यी हुन् प्रहरी छानबिनमा तानिएका ६९ कन्सल्टेन्सी
दर्ता नभएका र मापदण्डविपरीत सञ्चालित शैक्षिक परामर्श केन्द्रमाथि प्रहरीले छानबिन थालेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयसँग समन्वय गरी प्रहरीले ६९ यस्ता कन्सलटेन्सीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार ९५ कन्सलटेन्सीमा छापा हानेर सञ्चालक पक्राउ गरेको हो । पक्राउ परेकालाई सोमबार अदालतमा उपस्थित गराइने एसपी रामेश्वर कार्कीले बताए। पक्राउ परेका केही कन्सलटेन्सीविरुद्ध उजुरी समेत परेको छ ।
मौखिक यौनजन्य दुर्व्यवहार गर्नेलाई सेवाबाट बर्खास्ती गर्नु कानुनसम्मत: सर्वाेच्च अदालत
सर्वोच्च अदालतले मौखिक र शारीरिक यौन दुर्व्यवहार उत्तिकै गम्भीर रहेको भन्दै यसका कारण पनि सेवाबाट बर्खास्तको निर्णय गर्न सकिने जनाएको छ। महिलाको संवेदनशील अंगका बारेमा गरेको टिप्पणीका कारण जागिर गएपछि अदालत पुगेको एक मुद्दामा सर्वाेच्चले यस्तो व्याख्या गरेको हो।
न्यायाधीशहरू हरिप्रसाद फुँयाल र सुनीलकुमार पोखरेलको इजलासले गत ८ फागुनमा यस्तो फैसला गरे पनि हालै पूर्णपाठ सार्वजनिक भएको हो। यौनजन्य दुर्व्यवहार निवारण ऐनको दफा ४ लाई आधार मानी अदालतले यस्तो जनाएको हो। ‘प्रस्तुत मुद्दामा प्रत्यर्थीले पीडित महिलाको शरीरका संवेदनशील अंगहरूसम्बन्धी प्रत्यक्ष र अनुचित मौखिक टिप्पणी गरेको तथ्य यौनजन्य दुर्व्यवहारको कानुनी परिभाषाको परिधिभित्र पर्ने देखिन्छ,’ फैसलामा भनिएको छ।
प्लान इन्टरनेसनलका लजिस्टिक कोअर्डिनेटर नेत्रबहादुर श्रेष्ठले ०७३ चैत्रमा कार्यालय समयमा एक ज्यालादारी कर्मचारीलाई उनको अंगको बारेमा अनुचित टिप्पणी गरेको उजुरी कार्यालयको मानव संसाधन विभागमा परेको थियो। सोही आधारमा उनी बर्खास्त भएका थिए। श्रेष्ठले उक्त निर्णयविरुद्ध श्रम अदालत पुगेका थिए, जहाँबाट उनले क्षमा मागेको, पुनः नदोहोर्याउने प्रतिबद्धता गरेकोजस्ता आधारमा सेवाबाट हटाउने कठोर सजाय न्यायोचित नहुने फैसला भएको थियो।
केन्द्रीय कारागारबाट दुई दिनअघि फरार महिला कैदी अझै फेला परिनन्
सुन्धारास्थित केन्द्रीय कारागारबाट दुई दिनअघि फरार एक कैदी अझै फेला पर्न सकेको छैन।
शरीर बन्धक र ज्यान मार्ने उद्योगमा कैद सजाय भुक्तान गरिरहेकी २५ वर्षीया सपना तामाङ शुक्रबार बिहान साढे १ बजे फरार भएकी थिइन्। तामाङ केन्द्रीय कारागारस्थित महिला बन्दी गृहमा थिइन्। उनी बन्दीगृहस्थित महिला ब्लकको पर्खाल नाघेर फरार भएकी थिइन्।
सिंहदरबारमा स्वास्थ्य बिमाको सुधार र पुनर्संरचनामाथि विज्ञहरूको बहस
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको समन्वयमा पार्टीको स्वास्थ तथा जनसंख्या विभागले स्वास्थ्य बिमालाई सबल, प्रभावकारी र जनमुखी बनाउने उद्देश्यसहित ‘स्वास्थ्य बिमा सबलीकरणको मार्गचित्र’ विषयमा नीति मन्थन गरेको छ।
सिंहदरबारस्थित कानुन विभागको हलमा आइतबार सम्पन्न कार्यक्रममा स्वास्थ्य क्षेत्रका विज्ञ, नीति निर्माता, कानुनविद् तथा सूचना प्रविधिविज्ञहरूले स्वास्थ्य बिमाको दिगोपन, वित्तीय स्रोत, व्यवस्थापन र कानुनी पक्षबारे आफ्ना धारणा राखेका थिए।
स्वास्थ्य विभाग प्रमुख डा. तोसिमा कार्कीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेपछि डा. दीपेन्द्र पाण्डेले ‘स्वास्थ्य बिमाका विद्यमान समस्या र चुनौतीः हामी कहाँ चुक्यौँ?’ विषयमा कन्टेक्स्ट सेटिङ प्रस्तुति दिएका थिए। उनले स्वास्थ्य बिमाको कार्यान्वयनमा देखिएका नीतिगत कमजोरी, सेवाप्रदायक संस्थासँगको समन्वय अभाव तथा नागरिकको विश्वास घट्दै गएको अवस्थाबारे चर्चा गरे।
फेरिए सिंहदरबारका मन्त्रालयका साइनबोर्ड (फोटोफिचर)
सिंहदरबारमा मन्त्रालयहरूका साइन बोर्ड फेरिएका छन् । सरकारले कार्यविभाजन गरेर अधिकांश मन्त्रालयहरूको एकीकरण (मर्ज) गरेपछि मन्त्रालयहरूको बोर्ड पनि फेरिएका हुन् ।
अहिले सिंहदरबारमा मन्त्रालयहरूको बोर्ड फेर्ने काम धमाधम चलिरहेको छ । प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनमा सुधार ल्याउन सरकारले मन्त्रालयहरूको संख्या घटाएको छ ।
मन्त्रिपरिषद्को गत बुधबार बसेको बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली जारी गरेर मन्त्रालयहरूको संख्या घटाएको थियो । नियमावलीले मन्त्रालयहरूको संख्या प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ मा सीमित गरेको छ । यसअघि २२ वटा रहेको मन्त्रालय संख्या चारवटाले कटौती गरिएको छ ।
कुवेत एयरवेजले मंगलबारबाट नियमित उडान भर्दै
मध्यपूर्वमा देखिएको तनावका कारण केही महिनादेखि रोकिएको कुवेत एयरवेजले आगामी मंगलबारदेखि काठमाडौंमा नियमित उडान पुनः सुरु गर्ने भएको छ। यसअघि सातामा दुई उडान गर्दै आएको एयरवेजले गत फेब्रुअरी १ देखि अनिश्चितकालका लागि सेवा स्थगित गरेको थियो।
मध्यपूर्वको अवस्था केही सहज बन्दै गएपछि कम्पनीले नयाँ उडान तालिका सार्वजनिक गरेको हो। तालिकाअनुसार अब काठमाडौं–कुवेत उडान हरेक मंगलबार र बिहीबार सञ्चालन हुनेछ।
सिंहदरबारभित्रका अधिकांश मन्त्रालयमा छैन स्तनपान कक्ष
स्तनपानलाई प्रोत्साहन गर्न सरकारले संघअन्तर्गतका ठुला अस्पतालमै स्तनपान कक्ष बनाएको छैन । जहाँ बिरामीको अत्यधिक भिड मात्रै लाग्दैन, महिला कर्मचारी र सेवाग्राही उत्तिकै उपस्थित हुन्छन् । काठमाडौंका ठुला वीर, कान्ति बाल, त्रिवि शिक्षण, पाटन र टेकु अस्पतालमा स्तनपान कक्ष छैनन् । ट्रमा सेन्टर, निजामती अस्पताल र थापाथली प्रसूतिगृहमा भने स्तनपान कक्ष छन् ।
सिंहदरबारभित्र रहेका कार्यालयहरूमा समेत स्तनपान कक्ष छैन । शिक्षा, रक्षा, गृह, ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वन र सहरी विकास मन्त्रालयमा स्तनपान कक्ष छैन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार, अर्थ र कानुन मन्त्रालयमा भने छ ।
सिंहदरबारभित्रका संसदीय समितिका कार्यालयहरूमा पनि स्तनपान कक्ष छैन । बच्चा बोकेर कार्यालय आउनुपर्ने महिला कर्मचारीले स्तनपान कक्ष नहुँदा समस्या भोगिरहेका छन् । ‘कार्यालयमा आराम गर्ने र बच्चालाई राख्न तथा स्तनपान गराउन सहज हुने कोठा छैन ।
सातै प्रदेशमा प्रमुख दलहरूबिच संयुक्त सरकार बन्ने प्रचण्डको संकेत
नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातै प्रदेशमा प्रमुख दलहरूबिच संयुक्त सरकार बन्न सक्ने संकेत गरेका छन्। उनले प्रदेश सरकारलाई नयाँपन दिन कांग्रेस, एमाले, नेकपा र मधेशकेन्द्रित दलहरू मिलेर साझा सरकार गठनको सम्भावना रहेको बताएका हुन्।
प्रेस सेन्टर सुर्खेतले आइतबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले साझा सरकार बने लोकतन्त्र, गणतन्त्र, शान्ति सम्झौता र संविधानसभाका पक्षधर सबै शक्ति एक ठाउँमा उभिएको सन्देश जाने बताए।
‘साझा सरकार बनाउँदा लोकतन्त्र र गणतन्त्रको पक्षमा, शान्ति सम्झाैता र संविधान सभाका पक्षधर सबै शक्ति एक ठाउँमा उभिएको सन्देश पनि जान्छ,’ उनले भने, ‘यसले जनतालाई पनि राहत हुन्छ, सरकार पनि राम्रो चल्छ।’
उनका अनुसार सर्वदलीय सरकार गठनका लागि पहल भइरहेको छ। उनले एमाले र कांग्रेसले छुट्टाछुट्टै रूपमा सरकार गठनका प्रस्तावहरू अघि बढाइरहेको दाबी गर्दै आफ्नो दल त्यस्तो खेलमा नरहेको स्पष्ट पारे।
‘यो वा त्यससँग मिलेर सरकार बनाउने खेलमा हामी छैनौँ, सर्वदलीय सरकारको पहल गरिरहेका छौँ,’ उनले भने। प्रचण्डले कम्युनिस्ट पार्टीहरूबिच ध्रुवीकरणको छलफल पनि जारी रहेको बताए। उनले पछिल्ला निर्वाचनपछि वामपन्थी आन्दोलन कमजोर बनेको उल्लेख गर्दै सहकार्य र एकताका लागि सबै कम्युनिस्ट पार्टीहरूसँग संवाद भइरहेको जानकारी दिए।
लिजको एपियू पनि नियमविपरीत फिर्ता, काम गरिरहेको इन्जिन झिकेर फेरि ‘एमइएल’को दुरुपयोग
निगमको ‘नाइनएन–एकेएक्स लुम्बिनी’ जहाजमा जडान गरिएको लिजको एपियूसमेत हवाई नियमविपरीत फिर्ता गरिएको पाइएको छ । उक्त जहाजमा १६ मे २०२५ मा जडान गरिएको लिज एपियू (सिरियल नम्बर पिडब्लुसी जेडई ४११०) लाई २५ डिसेम्बर २०२५ सम्म २२३ दिनसम्म भाडामा प्रयोग गरियो ।
स्रोतका अनुसार लामो समयसम्म लिजमा राख्दा यसको भाडा लागत एपियूको कुल मूल्यको करिब ६० प्रतिशतनजिक पुगेपछि मात्रै जहाजबाट निकालिएको थियो । तर, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा अन्तर्राष्ट्रिय उड्डयन नियमअनुसार सेवायोग्य (नबिग्रेको) एपियू जानाजानी हटाएर एमइएलको सहुलियत प्रयोग गर्न पाइँदैन ।
नेपाल सुपर लिग (एनएसएल)को चौथो संस्करणको मिति घोषणा भएको छ।
आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टका अध्यक्ष स्रेयान्स कार्कीले प्रतियोगिता भदौ २० बाट सुरु हुने बताए। यस्तै प्रतियोगिता चार महिना आयोजना गरिने पनि कार्कीले बताए।
चौथो संस्करणको एनएसएल होम एन्ड अवे प्रणालीमा खेलाइनेछ। यसअघि प्रतियोगिता राजधानी काठमाडौंमा मात्र हुँदै आएको थियो। नयाँ ढाँचासँगै सहभागी टोली संख्या १२ पुर्याइने भएको छ।