सशस्त्र प्रहरीमा ११ करोड हिनामिना प्रकरणः इन्स्पेक्टरविरुद्ध ठगी र आपराधिक लाभ मुद्दामा म्याद थप

सोमबार, २२ असार, २०८३
डिजिटल संस्करण
सशस्त्र प्रहरीमा ११ करोड हिनामिना प्रकरणः इन्स्पेक्टरविरुद्ध ठगी र आपराधिक लाभ मुद्दामा म्याद थप

पक्राउ परेका लीलाबहादुर लामा र कल्पना गुरुङ

सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित बिद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध ठगी तथा आपराधिक लाभ मुद्दामा अनुसन्धान अघि बढेको छ। जिल्ला अदालत, काठमाडौंले उनीहरूलाई सोमबार सात दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ। 

सशस्त्र प्रहरी बलकै पत्रका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंले शनिबार उनीहरूलाई पक्राउ गरेको थियो। सोमबार अदालतबाट उनीहरूलाई ठगी तथा आपराधिक लाभ मुद्दामा थुनामा राख्न म्याद लिइएको परिसरका एसपी पवन भट्टराईले जानकारी दिए।

इन्सपेक्टर गुरुङ करिब ६ वर्ष कीर्तिपुरस्थित बिद्यालयको लेखा अधिकृत भएर काम गरेकी थिइन्। बिद्यालयको आम्दानीवापतको रकम कल्याण कोषमा जम्मा गर्नुपर्नेमा गैरकानुनी रुपमा निकालेर उनले साथी लामालाई दिदै आएकी थिइन्। लामाले सो पैसा डुबाएपछि दुवै जना यसमा फसेका हुन्। लामा होटल तथा ट्राभल एजेन्सी व्यवसायी हुन्। 

सशस्त्र प्रहरीले आन्तरिक रुपमा छानबिन गरेको थियो। छानबिनमा इन्सपेक्टरकै योजनामा हिनामिना भएको निष्कर्ष निकालेको छ। यसमा बिद्यालयका तत्कालीन कमान्डेन्टहरू दिगबिजय सुवेदी, भूपेन्द्र केसी तथा रामजंग पाण्डेको पनि चरम लापरबाही देखिएको छ। साथै, बिद्यालयको करोडौं आम्दानीको खोजी नगर्ने कल्याण शाखाका अधिकारी पनि छानबिनमा छन्। सशस्त्रमा लेखा अधिकृत हरेक वर्ष सरुवा हुनेमा गुरुङ भने ६ वर्षसम्म एउटै कार्यालयमा बसेकी थिइन्। नयाँ लेखा अधिकृत त्यहाँ गएर हिसाब बुझ्ने क्रममा मात्र बदमासी बाहिर आएको हो। 
 

सुझावित समाचार