अमेरिका–इरान न युद्ध चाहन्छन्, न कमजोरी स्विकार्छन्

स्ट्रेट अफ हर्मुजमा देखिएको पछिल्लो तनावले कूटनीतिक प्रयासमा धक्का पुग्न सक्छ

बिहिबार, २४ बैशाख, २०८३
डिजिटल संस्करण

अमेरिका र इरानबिच युद्धविराम भए पनि दुवैले एक–अर्काको जहाजमाथि गोली हानेको र क्षति पुर्याएको दाबी गरेपछि यो साता खाडी क्षेत्र फेरि तनावग्रस्त बन्यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘प्रोजेक्ट फ्रिडम’ नामक सैन्य अभियान चलाएर खाडीमा फसेका जहाजलाई स्ट्रेट अफ हर्मुजबाट बाहिर निकाल्ने अमेरिकी योजना घोषणा गरेपछि इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजिसी)’ले अनुमतिविना जलमार्ग प्रयोग गर्न खोज्ने जहाजमाथि गोली प्रहार गरेको बताएको छ । यी पछिल्ला घटनाक्रमले नाजुक युद्धविराम तोडिने र फेरि युद्ध त हुने होइन भन्ने डर पनि बढायो ।

अमेरिकी सेनाले व्यावसायिक जहाजका लागि सुरक्षित मार्ग सुनिश्चित गर्ने योजना कसरी बनाएको छ भन्नेबारे भने ट्रम्पले कुनै विवरण प्रदान गरेनन् । फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि लगभग पूर्ण रूपमा बन्द भएको जलमार्गको दुवैछेउमा लगभग दुई हजार जहाज अहिले फसेका छन् । सोमबार इरानको समाचार एजेन्सी फार्सले लेखे अनुसार हर्मुजको जलमार्गबाट फर्कन अस्वीकार गरेको अमेरिकी युद्धपोतलाई दुई इरानी ड्रोनले प्रहार गरेको छ । तर, अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले युद्धपोतलाई प्रहार गरिएको अस्वीकार गर्यो र यसको विपरीत उसले आइआरजिसीसँग सम्बन्धित जहाज डुबाएको दाबी गर्यो । कुनै पनि आइआरजिसी जहाज प्रहार भएको अस्वीकार गर्ने इरानले जलमार्गको नक्सा जारी गर्यो, जसले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रको नयाँ सीमा देखाएको थियो, जुन पहिलेभन्दा पूर्वमा थियो र संयुक्त अरब इमिरेट्सको क्षेत्रीय पानी पनि समावेश थियो । यसले नयाँ क्षेत्रीय टकरावको डर जगायो ।

पछि युएईले इरानमाथि पूर्वी इमिरेट्स फुजैराहमा मिसाइल र ड्रोनको आक्रमण गरेको, तेल प्रशोधन केन्द्रमा आगजनी गरेको र तीन भारतीय नागरिक घाइते भएको आरोप लगाएको छ । अमेरिका र इरानले हालै गरेका दाबी र प्रतिदाबीले युद्धको सुरुवातदेखि नै प्रयोग गरिएको बयानबाजीलाई दर्साउँछ, जसमा दुवै पक्षले आफ्नो सम्पत्तिमा कुनै क्षति भएको अस्वीकार गर्दै एक–अर्कालाई प्रहार गरेको दाबी गरेका छन् ।

के हो प्रोजेक्ट फ्रिडम ?
सोमबार ट्रम्पले भने कि अमेरिकी सेनाले हर्मुजको जलमार्गमा अलपत्र जहाजलाई ‘इस्कर्ट’ गर्न थाल्नेछ, जसले इरानको रणनीतिक जलमार्ग बन्द गर्ने प्रत्यक्ष चुनौतीको संकेत गर्छ । संसारकै चासो बनेको यस व्यस्त जलमार्गबाट युद्ध नहुँदा विश्वको २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास आपूर्ति ढुवानी हुन्छ । फेब्रुअरी २८ मा अमेरिका–इजरायली आक्रमण सुरु भएदेखि नै इरानको जहाजमा आक्रमण गर्ने धम्कीले जलमार्गलाई अवरुद्ध गरेको छ ।

महत्वपूर्ण समुद्री करिडोर बन्द भएपछि विश्वभर तेल र मलको मूल्य बढेको छ । त्यस्तै, विश्वव्यापी मन्दी र खाद्य आपत्कालको डर बढेको छ । प्रतिक्रियामा अमेरिकाले अप्रिल १३ मा इरानी बन्दरगाहको आफ्नै नौसेना नाकाबन्दी सुरु गरेको थियो । ट्रम्पले भने कि अप्रेसन प्रोजेक्ट फ्रिडम ती देशहरूको आदेशमा गरिएको थियो, जसका जहाज जलमार्गको दुवै छेउमा फसेका छन् । फसेका जहाजलाई उनले ‘तटस्थ र निर्दोष दर्शक’ भनेर वर्णन गरे ।

‘जहाजको चाल केवल ती मानिस, कम्पनी र देशलाई मुक्त गर्नका लागि हो, जसले कुनै पनि गलत काम गरेका छैनन्, तिनीहरू परिस्थितिको सिकार हुन्,’ ट्रम्पले आइतबार आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट गर्दै यसलाई ‘मानवीय इसारा’ भने ।

फार्सका अनुसार एक अमेरिकी युद्धपोतले जलमार्गबाट पछाडि फर्कन आदेश अस्वीकार गरेपछि तीमाथि दुई इरानी ड्रोनले प्रहार गरिएको थियो । यद्यपि, अमेरिकी मध्यकमान्डले यसलाई अस्वीकार गर्यो । यो दाबी कुनै पनि स्वतन्त्र पर्यवेक्षकले प्रमाणित गरेको छैन । ‘इरानी नेतृत्वले राष्ट्रपति ट्रम्पको बढ्दो तनावलाई आफ्नै बढ्दो तनावसँग मिलाउन आवश्यक छ भन्ने महसुस गर्छ,’ अस्ट्रेलियाको डेकिन विश्वविद्यालयमा मध्यपूर्व र मध्य एसियाली राजनीतिका प्राध्यापक साहराम अकबरजादेहले अलजजिरालाई भने, ‘यदि अमेरिकी नाकाबन्दीका कारण इरानीले निर्यात राजस्वबाट लाभ उठाउन सक्दैनन् भने तिनीहरू अमेरिका र यसका क्षेत्रीय सहयोगीलाई पनि त्यस्तै आर्थिक पीडा दिन चाहन्छन् ।’

सोमबार एक विज्ञप्तिमा अमेरिकी एडमिरल ब्राड कुपरले भन्यो कि मध्यकमान्डको सेनाले प्रोजेक्ट फ्रिडममा हस्तक्षेप गर्ने प्रयास गर्ने ६ वटा आइआरजिसी जहाज डुबायो । पछि ट्रम्पले सात डुंगामाथि पनि प्रहार गरिएको बताए । मंगलबार इरानी राज्य प्रसारक आइआरआइबीले एक नाम नखुलाइएको इरानी सैन्य कमान्डरलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ कि तेहरानले जहाज आक्रमणको अमेरिकी आरोपपछि अनुसन्धान सुरु गरेको छ । आइआरआइबीले कुनै आइआरजिसी जहाज प्रहार नभएको रिपोर्ट गरेको छ, तर यसको अनुसन्धानले देखाएको छ कि अमेरिकी सेनाले ‘सोमबार ओमानको तटमा रहेको खासाबबाट इरानको तटमा मानिसहरू बोकेका दुई साना डुंगामा हमला गरेको थियो ।’ आक्रमणमा डुंगा ध्वस्त पार्नुका साथै पाँचजना सर्वसाधारण यात्रु मारिएका थिए ।

दुबई पनि प्रभावित 
युएईले फुजैराहमा भएको आक्रमणमा इरानलाई दोष लगाएको छ । उक्त हमलामा तेल प्रशोधन केन्द्रमा आगलागी भएको थियो । आफ्नो हवाई प्रतिरक्षाले सोमबार इरानबाट प्रहार गरिएका १२ ब्यालिस्टिक क्षेप्यास्त्र, तीन क्रुज क्षेप्यास्त्र र चार ड्रोन निस्तेज पारेको युएईको रक्षा मन्त्रालयले जनाएको छ । यो दाबी स्वतन्त्र पर्यवेक्षकले प्रमाणित गरेका छैनन् ।

मंगलबार, आइआरआइबीले एक सैन्य अधिकारीलाई उद्धृत गर्दै भन्यो, इस्लामिक गणतन्त्रको उल्लिखित तेल सुविधामा आक्रमण गर्ने कुनै पूर्वनियोजित कार्यक्रम थिएन, जे भयो त्यो होर्मुज जलडमरुको प्रतिबन्धित जलमार्गबाट जहाजको अवैध पारवहनका लागि मार्ग सिर्जना गर्ने उद्देश्यले अमेरिकी सैन्य साहसिक कार्यको परिणाम थियो । यसका लागि अमेरिकी सेनालाई जवाफदेही बनाउनुपर्छ ।’

अधिकारीले अमेरिकालाई कूटनीतिक प्रक्रियामा बल प्रयोग गर्ने ‘अनुचित अभ्यास’ अन्त्य गर्न र ‘विश्वभरका देशको अर्थतन्त्रलाई असर गर्ने यस संवेदनशील तेल क्षेत्रमा सैन्य साहसिक कार्य’ रोक्न आह्वान गरेका छन् । पछिल्ला घटनाक्रमले द्वन्द्व अन्त्य गर्ने कुनै पनि कूटनीतिक प्रयासका लागि गम्भीर खतरा निम्त्याउने प्राध्यापक अकबरजादेह बताउँछन् । ‘हामी सूक्ष्म कूटनीतिको पृष्ठभूमिमा एकपछि अर्को बढ्दो तनाव देख्छौँ,’ अकबरजादेह भन्छन्, ‘यस्ता आक्रमण यदि नियन्त्रण गर्ने उद्देश्यले गरिएका हुन् भने पनि अर्को ठुलो लडाइँमा विस्फोट हुने जोखिम हुन्छ ।’ अहिलेको अवस्थामा अमेरिकी र इरानीहरू युद्ध चाहँदैनन् । तर, समान रूपमा दुवै कमजोरी देखाउन तयार छैनन् ।

‘इरानमाथिको सैन्य अपरेसन पूरा भयो’
ट्रम्पले स्ट्रेट अफ हर्मुजको भित्री भागमा अड्किएका जहाजलाई बाहिर निकाल्ने अमेरिकी सैन्य कारबाही केही समयका लागि रोकेको बताएका छन् । मंगलबार आफ्नो ट्रुथ सोसल प्लेटफर्ममार्फत ट्रम्पले यस्तो घोषणा गरे । यो निर्णय पाकिस्तान र अन्य देशको ‘अनुरोध’पछि गरिएको र इरानीसँग एउटा ‘पूर्ण र अन्तिम सम्झौता हुनेतर्फ ठुलो प्रगति भएका’ले गरिएको ट्रम्पले बताए । इरानले भने यस विषयमा कुनै टिप्पणी गरेको छैन । ट्रम्पको घोषणा खाडीमा तनाव बढ्दै जाँदा आएको हो । यसअघि अमेरिकी सेनाले स्ट्रेट अफ हर्मुजबाट जहाज निकाल्ने नाममा केही इरानी डुंगा तथा क्रुज मिसाइल र ड्रोनहरू नष्ट गरेको बताएको थियो । 

उता मंगलबार ह्वाइट हाउसमा सम्पन्न प्रेस ब्रिफिङमा बोल्ने क्रममा अमेरिकी विदेश सचिव मार्को रुबियोले इरानविरुद्धको अमेरिकाले सञ्चालन गरेको सैन्य अभियान ‘अप्रेसन एपिक फ्युरी’ सकिएको बताए । ‘अब हामीमाथि सुरुमा आक्रमण नभए हामीले कुनै गोलीबारी गर्नेछैनौँ,’ रुबियोले भने । तथापि इरानले स्ट्रेट अफ हर्मुज नियन्त्रण गर्ने प्रयास गरे ‘मूल्य तिर्नुपर्ने’ पनि रुबियाले चेतावनी दिए । ‘स्ट्रेट अफ हर्मुज इरानको निजी सम्पत्ति होइन । ऊसँग यसलाई बन्द गर्ने, जहाजलाई निसाना बनाउने र समुद्री मार्गमा माइन बिछ्याउने अधिकार छैन,’ रुबियोले भने, ‘कुनै पनि परिस्थितिमा हामी यसलाई सामान्य मान्न सक्दैनौँ । इरानसँग समन्वय गर्ने पा हर्मुजबाट आउजाउ गर्दा इरानलाई शुल्क तिर्ने कुरा स्विकार्न सकिँदैन,’ रुबियोले भने । जलमार्गमा आउजाउ गर्नकै लागि कुनै देशलाई शुल्क तिर्न थालिए यस्तो उदाहरण विश्वभरका धेरै भागमा दोहोरिन सक्ने रुबियोले बताए ।  विश्वको कुल ऊर्जा आपूर्तिको लगभग २० प्रतिशत हिस्सा बाहिरिने ‘स्ट्रेट अफ हर्मुज’ फेब्रुअरी २८ मा अमेरिका र इजरायलले देशमा आफ्नो युद्ध सुरु गरेदेखि इरानले प्रभावकारी रूपमा बन्द गरेको छ । 

– अलजजिराबाट

(नर्थवेस्टर्न युनिभर्सिटी, कतारमा पत्रकारिता पढेकी समिम हाल फ्रिलान्स पत्रकारिता गर्छिन् ।)

सुझावित समाचार