लगातारकाे वर्षाले संखुवासभा गाेल्डकप १६ कात्तिकदेखि हुने

शुक्रबार, १३ कार्तिक, २०८३
डिजिटल संस्करण

संखुवासभा। लगातार परेकाे वर्षाले संखुवासभा गाेल्डकप फुटबल प्रतियोगिता प्रभावित बनेकाे छ ।

संखुवासभाकाे खाँदबारी नगरपालिका– ३, मानेभन्ज्याङमा यही कात्तिक १४ देखि २० गतेसम्म सञ्चालन हुन लागेकाे प्रतियोगिता लगातारको वर्षाले खेलमैदान हिलाम्मे भएपछि कात्तिक १६ देखि २० गतेसम्म सञ्चालन गरिने निर्णय भएकाे आयोजक एडभान्स क्लबका प्रतियोगिता संयाेजक जिल्लामान राईले बताए ।

उनले शुक्रबार क्लबकाे तर्फबाट आधिकारिक विज्ञप्तिमार्फत प्रतियाेगिता दुई दिन पछाडि सरेकाे बताए । माैसमले साथ नदिएपछि बाध्यतावश प्रतियोगिता दुई दिन पछाडि सार्नुपरेकाे संयाेजक राईकाे भनाइ छ ।

उक्त प्रतियोगितामा जिल्लाका चार चर्चित क्लब र जिल्लाबाहिरका चार गरी आठ टिमले सहभागिता जनाउनेछन्। जसमा आयोजक एडभान्स क्लब, सुनसरीको न्यु स्टार क्लब, सलहेश युवा क्लब सिराहा, लोहोरुङ क्लब, प्लानिङ ब्वाइज युनाइटेड काठमाडौं, खाँदबारी युथ क्लब, झापा– ११ फुटबल क्लब र सेकाहा क्लब सहभागी रहेका छन् ।

उक्त प्रतियोगिताका विजेताले पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही सात हजार रुपैयाँ प्रदान गरिनेछ। प्रत्येक खेलका म्यान अफ दी म्याचलाई पाँच हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

सुझावित समाचार