चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १०५ बर्ष, नेपालमा कार्यक्रम

चिनियाँ राजदूत र नेपाली नेताद्धारा आर्थिक साझेदारीमा जोड

शुक्रबार, १८ असार, २०८३
डिजिटल संस्करण

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थापनाको १०५ बर्ष पुगेको अबसरमा नेपालका प्रमुख राजनीतिक दलका नेता र चिनियाँ राजदूतले चिनियाँ सुशासन तथा विकासको अनुभवका आधारमा दुई देशबीच सुदृढ आर्थिक साझेदारी हुनुपर्ने जोड दिएका छन् । उनीहरुले आर्थिक विकासका मोडेलहरू, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन र क्षेत्रीय कनेक्टिभिटी फ्रेमवर्कहरूको समेत समीक्षा गरेका छन् । 

नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १०५ बर्षमा भएका विकास, गरीवी निवारण, आधुनिकीकरणको प्रगतिको चर्चा गरे । उनले चिनियाँ आधुनिकीकरणको इतिहास उल्लेख गर्दै ५० जनाको सानो समूहबाट सिपिसी अहिले विश्वकै सबैभन्दा ठूलो राजनीतिक दल बनेको उल्लेख गरे । 
सुशासन र आन्तरिक अनुशासनमा सिपिसी तथा चीन सरकारको कठोर नीति उल्लेख गर्दै राजदूत झाङले पार्टीले १० लाख भन्दा बढी भ्रष्टाचार मामिलाहरूको अनुसन्धान गरेको र जसको परिणामस्वरूप सन् २०२५ मा मात्रै ८८ हजार व्यक्तिहरू विरुद्ध भ्रष्टाचारको कारबाहीमा परेको बताए । 

उनले नेपालका सबै दलहरुसँग मिलेर काम गर्न चीनले चाहेको पनि बताए । ‘वश्व अनिश्चितता र रूपान्तरणको नयाँ अवधिमा प्रवेश गरेको छ। हामीले जटिल विश्वव्यापी चुनौतीहरूको सामना गरिरहँदा, सीपीसी पारस्परिक लाभ र साझा समृद्धिका लागि नेपालका सबै राजनीतिक नेताहरूसँग मिलेर काम गर्न पूर्ण रूपमा तयार छ’ राजदूत झाङले भने । 

चीनको विश्वव्यापी पहलहरू अन्तर्गत भविष्यको सहयोगका लागि नेपालसँग चारबुँदे सहकार्यको प्रस्ताब गरेका छन् । उनले   सुशासन आदानप्रदान अन्तर्गत दुवै देशका राजनीतिक दलहरु एवं चिन्तन संस्था तथा व्यक्ति बीच उच्च–स्तरीय राजनीतिक संवाद र सहकार्यात्मक संस्थागत आदानप्रदानलाई गहिरो बनाउन चाहेको बताए । 

राजदूत झाङले उच्च–गुणस्तरको बीआरआई कार्यान्वयनमा जोड दिँदै नेपालसँग हिमालय सीमापार बहुआयामिक कनेक्टिभिटी नेटवर्कको विकासलाई गति दिइने बताए । 

राष्ट्रपति सी जिनपिङका चार मुख्य विश्वव्यापी पहलहरूः ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई), ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई), ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ (जीसीआई), र ग्लोबल ग्रीन इनिसिएटिभ (जीजीआई) कार्यान्वयन गर्न नेपाली साझेदारहरूसँग नजिक रहेर काम गर्ने पनि उनले बताए । नेपालले सुरक्षासँग सम्बन्धित जिएसआईलाई समर्थन गर्न नसक्ने र यसमा सहकार्य गर्न पनि नसक्ने स्पष्ट पार्दै आएको छ । 

राजदूत झाङले  युवा तथा सांस्कृतिक आदानप्रदानमा जोड दिँदै शान्ति, विकास र दीर्घकालीन सहयोगलाई प्रवद्र्धन गर्न दुवै देशका युवाहरू बीच जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने पनि बताए । उनले बलियो चीन–नेपाल आर्थिक साझेदारी निर्माण गर्न नेपालका सबै राजनीतिक दल र जनतासँग मिलेर काम गर्ने सीपीसीको प्रतिबद्धता दोहो¥याएका छन् । 

नेपाली नेताले के भने ? 

पूर्व प्रधानमन्त्री झलनाथ खनाल, रास्वपा महामन्त्री विपिन आचार्य, कांग्रेस नेता उदय शमशेर राणा, एमाले नेता रघुवीर महासेठ, श्रम संस्कृति पार्टीका नेता आरेन राई, जनमत पार्टीका नेता जयकान्त राउत र राप्रपा नेता ज्ञानेन्द्र शाहीले कार्यक्रमलाई सम्बोधन गरेका थिए । 

पूर्व प्रधानमन्त्री खनालले चिनियाँ राष्ट्रिय एकता र विकासलाई सुदृढ बनाउन सीपीसीले गरेको उल्लेखनीय प्रगतिको प्रशंसा गरे । चीनलाई एक भरपर्दो र विश्वसनीय छिमेकीको रूपमा चित्रण गर्दै खनालले नेपालले आफ्नो राष्ट्रिय विकासका लक्ष्यहरू पूरा गर्न बेइजिङसँगको साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिए । 

रास्वपा महामन्त्री आचार्यले सीपीसीको विगतको आर्थिक विपन्नताबाट व्यापक समृद्धितर्फको संक्रमणलाई राष्ट्रिय सुशासनको एक उदाहरणीय मोडेलको रूपमा वर्णन गरे । उनले औपचारिक सीमानाहरूभन्दा बाहिर नेपाल र चीनका जनताहरू बीच गहिरो, पारिवारिक जस्तो सांस्कृतिक सम्बन्ध रहेको उल्लेख गर्दै यसलाई सुदृढ गर्नुपर्नेमा जोड दिए । उनले  रास्वपा र सीपीसीको आन्तरिक विचारधारा फरक हुन सक्ने भए पनि समृद्धि हासिल गर्ने उनीहरूको साझा उद्देश्य रहेको बताए ।  

कांग्रेस नेता राणाले पार्टी सभापति गगन थापाको वर्तमान नेतृत्वमा नेपाली कांग्रेस एक–चीन नीतिप्रति दृढतापूर्वक प्रतिबद्ध रहेको बताए । आधुनिक नेपाल–चीन सम्बन्धको जग ऐतिहासिक कांग्रेस नेता तथा पूर्व प्रधानमन्त्री बी.पी. कोइरालाको सरकारको पालामा निर्माण भएको स्मरण गर्दै दुई देशबीच सुदृढ सहकार्यमा जोड दिएका छन् । 

एमाले नेता महासेठले चिनियाँ विकास तथा सुशासनको मोडेल नेपालका लागि पनि अनुकरणीय रहेको बताए । जनमत पार्टी नेता राउतले नेपालले चीनको अभूतपूर्व उपलब्धिहरूबाट पाठहरू सिक्न सक्ने बताए । जनमत पार्टीले चीनसँगको आफ्नो मैत्रीपूर्ण र दीर्घकालीन सम्बन्धलाई उच्च महत्व दिने उनको भनाई थियो । 

राप्रपा नेता शाहीले वैदेशिक सहायताप्रति नेपालको दृष्टिकोणमा रणनीतिक परिवर्तन हुनुपर्ने बताए । उनले चीनसँग ऋण वा अनुदान नभएर प्रविधि हस्तान्तरणको माग गर्नुपर्ने तर्क गरे । 

श्रम संस्कृति पार्टीका नेता राईले उहाँले सहकार्यात्मक संलग्नता मार्फत नेपालको भविष्यको विकास प्रक्रिया र पूर्वाधार लक्ष्यहरूको सुधारका लागि सकारात्मक योगदान पु¥याउन आफ्नो पार्टी समर्पित रहेको बताए ।

सुझावित समाचार