जनकपुरको ट्यालेन्ट हन्टबाट उदाएका राहुल

शुक्रबार, १३ कार्तिक, २०८३
प्रिन्ट संस्करण
जनकपुरको ट्यालेन्ट हन्टबाट उदाएका राहुल

काठमाडौं गोर्खाजविरुद्ध महत्वपूर्ण विकेट लिएपछि जनकपुर बोल्ट्सका राहुल यादव । तस्बिर : अमुल थापा/नयाँ पत्रिका

  • दुई सिजन टेलिभिजनमा खेल हेरेका १७ वर्षीय राहुल यादव ट्यालेन्ट हन्टबाट छनोट भएर तेस्रो सिजनको एनपिएलको दुई खेलमा ६ विकेट लिँदै सनसनी मच्चाउँदै

तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा पूर्वविजेता जनकपुर बोल्ट्सका १७ वर्षीय युवा बलर राहुल यादवले उत्कृष्ट प्रदर्शन गर्दै आफूतिर सबैको ध्यान केन्द्रित गरिरहेका छन् । तेस्रो सिजनको एनपिएल सुरु भएको पाँच दिन मात्र भएको छ । तर, राहुल दुई खेलमै सनसनी प्रदर्शन गर्न सफल भएका छन् । रौतहटको चन्द्रपुरका राहुलले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई खेलमा ६ विकेट लिइसकेका छन् । उनी सर्वाधिक विकेट लिने सूचीको शीर्ष स्थानमा छन् ।

राहुलसँग ठुला खेलाडीसँग प्रतिस्पर्धा गरेको अनुभव छैन । तर, एनपिएलजस्तो क्रिकेट महोत्सवमा उनले सनसनीपूर्ण प्रदर्शन गरिरहेका छन् । जनकपुरले राहुललाई ट्यालेन्ट हन्टबाट टोलीमा समावेश गरेको हो । राहुलले एनपिएलको पहिलो खेलमा कर्णाली याक्सविरुद्ध दोस्रो ओभरमै बलिङ गर्ने अवसर पाए । उनले पहिलो बलमै कर्णालीका दीपक डुम्रेलाई आउट गरे ।

उनी त्यतिमै रोकिएनन् । उनले इनिङ्सको ६.३ ओभरमा पाकिस्तानी चर्चित अलराउन्डर हुसैन तलातलाई ३ रनमा पेभेलियनको बाटो देखाए । बिहीबार जनकपुरको दोस्रो खेल काठमाडौं गोर्खाजसँग थियो । वेस्ट इन्डिजका प्रशिक्षक शिवनारिने चन्द्रपाउलले १६ वर्षीय तीव्र गतिका बलर राहुललाई फेरि विश्वास गरे । राहुलले आफ्ना प्रशिक्षकलाई निराश बनाएनन् । काठमाडौंविरुद्ध उनले चार विकेट लिए । कर्णालीको तुलनामा राहुलले काठमाडौंविरुद्ध आत्मविश्वासका साथ बलिङ गरेका थिए । ‘टिममा सबैले विश्वास गर्नुभएको छ । त्यसैले पनि दुई खेलमा सफल भएँ,’ राहुल भन्छन्, ‘पहिलो खेलमा अलिकति नर्भस भए पनि विकेट आयो । त्यसपछि राम्रो भयो । दोस्रो खेलमा पनि पहिलो बलमै विकेट आएपछि सहज भयो ।’ उनी आगामी खेलमा थप धारिलो बलिङ गर्ने बताउँछन् । ‘अब अगाडि बढ्दै जाँदा महत्वपूर्ण खेल आउँछ । त्यसमा राम्रो गर्ने सोच बनाएको छु । काठमाडौंविरुद्धको जस्तै सबै खेलमा होस्,’ उनले भने ।

काठमाडौंसँगको खेल विशेष
एनपिएलको नजरमा उनको काठमाडौंविरुद्धको खेल विशेष रह्यो । उनले काठमाडौंमा चर्चित र अनुभवी ब्याटसम्यानलाई सिकार बनाए । राहुलको धारिलो प्रदर्शनका कारण जनकपुरले जित निकाल्यो । काठमाडौंले जुन खेलाडीबाट बढी आशा गरेको थियो, त्यही खेलाडीलाई राहुलले टिक्नै दिएनन् । राहुलकै अविश्वसनीय प्रदर्शनमा काठमाडौं १९.३ ओभरमै ११५ रनमै अलआउट भयो । राहुलले चार विकेट लिन ३१ रन खर्चिए । उनी नै खेलका प्लेयर अफ दी म्याच बने । ‘लगातार राम्रो प्रदर्शन गर्दा खुसी छु । टिमले विश्वास गर्दा सहज भएको छ,’ उनले भने । राहुलले काठमाडौंले ब्याटिङ गरेको इनिङ्सको २.१ ओभरमा अस्ट्रेलियन अनुभवी ओपनर साम हेइज्लेटलाई आउट गरे ।

त्यसपछि उनले ५.१ ओभरमा १३ रनमा खेलिरहेका स्मित पटेललाई कप्तान हर्मित सिंहबाट क्याच गराएका थिए । १७औँ ओभरमा उनले लगातार दुई विकेट लिए । १६.५ ओभरमा आफ्नो तेस्रो विकेटका रूपमा कप्तान करण केसीलाई आउट गराए । एक बलपछि नै अर्का चर्चित अलराउन्डर आदिल आलमलाई निराश बनाए । उनले आफ्नो स्पेलको अन्तिम ओभरमा समेत विकेट लिने अवसर गुमाए । ​​​​​​​

चन्द्रपुरदेखि राष्ट्रियस्तरमा 
युवा बलर राहुलको चर्चा यसै एनपिएलबाटै भएको हो । यसअघि उनी कुनै पनि घरेलु प्रतियोगितामा देखिएका थिएनन् । उनी ट्यालेन्ट हन्टबाट एकैपटक एनपिएलमा देखिएका हुन् । तर, उनी लगातार स्थानीय क्लबमा खेल्दै यहाँसम्म आइपुगेको बताउँछन् । रौतहटको चन्द्रपुरमा जन्मिएका राहुलले स्थानीय क्रिकेट क्लबबाट खेल्दै आफूलाई प्रमाणित गरेका छन् । एनपिएलसम्म पुग्नुपछाडि उनलाई परिवारको राम्रो साथ छ । ‘यहाँसम्मको यात्रामा सबैभन्दा राम्रो सहयोग र समर्थन घरको छ,’ राहुलले भने, ‘मलाई मधेशका दाइहरूले क्रिकेट धेरै सिकाउनुहुन्छ । त्यसैले पनि खेल्न सहज भइरहेको छ ।’

उनले दोस्रो र पहिलो सिजनको एनपिएल टिभीमै हेरेका रहेछन् । दुई वर्षभित्र उनी तेस्रो सिजनको एनपिएलमा उदीयमानी खेलाडीका रूपमा अगाडि बढिरहेका छन् । अहिले उनी क्रिकेट खेलमा आफ्नै आइडलसँग खेलिरहेका मात्र छैनन्, डेसिङ रुम सेयरिङ गरिरहेका छन् । ‘एनपिएलमा ठुला नाम छन्, कप्तान हर्मित सिंह, अनिल दाइहरूबाट धेरै सिक्न पाएको छु । सबैले हिम्मत दिन्छन् । त्यसैले आज गर्न सक्छु जस्तो लाग्छ,’ ड्रेसिङ रुमको माहोलबारे उनी भन्छन्, ‘लगातार प्रदर्शनपछि खुसी छु । अहिलेलाई धन्यवाद मात्रै भन्छु । राम्रो खेल खेलेपछि सबैले समर्थक गर्नुभएको छ ।’

अब खुल्नेछ यू–१९ को ढोका 
१७ वर्ष लाग्दै गरेका राहुलको भविष्य सुन्दर छ । उनी भर्खरै १६ वर्ष १५८ दिनका भए । यो सिजनपछि उनीमाथि अन्य फ्रेन्चाइजले आँखा लगाउनेछन् । यसका साथै नेपालको उमेर समूहमा समेत ढोका खोल्न सक्छ । अहिले क्यानले यू–१९ राष्ट्रिय टोलीको घोषणा गरिसकेको छ । राम्रो प्रदर्शन भए उनी राष्ट्रिय टिमको प्रशिक्षणमा समेत जोडिन सक्ने सम्भावना उच्च देखिन्छ । यसअघि कर्णाली याक्सको ट्यालेन्ट हन्टबाट आएका विपिन शर्माले गत सिजनमा आफूलाई प्रमाणित गरेका थिए । अहिले उनी नेपालको यू–१९ टिमबाट खेलिरहेका छन् । नेपालका राष्ट्रिय खेलाडी तथा काठमाडौं गोर्खाजका प्रशिक्षक शरद भेसवाकरले राहुलको भविष्य सुन्दर रहेको बताए । ‘राहुल निकै राम्रो छ । भविष्यमा नेपालको राम्रो बलर हुन सक्छ । हामीले राहुलसँग यसअघि पनि मूलपानीमा खेलेका थियौँ,’ शरदले भने, ‘उसको बलिङ राम्रो छ । आज चाँडै विकेट लिएर हामीलाई दबाबमा राखेको हो ।’

 

सुझावित समाचार