समयानुकूल र प्रभावकारी कानुन मस्यौदा गर्न कानुनमन्त्री गौतमको आग्रह

बुधबार, ३ असार, २०८३
डिजिटल संस्करण

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानुनहरू निर्माण गर्न मन्त्रीहरूलाई अनुरोध गरेकी छिन्। बुधबार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग आगामी दिनमा आवश्यक पर्ने कानुन निर्माणका विषयमा छलफल गर्दै मन्त्री गौतमले प्राथमिकताक्रम निर्धारण गरी विधेयकहरू तयार गर्न आग्रह गरेकी हुन्।

कानुन मन्त्रालयमा भएको छलफलमा विज्ञानमन्त्री महावीर पुन, गृहमन्त्री सुधन गुरुङ, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र अर्थ मन्त्रालयका सचिवदेखि पदाधिकारी सहभागी थिए। ‘विधेयकको सूचीहरू तयार गर्नुस्। मन्त्रालयसँग सम्बन्धित भएर आमरूपमा उठेका चासोलाई समेट्नुस्। प्राथमिकताहरू छुट्या्उनुस्। समयमै पठाउनुस्। पछि बिचमा विधेयक ल्याउन पाइँदैन,’ मन्त्री गौतमले भनिन्।

मन्त्रालयहरूको लक्ष्य र नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक कानुनी आधार तयार हुनुपर्ने उनको भनाइ थियो। लक्ष्यलाई व्यवहारमा रूपान्तरण गर्ने माध्यम कानून नै भएको उल्लेख गर्दै उनले प्राथमिकताका आधारमा स्पष्ट कार्यतालिका तयार गरी कानून निर्माण प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिइन्।

विज्ञान मन्त्री पुनले मन्त्रालय हाल अवधारणा विकास तथा नीति तयारीको चरणमा रहेको जानकारी दिँदै सरोकारवालाहरूसँग निरन्तर छलफल भइरहेको बताए। उनले प्राथमिकताका क्षेत्र पहिचान गर्ने काम भइरहेको उल्लेख गर्दै दिगो विकासका लागि अनुसन्धान र नवप्रवर्तन अपरिहार्य रहेको धारणा व्यक्त गरे।

गृहमन्त्री गुरुङले प्राप्त सुझाव तथा प्रतिक्रियाहरूलाई मन्त्रालयले सकारात्मक रूपमा लिएको बताउँदै विद्यमान पुराना कानुनका कारण कतिपय सुधारका प्रयासमा चुनौती देखिएको उल्लेख गरे। उनले सुशासन प्रवर्द्धनका लागि आवश्यक गृहकार्य भइरहेको जानकारी दिँदै दीर्घकालीन, स्थिर तथा व्यावहारिक कानुन निर्माणमा जोड दिए।

ऊर्जा मन्त्री श्रेष्ठले कानुन निर्माण मात्र नभई त्यसको प्रभाव र कार्यान्वयनको परिणामलाई समेत ध्यान दिनुपर्ने उल्लेख गरे। विधायन ऐन, २०८१ को मर्मअनुसार कानून निर्माण प्रक्रियामा कानुन मन्त्रालयले प्रभावकारी नेतृत्व र स्वामित्व ग्रहण गरेको भन्दै उनले प्रशंसा गरे। मन्त्री श्रेष्ठले ऊर्जा तथा लगानीसँग सम्बन्धित क्षेत्रमा विद्यमान कानुनी व्यवस्थाले वर्तमान आवश्यकता पूर्ण रूपमा सम्बोधन गर्न नसकेको उल्लेख गर्दै समयानुकूल सुधारको आवश्यकता औँल्याए। विकास र वातावरण संरक्षणबिच देखिने द्वन्द्वलाई सन्तुलित रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।

अर्थ मन्त्रालयका प्रतिनिधिले आवश्यक विषयहरूको सूची तथा सुझावहरू चाँडै उपलब्ध गराइने जानकारी दिँदै सम्बन्धित विषयमा तयारी र छलफल भइरहेको बताए। समन्वयात्मक ढंगले काम अगाडि बढाउने उनीहरूको प्रतिबद्धता थियो। अर्थमन्त्री उपत्यकाबाहिर भएकाले उपस्थित हुन नसकेको बताइएको छ।

सुझावित समाचार