राष्ट्रिय स्वतन्त्र पार्टीको दुई दिनदेखि जारी जिल्ला अधिवेशनहरूबाट धमाधम नयाँ नेतृत्व चयन भइरहेका छन् । शनिबार र आइतबारसहित ५५ जिल्लामा अधिवेशनबाट नयाँ नेतृत्व चयन सम्पन्न भइसकेको रास्वपाले जनाएको छ । महाधिवेशनपूर्व ६७ र पछि १० जिल्लामा अधिवेशन गर्ने रास्वपाको योजना छ ।
चयन भएकामध्ये धेरैजसो जिल्लामा सर्वसम्मत र कतिपय जिल्लामा चुनावी प्रक्रियाबाट नेतृत्व छनोट भएको छ । महामन्त्री कवीन्द्र बुर्लाकोटीले सोमबारसम्म उद्घाटन भएका सबैजसो जिल्लामा नयाँ नेतृत्व चयन भइसक्ने र यकिन तथ्यांक आउने बताए ।
अधिवेशन स्थगित भएका जिल्लामा विवाद हल गरी अर्को मिति तय हुनेछ । मिति तय हुन बाँकी जिल्लाहरूको अधिवेशन महाधिवेशनपछि आयोजना गर्ने रास्वपाको तयारी छ । रास्वपा केन्द्रीय कार्यालयका अनुसार आइतबारसम्म कोशी प्रदेशका १४ मध्ये आठ जिल्लामा नयाँ नेतृत्व चयन भएका छन् । मधेश प्रदेशमा महोत्तरी, धनुषा र रौतहटको अधिवेशन स्थगित छ । बागमतीमा काठमाडौंसहित नौ जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । गण्डकी पाँच जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । त्यस्तै, कर्णालीका तीन जिल्लामा नेतृत्व आएको छ ।