शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्षको बजेट शिक्षा र खेलकुद क्षेत्रको संरचनात्मक रूपान्तरणतर्फ केन्द्रित रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले बजेटले गुणस्तरीय, प्रविधिमैत्री र प्रतिस्पर्धी शिक्षा प्रणाली निर्माणको आधार तयार गर्ने प्रयास गरेको उल्लेख गरेका छन् ।
मन्त्री पोखरेलका अनुसार विद्यालयको राष्ट्रिय नक्सांकन, शैक्षिक पूर्वाधार अडिट, शिक्षक क्षमता परीक्षण तथा कृत्रिम बौद्धिकता (एआई) र ‘एड टेक’ तयारीको मूल्यांकनमार्फत शिक्षा प्रणालीलाई आधुनिक बनाउने लक्ष्य राखिएको छ ।
उच्च शिक्षामा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै चिकित्सा, नर्सिङ र सूचना प्रविधि शिक्षामा कोटा विस्तार गर्ने नीति लिइएको मन्त्री पोखरेलले बताएका छन्। साथै अन्तर्राष्ट्रिय विश्वविद्यालयलाई नेपालमा आकर्षित गर्ने, सिपमूलक शिक्षा प्रवर्द्धन गर्ने तथा पारिश्रमिकसहितको इन्टर्नसिप प्रणाली लागू गरी युवालाई विश्वस्तरीय प्रतिस्पर्धाका लागि तयार पार्ने लक्ष्य बजेटमा समेटिएको उनले उल्लेख गरेका छन् ।
उनले एआई र गणितलाई भविष्यको शैक्षिक आधारका रूपमा अघि बढाउने नीति बजेटमा समावेश गरिएको जानकारी दिँदै शिक्षा क्षेत्रका लागि कुल दुई खर्ब १८ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरिएको बताएका छन् ।
खेलकुदतर्फ आगामी तीन वर्षभित्र कम्तीमा आठ हजार दर्शक क्षमता भएका १० वटा फुटबल रंगशालालाई फ्लडलाइटसहित स्तरोन्नति गर्ने तथा प्रमुख आठ सहरमा आधुनिक क्रिकेट रंगशाला र सात सहरमा इन्डोर मल्टिपर्पोज स्टेडियम निर्माण गर्ने लक्ष्य रहेको मन्त्री पोखरेलले बताएका छन् ।
विद्यालय तहबाटै खेल प्रतिभा पहिचान गरी आवासीय प्रशिक्षणको व्यवस्था गर्ने, अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन नि:शुल्क स्वास्थ्य उपचार उपलब्ध गराउने तथा खेल पूर्वाधार विस्तारमार्फत खेल क्षेत्रलाई युवा विकास र अर्थतन्त्रसँग जोड्ने नीति लिइएको उनले बताएका छन् । खेलकुद क्षेत्रका लागि चार अर्ब तीन करोड रुपैयाँ विनियोजन गरिएको छ ।
सीमित स्रोतसाधन र समयचापबिच तयार भएको बजेटलाई सुधारको प्रारम्भिक आधारका रूपमा व्याख्या गर्दै मन्त्री पोखरेलले ज्ञान, सिप, नवप्रवर्तन र युवा शक्तिमार्फत मुलुकको दीर्घकालीन विकासको आधार निर्माण गर्ने संकल्प व्यक्त गरेका छन् । साथै उनले बजेट निर्माणमा संलग्न सबैलाई धन्यवाद दिँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई विशेष धन्यवादसमेत व्यक्त गरेका छन् ।