राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार र आइतबार उच्च सतर्कता अपनाउन आग्रह गरेपछि जिल्ला प्रशासन कार्यालय धनकुटाले रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ।
अविरल वर्षा र त्यसबाट हुन सक्ने बाढी, पहिरो, कटान, गेग्र्यान बहाव तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले शनिबार र आइतबार बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म जिल्लाका मुख्य तथा सहायक सडकमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।
प्रशासनका अनुसार कोशी लोकमार्गसहित भेडेटार–रवि–राँके सडकखण्ड र मूलघाटदेखि पाँचथरको सीमासम्मको तमोर करिडोरमा रातिको समयमा सवारी सञ्चालन पूर्ण रूपमा बन्द गरिएको छ। भेडेटार हुँदै तेह्रथुम, संखुवासभा, भोजपुर र पाँचथरतर्फ जाने लामो दूरीका सवारीसाधन सञ्चालनमा समेत रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पुष्पलाल धमलाद्वारा जारी सूचनामा उल्लेख छ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार धरानबाट धनकुटासम्म मात्र सञ्चालन हुने सवारीसाधनलाई भने वर्षा नभएको अवस्थामा सडकको अवस्था मूल्यांकन गरेर सञ्चालन गर्न अनुमति दिइनेछ।
प्रशासनले अत्यावश्यक कामबाहेक रातिको समयमा लामो दूरीको यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, तीनै तहका सुरक्षा निकाय, स्थानीय तह र स्वयंसेवकलाई विपत् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। जोखिमयुक्त सडकमा डोजर, एक्स्काभेटर, लोडरलगायत आवश्यक उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
त्यस्तै, पहिरो तथा बाढीको उच्च जोखिममा रहेका बस्तीका नागरिकलाई आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्न तयारी गर्न प्रशासनले सम्बन्धित निकायलाई निर्देशन दिएको छ। खोला, नदी, खहरे आसपास तथा पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन र आकस्मिक अवस्था आएमा नेपाल प्रहरीको हटलाइन नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार र आइतबार देशका २३ भन्दा बढी जिल्लामा बाढीको उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेपछि जिल्ला प्रशासन कार्यालय धनकुटाले उक्त निर्णय लागू गरेको जनाएको छ।
