आप्रवासीको दुर्दशा रोक्न उचित कदम चालियोस्

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण
  • आप्रवासीको अवैध ओसारपसार रोक्न सरकारले निश्चित मुलुकमा वैदेशिक रोजगारीमा प्रतिबन्ध लगाउनुपर्छ 

देशका धेरै युवाको जीवन, आकांक्षा र भविष्यमाथि अनियमित बसाइँसराइले कसरी निरन्तर आक्रमण गरिरहेको छ भन्ने कुरा हेर्नु साँच्चै पीडादायी छ । मानव बेचबिखन सञ्जालमार्फत लिबिया यात्रा गरेपछि बंगलादेशको शरीयतपुरका १८ र मदारीपुरका पाँचजना गरी कम्तीमा २३ युवा दुई वर्षभन्दा बढी समयदेखि बेपत्ता हुनु यो पीडादायी वास्तविकताको अर्को सम्झना हो । आफ्ना प्रियजनको मृत्यु भयो वा उनीहरू जीवितै छन् भनेर थाहा पाउन नसक्दा तिनका परिवार असह्य पीडामा बाँचिरहेका छन् । दुई वर्षदेखि उनीहरूको वास्तविक अवस्था सार्वजनिक नभएको अवस्थामा सरकारले कूटनीतिक च्यानललाई सक्रिय पारेर उनीहरूको खोजी प्रयास तीव्र पार्नुपर्छ ।

रिपोर्टअनुसार मानव तस्करहरूले सामान्य आर्थिक अवस्था भएका परिवार, विदेशबाट फर्केका आप्रवासी र विदेशमा आर्थिक अवसर खोजिरहेका सोझासाझा युवालाई लक्षित गर्छन् । केही समुदायमा युरोपमा बसाइँसराइ सामाजिक संरचनामा गहिरो रूपमा गाँसिएको छ, जहाँ खतरनाक यात्रालाई प्रायः गम्भीर जोखिमको सट्टा समृद्धिको सामान्य मार्गका रूपमा हेरिन्छ । युरोपेली मुलुकमा रोजगारीका लागि जानुलाई सम्मानका रूपमा हेरिने भ्रम छ, जसका कारण सयौँ युवा आफ्नो जीवनको पर्वाह नगरी जोखिम मोल्न हतारो गर्छन् ।  

तस्करहरूले यो धारणाको फाइदा उठाउँछन् । युवालाई वर्षौंको अस्थिरता र अराजकताले टुक्रिएको देश लिबिया पुग्नुअघि धेरै देशमा स्थानान्तरण गरिएको रिपोर्ट आएको छ । धेरैलाई तथाकथित ‘गेम घर’ (मनोरञ्जनका लागि प्रयोग गरिने कोठा) मा समाप्त गरिन्छ, जहाँ आप्रवासीलाई खतरनाक भूमध्यसागरीय ‘क्रसिङ’ अघि राखिन्छ । अन्तर्राष्ट्रिय संस्थाहरू र अधिकार समूहहरूले यी सञ्जालभित्र यातना, जबर्जस्ती श्रम र दुर्व्यवहारको दस्ताबेजीकरण गरेका छन् । कतिपय युवालाई बेपत्ता पारेर लामो समयसम्म श्रममा राख्ने गरेको विवरण त्यहाँबाट ज्यान जोगाई भागेर आएका आप्रवासीले बताउने गरेका छन् ।

संयुक्त राष्ट्र संघले बंगलादेशीहरू अहिले खतरनाक मध्य–भूमध्यसागरीय मार्ग हुँदै इटली जाने प्रयास गर्ने सबैभन्दा ठुला समूहमध्ये एक भएको बताएको छ । जोखिमका बाबजुद पनि प्रत्येक वर्ष हजारौँ बंगलादेशीले लिबिया हुँदै इटली जाने गरेको पाइन्छ । रिहा गरिएका आप्रवासीको स्वदेश फिर्तीमा आप्रवासीका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम) र लिबियास्थित बंगलादेशको दूतावासले सहयोग गरे पनि लिबियाली हिरासत केन्द्रमा हाल राखिएका बंगलादेशीको संख्या र अवस्था भने अज्ञात छ । यसबाहेक, दुर्व्यवहार र आप्रवासी मृत्युका विभिन्न रपोर्टका बाबजुद, बेचबिखन सञ्जालले दण्डहीनतासाथ काम गरिरहेका छन् । दलाल र तस्करविरुद्ध मुद्दा दायर गरेका धेरै पीडित परिवारले धम्की र प्रतिशोधको सामना गरेका छन् र केहीले त उल्टै प्रति–मुद्दाको सामना पनि गरेका छन् । त्यसो भए, बेचबिखनपीडित र उनीहरूका परिवारलाई कस्तो प्रकारको राज्य सुरक्षा र समर्थन उपलब्ध छ ?

हामी सरकारलाई हाम्रा युवाको बेचबिखन अन्त्य गर्न तत्काल र दृढतापूर्वक काम गर्न आग्रह गर्छौं । यस्ता बेचबिखन सञ्जाल पहिचान गर्ने र भत्काउने प्रयासलाई तीव्र बनाउनुपर्छ र गिरोहका नेतालाई न्यायको कठघरामा ल्याउनुपर्छ । कानुनी कारबाहीको माग गरिरहेका परिवारलाई धम्की र उत्पीडनबाट जोगाउनुपर्छ । बेपत्ता आप्रवासीको खोजी गर्न र ट्रान्जिट देशमा अन्तर्राष्ट्रिय एजेन्सी र अधिकारीसँग समन्वय सुधार गर्न कूटनीतिक प्रयासलाई बलियो बनाउनुपर्छ । साथै, युवालाई दक्ष बसाइँसराइका लागि सुरक्षित र थप पहुँचयोग्य मार्गका साथै स्वदेशमै बढी आर्थिक र उद्यमशीलताका अवसर आवश्यक पर्छ । जबसम्म मानिसलाई बेचबिखनको जोखिममा पार्ने अवस्थालाई सम्बोधन गरिँदैन, यो चक्र जारी रहनेछ । यसका लागि सर्वप्रथम सरकारले युवालाई स्वदेशमै रोजगारीका विभिन्न अवसर खडा गर्नुपर्छ र विभिन्न उद्योगधन्दा स्थापनाका साथै कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्छ । आप्रवासीको अवैध ओसारपसारलाई रोक्न सरकारले निश्चित मुलुकमा वैदेशिक रोजगारीमा प्रतिबन्ध लगाउनुपर्छ । यसका लागि नयाँ नियम बनाइनुपर्छ । विदेश जान बाध्य भएका व्यक्तिले आफ्ना तर्फबाट पनि राम्रोसँग बुझेर मात्र उचित कदम चाल्नुपर्छ

– बंगलादेशको डेली स्टारको सम्पादकीय
 

सुझावित समाचार