अमेरिकी सार्वजनिक कूटनीतिसम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सले काठमाडौंमा आयोजित एसेन्ट समिट २०२६ कार्यक्रममा मुख्य मन्तव्य प्रस्तुत गरेकी छिन्।
अमेरिकी तथा नेपाली व्यवसायीहरूलाई लाभ पुर्याउने नवप्रवर्तन र आर्थिक साझेदारीहरूको विस्तारका अवसरहरूलाई बढवा दिँदै उनी प्रतिनिधिसभाकी सांसद तथा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिकी सभापति सुम्निमा उदास, प्रख्यात पर्वतारोही कनर्याड एंकर, पर्वतारोहण अभियानका अगुवा, नवप्रवर्तक, आरोही, उद्धार पेसाकर्मी, पर्वतारोहण सामग्री व्यवसायी, पत्रकार र नेपाल तथा विश्वभरका पर्यटन क्षेत्रका नेतृत्वकर्ताहरूसँग सामेल भएकी हुन् ।
आज काठमाडौंमा आयोजित उक्त कार्यक्रममा बोल्दै उपविदेशमन्त्री रोजर्सले नेपाल र अमेरिकाबिच पर्वतारोहण, पर्यटन र नवप्रवर्तनमा आधारित साझेदारी थप बलियो बन्दै गएको बताइन् ।
उनले हिमालयले दुई देशलाई विशेष रूपमा जोडेको उल्लेख गर्दै साहस, अन्वेषण र सहकार्यले सम्बन्धलाई अझ गहिरो बनाएको धारणा राखिन् ।
कार्यक्रममा हिमाली क्षेत्रका विभिन्न व्यक्तित्व, पर्वतारोही, सांसद तथा सरोकारवाला पक्षहरूको उपस्थिति रहेको थियो । सन् २०२५ मा एक लाख १२ हजार अमेरिकी पर्यटक नेपाल आएको उल्लेख गर्दै उनले अमेरिकी पर्यटकहरूले नेपालको पर्यटन तथा स्थानीय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याएको बताइन् ।
रोजर्सले अमेरिका आगामी दिनमा पनि नवप्रवर्तन, प्रविधि र उद्यमशीलताको क्षेत्रमा नेपालको विश्वासिलो साझेदार रहने प्रतिबद्धता व्यक्त गरिन् ।