भारत भ्रमणबाट फर्किए रवि- ‘कूटनीतिक च्यानलमार्फत सीमा समस्या समाधान’

शनिबार, २३ जेठ, २०८३
डिजिटल संस्करण

भारतको औपचारिक भ्रमणमा गत सोमबार गएका रास्वपा सभापति रवि लामिछाने शुक्रबार स्वदेश फर्किएका छन् । नयाँदिल्लीमा मंगलबार र बुधबार उच्चस्तरीय राजनीतिक भेटवार्ता सम्पन्न गरेका लामिछाने बिहीबार लखनउ हुँदै अयोध्या पुगेका थिए । अयोध्यास्थित भगवान् श्रीराम मन्दिरमा दर्शन तथा पूजाअर्चना गरेपछि उनी दिल्ली विमानस्थल हुँदै शुक्रबार साँझ काठमाडौं फर्किएका हुन् । काठमाडौं फर्किएपछि विमानस्थलमा लामिछानेले भ्रमणबारे यसरी ब्रिफिङ गरे–

‘ढोल बजाएर’ होइन, कूटनीतिमार्फत समाधान 
सीमालगायत कुनै पनि संवेदनशील विषय कूटनीतिक माध्यमबाटै समाधान गर्नुपर्ने मुख्य कुरा हो । यस्ता मुद्दा समाधानका लागि निश्चित चरण हुन्छन् र कूटनीतिक प्रक्रियाका आफ्नै विधि तथा अभ्यास हुन्छन् । सीमा समस्या समाधानका लागि कूटनीतिक च्यानललाई सक्रिय बनाएर अघि बढ्नुपर्छ । यो विषय ‘ढोल बजाएर’ समाधान हुने होइन, बरु कूटनीतिक संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गरेर समाधान खोजिने विषय हो । समस्या समाधानका चरणहरू क्रमबद्ध अघि बढ्छन् र नेपालले पनि यही अभ्यास निरन्तरता दिइरहेको छ । आवश्यक समयमा, आवश्यक ठाउँमा र सही ढंगले आफ्ना धारणा प्रस्तुत गर्ने प्रक्रिया नेपालले सुरु पनि गरेको छ र अहिले पनि निरन्तरता दिइरहेको छ । सीमासँग सम्बन्धित यस्ता संवेदनशील विषय सडक, सदन वा मिडियाको चासोभन्दा अझ जिम्मेवार र संवेदनशील ढंगले अघि बढाइन्छन् ।

नेपाल–भारत सम्बन्धमा पारदर्शिता र नयाँ दृष्टिकोण
पहिले धेरैजसो राजनीतिक भ्रमणहरू बन्द कोठामा हुने र विषयवस्तु सार्वजनिक नहुने अवस्था थियो । तर, यसपटकका छलफलहरू पारदर्शी रूपमा अघि बढाइएका छन् । हामी लुकीछिपी वा अपारदर्शी सम्बन्धको पक्षमा छैनौँ । नेपाल–भारत सम्बन्ध पारदर्शी, स्पष्ट र विश्वासमा आधारित हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । यो प्रक्रिया धेरै विषयहरूको ‘रिसेट’ पनि हो, जसले दुई देशबिचको सम्बन्धलाई अझ सकारात्मक, व्यवस्थित र विश्वासयोग्य रूपमा अघि बढाउन मद्दत पुग्ने विश्वास लिएका छौँ ।

नेपालले आफ्नै क्षमताले गर्न सक्ने धेरै कामहरू छन् भने केही विषयहरू मित्रराष्ट्रहरूको सद्भाव, सहयोग र सहकार्यबाट मात्रै अघि बढ्न सक्छन् । मित्रराष्ट्रसँग हाम्रो अपेक्षा के हो भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । राष्ट्रका रूपमा हामीले आफ्ना प्राथमिकताहरू निर्धारण गरेर सोहीअनुसार छलफल गरेका छौँ र आफ्ना धारणा तथा आवश्यकताहरू स्पष्ट रूपमा राखेका छौँ ।

विकास कूटनीति र सहकार्यमा केन्द्रित छलफल
भ्रमणका क्रममा विभिन्न चरणमा सार्थक र विस्तृत छलफल भएका छन् । हामीले राजनीति, अर्थराजनीति तथा विकास कूटनीतिलाई केन्द्रमा राखेर संवाद अघि बढाएका छौँ । अघिल्लो सरकारका सकारात्मक कामहरूको निरन्तरता, अझै निष्कर्षमा पुग्न बाँकी रहेका विषय तथा अल्झिएका विकास आयोजनालाई कसरी सम्पन्न गर्ने भन्नेलगायत आपसी हितका विविध विषयमा कुराकानी भएको छ ।

बदलिँदो विश्व परिवेशमा धेरै देशहरूले विकास र समृद्धिको क्षेत्रमा उल्लेखनीय फड्को मारिरहेका छन् । तर, हाम्रो देशमा राजनीतिक अस्थिरता कायम रहँदा नेपाल केही हदसम्म समृद्धिको यात्रामा पछाडि परेको अनुभूति गरिएको छ । हाम्रा छिमेकी राष्ट्रहरूले हासिल गरेको प्रगति पनि प्रेरणादायी छ । अब नेपालले पनि त्यो गतिलाई समात्दै अघि बढ्नुपर्ने आवश्यकता छ । यिनै विषयलाई केन्द्रमा राखेर विभिन्न तहमा भेटवार्ता र छलफलहरू भएका छन् ।

निरन्तर संवादबाट समस्याको समाधान
यो भ्रमण भारतीय जनता पार्टी (भाजपा)का अध्यक्षको निमन्त्रणामा सम्पन्न भएको हो । एक देशको सत्तारूढ दल र अर्को देशको प्रमुख राजनीतिक दलबिच सरकार सञ्चालन, पार्टी व्यवस्थापन तथा आपसी सहकार्यका विविध विषयमा स्वाभाविक रूपमा छलफल हुने गर्छ । यस क्रममा उच्च राजनीतिक तहमा महत्वपूर्ण भेटघाटहरू सम्पन्न भएका छन् ।

हामीले विकास कूटनीतिलाई केन्द्रमा राखेर भेटवार्ता गरेका छौँ । नेपालले विकास र समृद्धिको यात्रामा हासिल गर्नुपर्ने लक्ष्य तथा त्यसका लागि आवश्यक सहकार्यका विषयमा गम्भीर छलफल भएको छ ।

त्यसैगरी द्विपक्षीय सम्बन्धसँग जोडिएका विभिन्न कूटनीतिक विषयको संवेदनशीलतालाई ध्यानमा राख्दै ती विषयमा निरन्तरता दिने गरी सकारात्मक संवाद भएका छन् ।

प्रधानमन्त्रीको अभिव्यक्तिबारे– सरकार नै ढालुँला जसरी धेरै न्वाइज नदिँदा राम्रो हुन्छ
परराष्ट्र मामिलासँग सम्बन्धित विषय पार्टीको हुँदैन, देशको हुन्छ । प्रधानमन्त्रीले बोलेको विषयमा परराष्ट्र मन्त्रालयले आधिकारिक रूपमा हामीले भन्न खोजेको के हो, प्रधानमन्त्रीको वास्तविकता र भनाइ सार्वजनिक गरिसकेपछि योभन्दा बढी आधिकारिक माग्नु आवश्यक देख्दिनँ । परराष्ट्रले जे भन्यो, सरकारको स्पष्टीकरण त्यही हो । हामी राजनीतिक अस्थिरताका पक्षमा छैनौँ, स्थिरताका पक्षमा छौँ । निर्वाचनअघि गरेका हाम्रा भनाइहरू हेर्नुहोला । सधैँभरि किचलोको वातावरण सिर्जना गर्नुहुँदैन । हामी जे सुधार्नुपर्नेछ, सुधार्नेछौँ । ध्यानाकर्षण हुनुपर्ने विषयमा सचेत हुन्छौँ । यसैबाट सरकार नै ढालुँलाजसरी धेरै न्वाइज नदिँदा राम्रो हुन्छ ।

नेपाल र भारतको सम्बन्ध गहिरो त्यतिवेला हुन्छ जब समृद्धिको बाटोमा हामी पनि सँगसँगै हिँड्छौँ । आइटीदेखि खेलकुदसम्मको फराकिलो तस्बिरबारे कुराकानी गरेको छु । सहकार्यले सम्बन्ध अघि बढ्न सक्छ । विगतमा भएका कमजोरीको भारी बोक्नुपर्दैन । हामी विकास कूटनीतिमार्फत समृद्धिको यात्रामा अघि बढ्न तयार छौँ, आपसी सम्मान र हितका आधारमा अघि बढ्न चाहन्छौँ भन्ने सन्देश दिएको छु ।

स्वागतको पनि अर्थ लगाउन थालियो भने त के राम्रो होला र !
तामझाम तपाईँहरूलाई लागेको होला, मलाई लागेन । कुन अतिथिलाई कसरी सत्कार गर्ने भन्ने कुरा बोलाउने पक्षले निर्णय गर्ने कुरा हो । असाध्यै प्रेमपूर्वक स्वागत भयो भनिएको छ । हामीलाई गरिएको स्वागत हामी नेपाल र नेपालीका लागि हो । नागरिकको सम्मान हो । राम्रो स्वागतको पनि अर्थ लगाउन थालियो भने त के राम्रो होला र ।

प्रधानमन्त्रीको भारत भ्रमण उपयुक्त समयमा हुन्छ
भाजपा अध्यक्ष र प्रधानमन्त्रीज्यूलाई बोलाएको छु । उहाँहरूले आउँछौँ भन्नुभएको छ । दुईतर्फ अनुकूल हुने गरी जहिले जुर्नेछ, भ्रमण हुनेछ ।
 

सुझावित समाचार