट क्रमशः २२१ र २१२ शव फेला परेका राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। त्यसमध्ये ९६ शवको मात्र सनाखत भई परिवार तथा आफन्तले बुझिलिएका छन्।
प्राधिकरणका अनुसार करिब पाँच हजार ५३ जना अझै बेपत्ता छन्। जसमध्ये करिब दुई हजार १३० जना रसुवा र दुई हजार ३४० जना नुवाकोट जिल्ला प्रशासन कार्यालयबाट अद्यावधिक भएका हुन्। बेपत्तामध्ये ५८३ जना विदेशी नागरिक छन्।
हालसम्म १३ हजार ९५ जनाको उद्धार गरिएको छ भने पाँच हजार ६६३ घाइतेको उपचार भएको प्राधिकरणले जनाएको छ।