लिजको एपियू पनि नियमविपरीत फिर्ता, काम गरिरहेको इन्जिन झिकेर फेरि ‘एमइएल’को दुरुपयोग

आइतबार, ३ जेठ, २०८३
डिजिटल संस्करण

निगमको ‘नाइनएन–एकेएक्स लुम्बिनी’ जहाजमा जडान गरिएको लिजको एपियूसमेत हवाई नियमविपरीत फिर्ता गरिएको पाइएको छ । उक्त जहाजमा १६ मे २०२५ मा जडान गरिएको लिज एपियू (सिरियल नम्बर पिडब्लुसी जेडई ४११०) लाई २५ डिसेम्बर २०२५ सम्म २२३ दिनसम्म भाडामा प्रयोग गरियो ।

स्रोतका अनुसार लामो समयसम्म लिजमा राख्दा यसको भाडा लागत एपियूको कुल मूल्यको करिब ६० प्रतिशतनजिक पुगेपछि मात्रै जहाजबाट निकालिएको थियो । तर, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा अन्तर्राष्ट्रिय उड्डयन नियमअनुसार सेवायोग्य (नबिग्रेको) एपियू जानाजानी हटाएर एमइएलको सहुलियत प्रयोग गर्न पाइँदैन ।

एमइएल व्यवस्था खराबी देखिएको अवस्थामा मात्रै सीमित समयका लागि अस्थायी छुट दिनका लागि हो । तर, निगमले व्यावसायिक कारण देखाउँदै काम गर्ने अवस्थामा रहेको एपियू हटाएर फेरि जहाजलाई एपियूविना सञ्चालन गरेको देखिएको छ ।

यसरी एपियू हटाएपछि लागू गरिएको एमइएलको म्याद २४ अप्रिल २०२६ सम्म थियो । तर, उक्त अवधिसम्म पनि निगमले आफ्नै एपियू मर्मत गर्न नसकेपछि पुनः नागरिक उड्डयन प्राधिकरणसँग समय थप मागेको र प्राधिकरणले थप एक महिनाको म्याद दिएको बुझिएको छ ।

हवाई क्षेत्रका जानकारका अनुसार एपियूविना जहाज सञ्चालन गर्नु विशेष गरी आकस्मिक अवस्थामा जोखिमपूर्ण हुन्छ । यस्तो अवस्थामा आपतकालीन विद्युत् आपूर्ति प्रभावित हुन सक्छ, केबिनमा हावा आपूर्ति अवरुद्ध हुन सक्छ र ग्राउन्ड अपरेसनमा समेत समस्या आउन सक्छ । यसले यात्रु सुरक्षामा प्रत्यक्ष असर पार्न सक्छ ।

सामान्यतया एपियू मर्मत कार्य ४५ देखि ६० दिनभित्र सम्पन्न हुने गर्छ । यही आधारमा निर्माता कम्पनीले अधिकतम १२० दिनसम्म मात्रै एमइएल प्रयोग गर्न सकिने व्यवस्था गरेको हुन्छ । तर, निगमले यस सीमालाई बारम्बार लम्ब्याउँदै नियमको दुरुपयोग गरेको देखिएको छ ।

सुझावित समाचार