सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता भएको छ । भेटमा अर्थमन्त्री एडिबीका अध्यक्ष कान्डाले नेपालको विकासका लागि सहकार्य गर्ने विषय आफूहरूको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।
नेपालमा बनेको नयाँ सरकारसँग सहकार्य गर्न आफू उत्साहित भएको पनि उनले बताए, ‘नयाँ सरकारलाई सहयोग गर्ने विषयमा हामी उत्साहित छौँ, नेपाललाई कसरी थप सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल सुरु गरिसकेका छौँ ।’ सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको विकासका लागि एसियाली विकास बैंकका तर्फबाट भएको सहयोग र लगानी परिचालनका लागि अध्यक्ष कान्डालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा निरन्तर सहयोगका लागि आग्रह गरेका छन् ।
दुईदिने भ्रमणका लागि नेपाल आइपुगेका कान्डा सोमबार र मंगलबार नेपालमा रहनेछन् । मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहसँग बिहान भेट गर्ने कार्यक्रम रहेको छ ।