बुटवल उवासंघको टोली अध्ययन भ्रमणमा

मंगलबार, १२ जेठ, २०८३
डिजिटल संस्करण

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको टोली पूर्वका विभिन्न उद्योग वाणिज्य संघहरूको संस्थागत भ्रमणमा निस्किएको छ । नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्यसमेत रहेको संघले ६ दिने भ्रमणमार्फत पूर्वका संघहरूको असल अभ्यास, कार्यक्रम तथा उद्योग–व्यवसाय क्षेत्रका अनुभव आदानप्रदान गर्ने जनाएको छ ।

संघका अध्यक्ष हरिप्रसाद अर्यालका अनुसार भ्रमणका क्रममा विभिन्न उद्योग वाणिज्य संघसँग अन्तर्क्रिया गर्नुका साथै उद्योगी–व्यवसायीहरूले भोगिरहेका समस्या र समाधानका उपायबारे छलफल गरिनेछ ।

साथै, औद्योगिक क्षेत्र, कृषि फार्म तथा कृषि पकेट क्षेत्रहरूको स्थलगत अवलोकनसमेत गरिने कार्यक्रम रहेको छ। अध्यक्ष अर्यालले अध्ययन भ्रमणबाट पूर्वका सफल अभ्यासलाई रुपन्देही क्षेत्रमा अनुसरण गर्न सहयोग पुग्ने तथा नयाँ लगानीका सम्भावित क्षेत्र पहिचान गर्नसमेत मद्दत मिल्ने विश्वास व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्यसमेत रहेका अर्यालको नेतृत्वमा रहेको भ्रमण टोलीमा वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उद्योग उपाध्यक्ष सुरज भट्टराई, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, महासचिव मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष वसन्तप्रसाद ढकाल, कार्यसमिति सदस्यहरू नरीश्वर शर्मा पौडेल, निर्मित कसजू, दीपक चापागाईं, काशिराम पौडेल, जमुना पौडेल, रेनु श्रेष्ठ, सुनिता शर्मा घिमिरे, विष्णु (कमला) घिमिरे, बालकृष्ण पौडेल, दीपक घिमिरे, लक्ष्मण ज्ञवाली तथा सचिवालयबाट कार्यकारी निर्देशक मदनकुमार कार्की र वरिष्ठ कार्यलय सहायक लेखनाथ ज्ञवालीसहित सहभागी छन्।

भ्रमण टोलीले चितवन, मकवानपुर, वीरगन्ज, जनकपुर, लहान, सप्तरी, धरान, विराटनगर, दमक, बिर्तामोड, भद्रपुर, इटहरी, उदयपुर, सिन्धुलीलगायत १६ वटा उद्योग वाणिज्य संघसँग भेटघाट तथा अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको संघले जनाएको छ।
 

सुझावित समाचार