सिंहदरबारभित्रका अधिकांश मन्त्रालयमा छैन स्तनपान कक्ष

आइतबार, ३ जेठ, २०८३
डिजिटल संस्करण

स्तनपानलाई प्रोत्साहन गर्न सरकारले संघअन्तर्गतका ठुला अस्पतालमै स्तनपान कक्ष बनाएको छैन । जहाँ बिरामीको अत्यधिक भिड मात्रै लाग्दैन, महिला कर्मचारी र सेवाग्राही उत्तिकै उपस्थित हुन्छन् । काठमाडौंका ठुला वीर, कान्ति बाल, त्रिवि शिक्षण, पाटन र टेकु अस्पतालमा स्तनपान कक्ष छैनन् । ट्रमा सेन्टर, निजामती अस्पताल र थापाथली प्रसूतिगृहमा भने स्तनपान कक्ष छन् ।

सिंहदरबारभित्र रहेका कार्यालयहरूमा समेत स्तनपान कक्ष छैन । शिक्षा, रक्षा, गृह, ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वन र सहरी विकास मन्त्रालयमा स्तनपान कक्ष छैन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार, अर्थ र कानुन मन्त्रालयमा भने छ ।

सिंहदरबारभित्रका संसदीय समितिका कार्यालयहरूमा पनि स्तनपान कक्ष छैन । बच्चा बोकेर कार्यालय आउनुपर्ने महिला कर्मचारीले स्तनपान कक्ष नहुँदा समस्या भोगिरहेका छन् । ‘कार्यालयमा आराम गर्ने र बच्चालाई राख्न तथा स्तनपान गराउन सहज हुने कोठा छैन ।

यहीँ काम गर्नेहरूका लागि त छैन, बाहिरबाट आउने सेवाग्राहीका लागि हुने कुरै भएन,’ सहरी विकास मन्त्रालयमा कार्यरत एक कर्मचारीले भनिन् । त्यस्तै, आराम कक्ष नहुँदा सिंहदरबारभित्रका महिला कर्मचारी बच्चालाई मोबाइलमा भुलाएर काम गर्न बाध्य छन् ।

सिंहदरबारबाहिर रहेको स्वास्थ्य मन्त्रालयमा भने यसअघि स्तनपान कक्ष थियो । तर, उक्त कक्ष रहेको पुरानो भवन जेन–जी आन्दोलनका क्रममा ध्वस्त भएपछि अहिले समस्या छ । हाल मन्त्रालय सरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् भवनमा स्तनपान कक्ष नभएकाले त्यहाँ काम गर्ने सुत्केरी महिला कर्मचारीले समस्या भोगिरहेका छन् । मन्त्रालयमा शिशु स्याहार केन्द्र त पहिले पनि थिएन ।

सुझावित समाचार