शनिबारदेखि ‘कर्णाली छोरी सम्मेलन’को दोस्रो संस्करण हुँदै

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण

‘कर्णाली छोरी सम्मेलन’को दोस्रो संस्करण जेठ १६ गते शनिबारदेखि आयोजना हुने भएको छ। श्री ज्योति फाउन्डेसनको आयोजनामा बालिका, किशोरी तथा महिलामाथि हुने लैंगिक विभेद, बालविवाह, छाउपडी कुप्रथा, घरेलु हिंसा, यौन दुर्व्यवहार  र मानव बेचबिखनलगायत सामाजिक कुरीतिविरुद्ध आवाज उठाउने उद्देश्यसहित ‘कर्णाली छोरी सम्मेलन–२०८३’ हुने लागेको हो ।

छोरी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको श्री ज्योति फाउन्डेसनकी अध्यक्ष ज्योति कटुवालले बताइन्। ‘सम्मेलन शनिबार र आइतबारसम्म सुर्खेतको वीरेन्द्रनगरनमा सञ्चालन हुनेछ,’ उनले भनिन्, ‘सम्मेलनमा कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहबाट दुई–दुईजना छोरीहरूको सहभागिता रहनेछ।’

साथै राउटे, राजी, कुसुन्डा, बादी र बोटे समुदायका छोरीहरू, अपांगता भएका तथा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका सहभागी गरी करिब दुई सय ५० भन्दा बढीको उपस्थिति रहने फाउन्डेसनका अध्यक्ष कटुवालले बताइन् ।

‘सम्मेलनको मुख्य उद्देश्य लैंगिक तथा जातीय विभेद, महिला हिंसा, बालविवाह, घरेलु हिंसा, मर्यादित महिनावारी र छाउपडीजस्ता विषयमा व्यापक छलफल गर्नुका साथै सम्मेलनबाट प्राप्त निष्कर्षलाई तीन तहका सरकारसमक्ष सुझावका रूपमा प्रस्तुत गर्नु रहेको छ,’ उनले भनिन्, ‘दुईदिने सम्मेलन अवधिभर कर्णालीका ८५ जना छोरीहरूले आफ्ना जीवन संघर्षका अनुभव प्रस्तुत गर्नेछन् ।’

फाउन्डेसनले यसअघि २०८२ वैशाख २७ देखि २९ गतेसम्म पहिलो कर्णाली छोरी सम्मेलन सम्पन्न गरेको थियो ।

सुझावित समाचार