- दाइजो प्रथाका दोषीलाई कडा कारबाही र पीडितलाई राज्यले पुनर्स्थापन गरी सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्छ
दाइजोको मागबाट प्रेरित भएर कर्मघर (पतिको घर)मा सासू–ससुराको शंकास्पद गतिविधिपछि धेरै युवतीको मृत्यु भएका घटनाले कडा कानुन, जागरुकता अभियान, महिला सशक्तीकरण र शिक्षाका बाबजुद पनि यो जोखिम हटाउन धेरै ध्यान दिइएको देखिन्न । उदाहरणका लागि तविसा शर्माको घटनालाई लिनुहोस् । शर्माको शंकास्पद मृत्युपछि उनीबारे अपमानजनक ढङ्गले बोल्ने सासू एक सेवानिवृत्त न्यायाधीश हुन् । त्यसैले, शर्माको मृत्युको अनुसन्धानलाई प्रभाव पारिने ठुलो सम्भावना देखिन्छ । कानुनको निष्पक्षतामा जनताको विश्वास कमजोर बनाउने काम भएको भन्दै चौतर्फी प्रश्न उठिरहेका छन् । प्रहरीले प्रमाणको गलत प्रयोग गरेको आरोप र एफआइआरमा विसंगतिदेखि लिएर पतिलाई फेला पार्न र पक्राउ गर्नमा भइरहेको ढिलाइसम्मका विषयले विभिन्न प्रश्न खडा गरेका छन् ।
भारतमा दाइजोको विषयलाई लिएर महिलामाथि हुने यातना र त्यसपछि शंकास्पद मृत्युको तथ्यांक डरलाग्दो छ । राष्ट्रिय अपराध अभिलेख ब्युरोको २०२४ को तथ्यांकअनुसार सो वर्ष पाँच हजार सात सय ३७ जनाको दाइजोकै कारण मृत्यु भएको थियो । दाइजोका कारण महिलाको मृत्यु हुने सूचीमा भारतीय राज्य उत्तर प्रदेश शीर्ष स्थानमा छ, त्यसपछि बिहार, मध्यप्रदेश, राजस्थान र पश्चिम बंगाल छन् । सहरमध्ये, दिल्ली सूचीको अग्रस्थानमा छ । बेंगलुरुमा पनि दाइजोसँग सम्बन्धित उत्पीडनका घटना उच्च छन् । आफ्नो साक्षरता दर र महिला शिक्षामा गर्व गर्ने केरलाजस्ता राज्य पनि दाइजोको सामाजिक स्वीकार्यताबाट प्रभावित छन् । दाइजोको दबाबका कारण भयानक चोटपटक लागेका वा आत्महत्या गरेका तर रिपोर्ट नगरिएका धेरै विवरण समाजमा लुकाइएका छन् ।
दाइजो भन्नासाथ दुलहीका आमाबाबुले छोरीलाई विवाह गरेर दिएकै आधारमा उनका पति वा सासू–ससुरालाई ठुलो आर्थिक तथा भौतिक सम्पत्ति दिनु भन्ने बुझिन्छ । कतिपय अवस्थामा यस्तो रकम पतिको घरका सदस्यले माग गर्छन् । कतिपय अवस्थामा विवाहपछि रकम दिने सर्तमा विवाह गरिन्छ । त्यसैले, सासू–ससुराले दाइजो माग्न धक मान्दैनन् । आमाबाबु मूकदर्शक बन्दा पतिको घरमा छोरीलाई बन्धक बनाइन्छ । सामाजिक अनुसन्धान केन्द्रकी निर्देशक रञ्जना कुमारी भन्छिन्, ‘दाइजोको परम्परागत अभ्यास धेरै नवदुलहीका लागि ‘मृत्युदण्ड’ बनेको छ । यो महिलाका लागि केवल व्यक्तिगत त्रासदी मात्र होइन, दाइजोले गहिरो सामूहिक सामाजिक असफलतालाई प्रतिबिम्बित गर्छ । कडा कानुनका बाबजुद समाज दाइजो उन्मूलन गर्न असफल भएको छ ।’
प्रायः आमाबाबु आफ्ना छोरीहरूलाई बचाउन समयमै उचित कदम चाल्न छाडेर मौन रहन्छन् । यो मौनता, सामाजिक अवस्था र कलंकको डरले दाइजोसँग सम्बन्धित दुर्व्यवहार र मृत्युको चक्रलाई बलियो बनाइरहन्छ । आमाबाबुलाई प्रायः थाहा हुन्छ कि छोरीले आफ्नो वैवाहिक घरमा पीडा भोगिरहेकी छिन्, तर उनलाई ‘सहनशील’ हुन सम्झाइन्छ । उनीहरूले आफ्नी छोरीको समर्थनमा बोल्दा पतिले माइत पठाउँछन् । उनीहरूलाई राम्रोसँग थाहा छ कि माग र दुर्व्यवहार रोकिनेछैन । समाजमा आफ्नो तथाकथित ‘सम्मान’ कायम राख्न दुलहीका बाबुआमाले कुनै कदम चाल्दैनन् ।
यहाँ दुर्व्यवहारका दृश्यात्मक संकेत देख्ने तर आफ्ना छोरीहरूलाई माइत फर्काउन नसक्ने आमाबाबु निर्दोष युवतीको मृत्युमा जिम्मेवार हुन्छन् । विवाहमा उनीहरूको आर्थिक र सामाजिक लगानीका कारण उनीहरूलाई यसलाई कुनै न कुनै रूपमा सहनुपर्छ भन्ने लाग्छ । दाइजोको जड पितृसत्तात्मक समाजसँग जोडिएकाले महिला सधैँ अन्यायको जाँतोमा पिल्सिँदै आएका छन् । दाइजो प्रथाका दोषीलाई कडा कारबाही र पीडितलाई राज्यले पुनर्स्थापन गरेर सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्छ । पुनर्स्थापनाका लागि राज्यद्वारा सञ्चालित घर छन्, तर पहिल्यै आघातमा परेका महिलाका लागि यी घर उनीहरूको रोजाइ बन्न सक्दैनन् ।
राजनीतिक दलहरूले नारी शक्तिप्रति आफ्नो प्रतिबद्धताबारे कुरा गर्छन्, तर दाइजो प्रथाविरुद्ध उनीहरूले कडा कदम चाल्न सकेका छैनन् । दाइजोका घटनाले दुर्लभ अवस्थामा मात्र आक्रोश उत्पन्न गर्छन् । हालैका घटनामाथिको आक्रोश चाँडै नै शान्त हुनेछ । तर, धेरै महिला अझै पनि यस अभ्यासमा जरा गाडेका सबै दुष्टताबाट खतरामा पर्नेछन् ।
(पनिकर हिन्दुस्तान टाइम्सकी स्तम्भकार हुन्)
हिन्दुस्तान टाइम्सबाट