सात वर्षपछि बागमतीको स्थायी संरचना निर्माणले पाउने भयो गति

रुख कटानसँगै टेन्डर प्रक्रिया अघि बढाउन मन्त्री रायमाझीको निर्देशन

मंगलबार, १२ साउन, २०८३
डिजिटल संस्करण

बागमती प्रदेश सरकार स्थापना भएको सात वर्षपछि आफ्नै स्थायी प्रशासनिक संरचना निर्माणको कामले गति पाउने भएको छ। प्रदेशको स्थायी राजधानी हेटौँडामा निर्माण हुने प्रादेशिक संरचना निर्माण प्रक्रियालाई तत्काल अघि बढाउन भौतिक पूर्वाधार विकासमन्त्री विनु रायमाझीले निर्देशन दिएकी छिन्।

मन्त्री रायमाझीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ स्थित प्रस्तावित प्रादेशिक संरचना निर्माणस्थलको स्थलगत निरीक्षण गर्दै निर्माण प्रक्रियामा ढिलाइ नगर्न निर्देशन दिएकी हुन् ।

प्रदेश सरकार गठन भएदेखि नै स्थायी प्रशासनिक संरचना निर्माणको चर्चा हुँदै आए पनि जग्गा व्यवस्थापन, वन क्षेत्रको अनुमति, वातावरणीय अध्ययनलगायतका प्रक्रियाका कारण काम अघि बढ्न सकेको थिएन । गत चैतमा संघीय सरकारबाट भोगाधिकार प्राप्त भएपछि भने निर्माण प्रक्रिया अघि बढ्ने बाटो खुलेको हो ।

मंगलबार निरीक्षणका क्रममा मन्त्री रायमाझीले संरचना निर्माण हुने जग्गामा रहेका रुख कटानको कामलाई प्राथमिकतामा राख्न निर्देशन दिइन् । उनले रुख कटानका लागि आवश्यक सम्झौता भइसकेको छ र केही दिनमा नै रुख कटानको कार्य थाल्न र टेन्डर प्रक्रियालाई पनि समानान्तर रुपमा अगाडि बढाउन निर्देशन दिएकी हुन् ।

‘प्रादेशिक संरचना निर्माणमा सरकार र मन्त्रालय अहिले पूर्ण तयारीको अवस्थामा छ । कुनै पनि कानुनी वा प्राविधिक समस्या छैन भने अब डिजाइन अनुसारको कामलाई छिटोभन्दा छिटो अगाडि बढाउनुपर्छ,’ उनले भनिन्, ‘रुख कटानले खरिद प्रक्रियालाई रोक्दैन । दुवै काम समानान्तर रुपमा अघि बढाउन सकिन्छ ।’

राजनीतिक अस्थिरता र सरकार गठनका चर्चाका बिच पनि मन्त्री रायमाझीले विकासका कामलाई नरोकी अगाडि बढाउन आग्रह गरिन् । उनले आयोजनास्थलको अवस्था र आगामी कार्ययोजनाबारे कर्मचारीहरूसँग विस्तृत छलफलसमेत गरेकी थिइन् । रुख कटानको काम सम्पन्न गर्न करिब एक महिना लाग्ने अनुमान गरिए पनि सोही अवधिमा टेन्डर प्रक्रियाका कामहरु पनि अघि बढाइने मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता भूपेन्द्र यादवका अनुसार प्रादेशिक संरचना निर्माणका लागि मंगलबार मात्र रुख कटानको लागि डिभिजन वन कार्यालय मकवानपुरसंग मन्त्रालयले सम्झौता गगरिएको छ । 

प्रदेश सरकार गठन भएको सात वर्षपछि बल्ल आफ्नै स्थायी प्रशासनिक भवन निर्माणका लागि हेटौँडा–१६ र १७ को सामुदायिक वनको जग्गामा भवन बनाउने अनुमति पाएसँगै रुख कटानका लागि जेठमा नै छपान कार्य सम्पन्न गरेको थियो । प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिका–१६ र १७ मा रहेको ३१.२ हेक्टर सामुदायिक वन क्षेत्र प्रशासनिक भवन निर्माणका लागि प्रयोग गर्न पाउने गरी प्रदेश सरकारले गत चैतमा संघीय सरकारबाट भोगाधिकार प्राप्त गरेको थियो । 

२०८२ चैत १ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेश सरकारलाई भोगाधिकारस्वरुप २७.५७ हेक्टर घ्याम्पे र चुरेकाली सामुदायिक वन क्षेत्रमा पर्छ भने ३.४५ हेक्टर विद्यालय तथा सार्वजनिक जग्गा प्राप्त भएको थियो । उक्त क्षेत्रमा रहेका विभिन्न प्रजातिका ५ हजार २२६ वटा रुख हटाउन वन विभागले अनुमति दिइसकेको छ । मन्त्रालयले ५ हजार २२६ वटा रुख कटानबापत ३ करोड ४१ लाख रुपैयाँ वन विकास कोषमा जम्मा गरिएको छ ।

प्रादेशिक संरचना निर्माण आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन अनुसार संरचना निर्माणका क्रममा ५ हजार २२६ वटा रुख काटिनेछन् । जसमा सबैभन्दा बढी २ हजार ३७२ सिसौ र १ हजार ९३७ खोटे सल्लाका रुख छन् । रुख कटानबाट करिब १ हजार ६४३ घनमिटर काठ र १ हजार ६४२ घनमिटर दाउरा उत्पादन हुने अनुमान छ ।

प्रदेश सरकारले एकीकृत प्रादेशिक संरचना, प्रदेशसभा भवन र आवास निर्माणका लागि आर्थिक वर्ष २०८३÷८४ मा ५६ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त स्थानमा प्रदेशको मुख्यमन्त्री कार्यालयसहित १० वटा मन्त्रालयको भवन, प्रदेशसभा भवन, सुरक्षा निकायका लागि कार्यालय, लोकसेवा आयोग, नीति तथा योजना आयोग, बैंक, क्याफेटेरिया र शिशु स्याहार केन्द्रसहित २५ वटा आधुनिक संरचना निर्माण गर्नेगरी ईआईए गरिएको छ ।
 

सुझावित समाचार