राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय अनुशासन समितिले पार्टीको निर्णय र निर्देशनविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएका तीन प्रदेश सभा सांसदलाई स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
समितिले प्रदेश सभा सदस्यहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पूर्ण सफाइको मौका दिँदै १२ घण्टाभित्र स्पष्टीकरण पेस गर्न समय दिएको हो । उनीहरू एमालेका किरण थापा नेतृत्वको सरकारमा सहभागी छन् ।
सरकारमा गिरबहादुर तामाङलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, राजु विष्टलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय र राजेन्द्र प्रजापतिलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यसअघि राप्रपाले सरकार गठनमा सक्रिय पार्टीको संसदीय दलका नेता उद्धव थापाको पार्टी सदस्यता निलम्बन गर्नुका साथै प्रदेश सभा सदस्यबाट पदमुक्त गर्न सिफारिस गरिसकेको छ ।
पार्टीको निर्णय र निर्देशनविना बागमती प्रदेश सरकारमा सहभागी भएको विषयलाई लिएर समितिले उनीहरूसँग स्पष्टीकरण मागेको हो । समितिले सम्बन्धित प्रदेश सभा सदस्यहरूलाई आफ्नो पक्ष राख्ने पर्याप्त अवसर प्रदान गर्दै निर्धारित समयभित्र जवाफ पेस गर्न भनेको जनाएको छ ।