इटालीविरुद्ध नेपाल ५० रनले विजयी

सोमबार, ७ बैशाख, २०८३
डिजिटल संस्करण

रुवान्डामा चलिरहेको आइसिसी महिला टी–२० च्यालेन्ज कपमा नेपालले इटालीलाई ५० रनले हराएको छ । पहिलो खेलमा अमेरिकासँग पराजित नेपालले दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको हो । पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा आठ विकेट गुमाएर ११२ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा इटालीको महिला टोली १८.४ ओभरमा सबै विकेटको क्षतिमा ६२ रनमा समेटियो । 

नेपालको ब्याटिङमा उपकप्तान पूजा महतोले सर्वाधिक ४८ रनको योगदान दिएकी थिइन् । उनले ४५ बलको सामना गरी दुई चौका र एक छक्का प्रहार गरेकी थिइन् । ओपनर विन्दु रावल र सम्झना खड्काले पहिलो विकेटका लागि १९ रनको साझेदारी गरेका थिए । विन्दुले २६ बलमा दुई चौका प्रहार गरी १५ रन बनाइन् । सम्झनाले १२ बलमा १६ रन जोडिन् । कप्तान इन्दु बर्माले १४ बलमा १० रन बनाइन् । यसबाहेक अन्य कुनै पनि नेपाली खेलाडीले गतिलो योगदान दिन सकेनन् । बलिङमा इटालीकी कप्तान इमिलाले २१ रनमा तीन विकेट लिइन् । 

रुविनाको उत्कृष्ट बलिङ
नेपालले च्यालेन्ज कपमा पहिलो जित निकाल्दा बलिङतर्फ पूर्वकप्तान रुविना क्षेत्रीले उत्कृष्ट बलिङ प्रदर्शन गरिन् । उनले २.४ ओभरमा एक मेडन राखी ४ रन मात्र खर्चेर सर्वाधिक चार विकेट लिइन् । यसैगरी कविता कुँवरले तीन ओभरमा १२ रन खर्चेर दुई विकेट हात पारिन् । खेलमा रुविना नै म्यान अफ दी म्याच भइन् । इटालीको ब्याटिङमा महामालागेले ४६ बलमा २२ रन बनाइन् ।

सुझावित समाचार