- नेतृत्व हस्तान्तरणको दबाब बढिरहेका वेला ओली र प्रचण्डले कार्यगत एकतादेखि पार्टी एकतासम्मको बहस अघि सार्दै आफूविरुद्धका असन्तुष्टि र सम्भावित मोर्चाबन्दी व्यवस्थापन गर्ने रणनीतिक प्रयास गरेको कतिपयको आशंका
सात वर्षअघि एउटै पार्टीबाट विभाजित भएका एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फेरि कार्यगत एकतातर्फ अघि बढेका छन् । दुवै दलले लोकतन्त्र, संविधान र वाम आन्दोलनमाथि देशभित्र तथा बाहिरबाट चुनौती बढेको निष्कर्ष निकाल्दै कार्यगत सहकार्यको आवश्यकता महसुस गरेका छन् । गत २१ फागुनको निर्वाचनमा कमजोर परिणाम आएपछि दुवै दल र नेतृत्व दबाबमा छन् ।
०७४ को एकताबाट उपलब्धिको शिखरमा पुगेर ०७७ को विभाजनपछि अकल्पनीय गम्भीर क्षति व्यहोरेका दुई ठुला वाम दल एमाले र नेकपा आसन्न स्थानीय तह निर्वाचनलाई समेत ध्यानमा राख्दै कार्यगत एकताको गृहकार्यमा लागेका हुन् । एमाले अध्यक्ष केपी ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक रूपमै सहकार्यको जनाउ दिएपछि वाम राजनीतिमा नयाँ ध्रुवीकरणको बहस चलेको छ ।
एक साताअघि भक्तपुरको गुन्डुमा भएको लामो संवादपछि एमाले अध्यक्ष ओली र नेकपा संयोजक प्रचण्डले पार्टीका आन्तरिक बैठकदेखि सार्वजनिक मञ्चसम्म कार्यगत एकता लगभग सुनिश्चित भइसकेको र त्यसका लागि आवश्यक आधारसमेत तयार भइसकेको सन्देश दिन थालेका छन् । ०७४ मा जस्तै कार्यगत एकताबाट प्रक्रिया सुरु गर्दै अहिले संसद् र सडकमा सहकार्य गर्ने, त्यसपछि स्थानीय तह, प्रदेश तथा संघीय निर्वाचनमा तालमेल गर्ने र अन्ततः पार्टी एकतासम्म पुग्ने समझदारी दुवै नेताबिच बनेको बताइन्छ । यद्यपि, यस्तो समझदारी उनीहरूले औपचारिक रूपमा सार्वजनिक गरिसकेका छैनन् ।
कार्यगत एकतालाई प्रारम्भिक विन्दु बनाउने सहमति भइसकेको संकेत एमाले अध्यक्ष ओलीले ९ असारको सचिवालय बैठकमै दिएका थिए । त्यसको निरन्तरतास्वरूप प्रचण्डले शुक्रबार विराटनगरमा आयोजित कार्यक्रममा एमालेसँग संसद्, सडक र निर्वाचनमा कार्यगत सहकार्य हुने लगभग निश्चित भइसकेको उल्लेख गर्दै आफ्नो राजनीतिक जीवनको अन्तिम चरणमा ‘क्रमभंग’ गर्ने तयारीमा रहेको घोषणा गरेका छन् ।
पार्टीको कोशी प्रदेश कमिटीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले एमालेसँगको सहकार्यका लागि सकारात्मक वातावरण बनेको र यो सहकार्य केवल नीतिगत तहमा सीमित नभई पार्टीभित्रको व्यापक छलफलबाट निष्कर्षमा पुगेको सुनाए । नेकपाको केन्द्रीय संयोजन समितिले वामशक्तिहरूसँग कार्यगत एकताको प्रस्तावसमेत पारित गरिसकेको छ ।
त्यस विषयमा पनि प्रचण्डले आन्तरिक रूपमा प्रस्ट्याएका थिए । ‘अहिले सदनमा बलियो उपस्थिति जनाउन पनि सहकार्य आवश्यक भएको छ । सडकमा पनि सहकार्य हुन्छ र आगामी निर्वाचनमा समेत एमालेसँग सहकार्य हुनेछ,’ प्रचण्डले भने ।
तत्कालै पार्टी एकताको सम्भावना भने नभएको भन्दै उनले पहिले पार्टीलाई मंसिरमा हुने महाधिवेशनबाट सुस्पष्ट बनाउने बताए । त्यहीँबाट नयाँ राजनीतिक क्रमको सुरुवात गर्ने उनको दाबी छ । ‘म जस्तोसुकै क्रमभंग गर्न सक्छु । महाधिवेशनले नयाँ क्रमभंग हुनेछ । प्रचण्डले यो अन्तिम क्रमभंग हो, त्यसका लागि तयार रहनुस्,’ उनले भने ।
रास्वपाले प्रदेश सभा र संविधान नै खारेज गर्ने एजेन्डा अघि सारेको आरोप लगाउँदै उनले कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याए । ‘अब जाग्ने कि नजाग्ने ? हामी कम्युनिस्ट हुने कि नहुने ? कम्युनिस्ट नभई यो फासीवादविरुद्ध लड्न र जित्न सकिँदैन,’ उनले भने ।
एमाले नेता प्रदीप ज्ञवालीले वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी शक्तिहरूबिच संवाद र कार्यगत सहकार्य स्वाभाविक भए पनि पार्टीभित्रको समीक्षा, सुधार र पुनर्संरचना सम्पन्न नगरी एकताको दिशामा हतारिन नहुने बताएका छन् । उनले पार्टीहरूले साझा सहकार्यसँगै आफ्ना नीतिगत प्राथमिकता, वैचारिक स्पष्टता र संगठनात्मक सुदृढीकरणलाई पनि समान महत्व दिनुपर्ने बताए ।
‘आन्तरिक रूपमा बलियो नबनी हतारमा सहकार्य वा एकताको बाटो रोज्दा समस्या थाती रहने मात्र होइन, त्यसले थप जटिलता सिर्जना गर्न सक्छ । यसले समग्र कम्युनिस्ट आन्दोलनलाई समेत कमजोर बनाउने जोखिम हुन्छ,’ उनले भने, ‘अहिलेको परिस्थितिले वामपन्थी शक्तिहरूबिच संवाद बढ्नु स्वाभाविक छ । कार्यगत सहकार्यभन्दा अघि बढेर पार्टी एकताको निष्कर्षमा पुग्ने अवस्था भने अझै परिपक्व भइसकेको छैन । अनावश्यक रूपमा एकताको चर्चा चलाउँदा परिस्थिति झन् जटिल बन्छ । एमालेले पार्टी एकताका विषयमा कुनै निर्णय गरेको छैन र तत्काल त्यस्तो निर्णय हुने अवस्था पनि छैन ।’
उनले देशले भोगिरहेका चुनौती र संकटलाई दृष्टिगत गर्दा सहकार्य केवल वामपन्थी शक्तिहरूबिच मात्र सीमित नराखी संविधान निर्माणमा सहभागी लोकतान्त्रिक, गणतन्त्र पक्षधर तथा राष्ट्रहितप्रति प्रतिबद्ध सबै राजनीतिक शक्तिहरूबिच न्यूनतम साझा समझदारी र कार्यगत सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे । ‘देशको राजनीतिलाई अहिले जुन दिशातर्फ धकेल्ने प्रयास भइरहेको छ, त्यसलाई रोक्न केवल वामपन्थी शक्तिहरूबिच सहकार्य पर्याप्त हुँदैन । संविधान निर्माणमा भूमिका खेलेका प्रमुख दल, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर र लोकतान्त्रिक शक्तिहरूबिच साझा एजेन्डामा सहकार्यको दायरा फराकिलो बनाउन आवश्यक छ,’ उनले भने, ‘अहिले देखिएको संकट र चुनौती कुनै एक राजनीतिक धारका लागि मात्र होइन, सम्पूर्ण लोकतान्त्रिक र राष्ट्रहितप्रति प्रतिबद्ध शक्तिहरूका लागि साझा चुनौती हो ।’
उता, एमाले अध्यक्ष ओलीले पछिल्लो सचिवालय बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको रास्वपा सरकार नियोजित रूपमै नेपालको कम्युनिस्ट शक्तिविरुद्ध परिचालित देखिन थालेको भन्दै कम्युनिस्ट शक्तिहरूबिच कार्यगत एकता गरेर जानुपर्ने अवस्था आउन सक्ने बताएका थिए । ‘अहिलेको सरकार एमालेविरुद्ध, वाम आन्दोलनविरुद्ध नियोजित रूपमै परिचालित देखिन्छ, लोकतन्त्रको मूल्य–मान्यता नै समाप्त पार्दै विधि, प्रक्रिया, कानुनी मान्यता सबै मिचेर पार्टी नेताहरूमाथि धरपकडमा लागेको छ, जसरी हुन्छ बदनाम गर्नेतिर लागेको हुनाले पार्टी एकढिक्काका साथ अघि बढ्नुपर्ने आवश्यकता छ,’ मंगलबारको बैठकमा अध्यक्ष ओलीको भनाइ थियो ।
त्यस्तै, उनले एमाले र नेपालका अरू कम्युनिस्ट पार्टीहरूलाई समाप्त पार्न कतिपय विदेशी शक्तिहरू लागेको दाबी गर्दै नेकपासँगको सम्भावित कार्यगत एकताको औचित्य पुष्टि गर्ने कोसिस गरेका थिए । ‘एमाले नरुचाउने, वाम आन्दोलन नरुचाउने कतिपय बाह्य शक्तिहरूका कारण वाम आन्दोलन खतरामा देखिएको छ । तिनीहरूलाई जवाफ दिन पनि वाम आन्दोलनलाई सुदृढ बनाउन समाजवाद पक्षधर पार्टीहरूबिच कुराकानी गरेर जानुपर्ने हुन सक्छ,’ ओलीको भनाइ थियो ।
नेकपाका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले तत्काल पार्टी एकता सम्भव नभए पनि नेकपाले एमालेसहित वामपन्थी शक्तिहरूसँग कार्यगत एकता र सहकार्य गर्ने संस्थागत निर्णय गरिसकेको बताएका छन् । उनले संयोजक प्रचण्डले विराटनगरमा व्यक्त गरेको ‘क्रमभंग’को अभिव्यक्ति पनि यही नीतिअनुसार आएको दाबी गरे । ‘संयोजक प्रचण्डले पार्टीको आधिकारिक नीतिअन्तर्गत नै एमालेसँग सहकार्य गर्दै अघि बढ्ने र त्यसकै सन्दर्भमा ‘क्रमभंग’को कुरा गर्नुभएको हो,’ ज्वालाले भने, ‘हाम्रो केन्द्रीय संयोजन समितिले नेपालका वाम आन्दोलनमाथि स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरूबाट भइरहेको आक्रमणलाई दृष्टिगत गर्दै कम्युनिस्ट आन्दोलनको रक्षा, सुदृढीकरण र जनअपेक्षाको सम्बोधनका लागि वाम तथा समाजवादी शक्तिहरूबिच कार्यगत सहकार्य गर्ने प्रस्ताव संस्थागत रूपमा पारित गरिसकेको छ ।’
ज्वालाले अहिले मदन भण्डारी जयन्तीको सन्दर्भसमेत चलिरहेको उल्लेख गर्दै प्रचण्डको अभिव्यक्तिलाई त्यससँग पनि जोडेर व्याख्या गरे । ‘मदन भण्डारी र मनमोहन अधिकारीले देखेको समृद्ध र एकताबद्ध कम्युनिस्ट आन्दोलनको सपना पूरा गर्न तयार छौँ भन्ने सन्देश उहाँले दिनुभएको हो,’ उनले भने ।
एमाले र नेकपा दुवैतर्फ अध्यक्ष ओली र संयोजक प्रचण्डले नेतृत्व हस्तान्तरण गर्दै पार्टीलाई पुनर्गठनको दिशामा अघि बढाउनुपर्ने दबाब बढिरहेको छ । यही कारण कार्यगत एकता र पार्टी एकताको बहसलाई उनीहरूले पार्टीभित्र आफ्नाविरुद्ध बन्न सक्ने असन्तुष्टि र मोर्चाबन्दीलाई व्यवस्थापन गर्ने रणनीतिक प्रयासका रूपमा समेत हेरिएको टिप्पणीसमेत हुन थालेको छ ।
एमालेले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा कार्यदल गठन गरी चुनावी समीक्षा, संगठन सुदृढीकरण तथा पार्टी पुनर्गठनसम्बन्धी देशव्यापी सुझाव संकलन अभियान सञ्चालन गरिरहेको छ । उता, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बिच एकता भएर नेकपा गठन भए पनि केन्द्रीय कमिटीदेखि भ्रातृ संगठनसम्म एकीकरण प्रक्रिया टुंगोमा नपुग्दा पार्टीभित्र अन्योल र असन्तुष्टि बढ्दै गएको छ । यसैलाई लिएर संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालको नेतृत्वमाथि आलोचना छ ।
वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले दुवै शीर्ष नेताले मार्गप्रशस्त गर्नुपर्ने धारणा राख्दै ३६ पृष्ठ लामो दस्ताबेज सार्वजनिक गरेका छन् । त्यसैगरी पार्टीका युवा नेताहरूले पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग उठाइरहेका छन् ।
कार्यगत एकता नजिकिएको ओलीको ‘इन्टर्नल ब्रिफिङ’पछि प्रचण्डको घोषणा– जीवनकै अन्तिम क्रमभंग गरेर पनि वाम एकता अघि बढाउँछु
एमाले अध्यक्ष केपी ओलीले गत मंगलबारको सचिवालय बैठकमा एमाले र नेपालका अरू कम्युनिस्ट पार्टीहरूलाई समाप्त पार्न कतिपय विदेशी शक्तिहरू लागेको दाबी गर्दै नेकपासँगको सम्भावित कार्यगत एकताको औचित्य पुष्टि गर्ने कोसिस गरेका थिए । ‘एमाले नरुचाउने, वाम आन्दोलन नरुचाउने कतिपय बाह्य शक्तिहरूका कारण वाम आन्दोलन खतरामा देखिएको छ । तिनीहरूलाई जवाफ दिन पनि वाम आन्दोलनलाई सुदृढ बनाउन समाजवाद पक्षधर पार्टीहरूबिच कुराकानी गरेर जानुपर्ने हुन सक्छ,’ ओलीको भनाइ थियो ।
नेकपाका संयोजक प्रचण्डले पनि एमालेसँग संसद्, सडक र निर्वाचनमा कार्यगत सहकार्य हुने लगभग निश्चित भइसकेको उल्लेख गर्दै आफ्नो राजनीतिक जीवनको अन्तिम चरणमा ‘क्रमभंग’ गर्ने तयारीमा रहेको घोषणा गरेका छन् । ‘अहिले सदनमा बलियो उपस्थिति जनाउन पनि सहकार्य आवश्यक भएको छ । सडकमा पनि सहकार्य हुन्छ र आगामी निर्वाचनमा समेत एमालेसँग सहकार्य हुनेछ,’ पार्टीको कोशी प्रदेश कमिटीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भने । तत्कालै पार्टी एकताको सम्भावना भने नभएको भन्दै उनले पहिले पार्टीलाई मंसिरमा हुने महाधिवेशनबाट सुस्पष्ट बनाउने बताए । त्यहीँबाट नयाँ राजनीतिक क्रमको सुरुवात गर्ने उनको दाबी छ । ‘म जस्तोसुकै क्रमभंग गर्न सक्छु । महाधिवेशनले नयाँ क्रमभंग हुनेछ । प्रचण्डको यो अन्तिम क्रमभंग हो, त्यसका लागि तयार रहनुस्,’ उनको भनाइ थियो । नेकपाको केन्द्रीय संयोजन समितिले वामशक्तिहरूसँग कार्यगत एकताको प्रस्तावसमेत पारित गरिसकेको छ । रास्वपाले प्रदेश सभा र संविधान नै खारेज गर्ने एजेन्डा अघि सारेको आरोप लगाउँदै उनले कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याए । ‘अब जाग्ने कि नजाग्ने ? हामी कम्युनिस्ट हुने कि नहुने ? कम्युनिस्ट नभई यो फासीवादविरुद्ध लड्न र जित्न सकिँदैन,’ उनले भने ।
वाम शीर्ष नेताहरू आइतबार एउटै मञ्चमा आउँदै
एमाले अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख वामपन्थी नेताहरू आइतबार एउटै मञ्चमा देखिने भएका छन् । मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार मदन भण्डारी फाउन्डेसनले आयोजना गर्ने विशेष कार्यक्रममा ओली, प्रचण्ड, नेकपाका सहसंयोजक माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनाल र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी हुने कार्यक्रम छ । कार्यक्रमका प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी रहनेछिन् । भण्डारी अहिले एमालेको सक्रिय राजनीतिमा छिन् ।
कम्युनिस्ट शक्तिहरूबिच कार्यगत एकता र सम्भावित पार्टी एकताको बहस तीव्र भइरहेका वेला प्रमुख वाम नेताहरू एउटै मञ्चमा देखिन लागेकाले चासोका साथ हेरिएको छ । यद्यपि, पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव तथा मदन भण्डारी फाउन्डेसनका केन्द्रीय सदस्य राजकुमार राईले नेताहरूको संयुक्त उपस्थिति राजनीतिक सन्देशभन्दा पनि स्वाभाविक संयोग भएको टिप्पणी गरेका छन् ।