इसेवाको कर्मचारी हुँ भन्दै ओटिपी मागेर स्क्याम गर्ने २२ वर्षीय युवक पक्राउ

बुधबार, ३ असार, २०८३
डिजिटल संस्करण

इसेवाको कर्मचारी हुँ भन्दै ओटिपी मागेर स्क्याम गर्ने २२ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको साइबर ब्यूरोले रौतहटको खेसरहिया गाविस– १ जन्मस्थान भई माधव नारायण नगरपालिका– २ बस्ने अन्दाजी २२ वर्षीय शुभम साहलाई मंगलबार पक्राउ गरेको हो।

साहले आफू इसेवाको कर्मचारी रहेको भनी याक एण्ड को इन्टरप्राइजेजको इसेवा आइडीमा धेरै रिवार्ड पोइन्ट जम्मा भएर रहेको बताउँदै बारम्बार फोन गरेर ओटिपी मागेका थिए। ओटिपी प्रयोग गरेर उनले याक एण्ड को इन्टरप्राइजेजको खाताबाट एक लाख ९८ हजार ४९९ रुपैयाँ इभोलुसन ट्रेडिङ प्रालिको इसेवामा ट्रान्सफर गरेका प्रहरीले जनाएको छ।

प्रहरीको विज्ञप्तीअनुसार साहले इभोलुसन ट्रेडिङबाट आइफोन १७ खरिद गरी स्क्याम गरी ट्रान्सफर गरेको रकमबाट भुक्तानी गरेको देखिएको छ। उनको साथबाट प्रहरीले चार वटा मोवाइल फोन, चार वटा सिमकार्ड र १५३ जनाको ईसेवा आइडीको मोवाइल नम्वरहरु समेत बरामद गरेको छ।

उनी यसअघि दुईपटक यस्तै प्रकृतिको ठगी मुद्दामा पक्राउ परी अदालतबाट धरौटीमा रिहा भएका पाइएको प्रहरीले जनाएको छ। उनीमाथि विद्युतीय माध्यमसम्वद्ध ठगी अपराध मुद्दामा काठमाडौं जिल्ला अदालतबाट चार दिन म्याद थप भएको छ।

See More On

सुझावित समाचार