विराटनगरको पुरानो गुद्रीमा एनपिएलको छुट्टै रौनक

त्रिवि क्रिकेट मैदानमा चलिरहेको नेपाल प्रिमियर लिग ठुलो स्क्रिनमा खेल हेर्न दिनहुँ जुट्छन् सयौँ क्रिकेटप्रेमी

शुक्रबार, १३ कार्तिक, २०८३
प्रिन्ट संस्करण

विराटनगर- फिफा रेफ्री किरण गिरी हरेक दिन विराटनगरको पुरानो गुद्री पुग्छन् । उनी काठमाडौंको त्रिवि क्रिकेट मैदानमा चलिरहेको नेपाल प्रिमियर लिग (एनपिएल)को खेल ठुलो स्किनअगाडि साथीहरूसँग रमाउँदै हेर्छन् । उनी मात्र होइन, विराटनगरका नाम चलेका खेलाडी, खेलप्रेमी, कर्मचारी , प्रहरीदेखि आमनागरिक यतिवेला तेस्रो सिजनको एनपिएल हेर्न समयमै पुरानो गुद्री पुग्ने गर्छन् । उनीहरू ब्याट्सम्यानले छक्का र चौका प्रहार गर्दा उफ्रिन्छन्, बलरले ब्याट्सम्यानलाई आउट गर्दा पनि हुर्रे भन्दै चिच्याउँछन् ।

विराटनगरस्थित पुरानो गुद्री बजारको खाली ठाउँमा ठुलो स्क्रिनमा लाइभ एनपिएल हेर्ने व्यवस्था भएपछि विराटनगरवासी मक्ख छन् । एनपिएल, आइपिएल र विश्वकपजस्ता प्रतियोगिता हेर्न पैसा खर्च गर्नुपर्थ्यो । तर, तेस्रो एनपिल भने विराटनगरवासीले फ्रीमा हेर्ने अवसर पाएका छन् । सुरक्षित रूपमा क्रिक्रेट प्रतियोगिता हेर्न पाउँदा आफूलाई मजा आएको विराटनगरका उद्धव घिमिरे बताउँछन् । ‘कीर्तिपुरको क्रिकेट मैदानमा खेलाडीहरू ब्याट र बलसँग भिडिरहेका हुन्छन् । पुरानो गुद्री बजारमा सयौँ दर्शकको हुटिङ, ताली र उत्साहसाथ हामीले माहोल तताइरहेका छौँ,’ घिमिरेले भने, ‘कसैले चौका–छक्का प्रहार हुँदा खुसी व्यक्त गर्छन्, कोही विकेट झर्दा निराश हुन्छन् ।’ विराटनगरको खेलप्रेमीका अनुसार सामूहिक खेल हेर्दा क्रिकेट केवल टेलिभिजनमा हेरिने खेल मात्र बनेको छैन । ‘अहिले पुरानो गुद्रीमा एनपिएलको माध्यमबाट साथीभाइसँग भेटघाट गर्ने, खेलबारे बहस गर्ने र सामूहिक रूपमा खुसी साट्ने माध्यम पनि बनेको छ,’ घिमिरेले भने ।

रेफ्री गिरीका अनुसार अपरिचित दर्शकसमेत एउटै खेलको पक्ष–विपक्षमा बहस गरिरहेका भेटिएको बताए । ‘कसले राम्रो खेल्यो, कुन टोलीको सम्भावना बलियो छ र अबको ओभरमा के होला भन्ने छलफल हुन्छ,’ गिरीले भने, ‘यसले अपराजित दर्शक पनि अन्यसँग खेलसँगै जोडिरहन्छन् । यसैले पनि विराटनगरमा खुला रूपमा देखाउन थालिएको एनपिएलको क्रेज खेलमैदानमा झैँ उत्तिकै बढिरहेको छ ।’

सुझावित समाचार