काठमाडौं । विदेशी खेलाडीद्वय अरिफुल इस्लाम र हुसैन तलात चम्किएपछि लगातार तेस्रो जितको खोजीमा रहेको कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो ।
कर्णालीका ओपनर अरिफुल इस्लामले सानदार सुरु गरेका थिए । बंगलादेशका उनले २२ बलमा ४४ रन बनाए । पाँच चौका र तीन छक्का हिर्काएका उनलाई साहव आलमले अस्ट्रेलियन चर्चित ब्याटर डेभिड वार्नरबाट क्याच गराएका थिए । पहिलोपटक एनपिएल खेलिरहेका २१ वर्षीय ब्याटर लगातार तेस्रो खेलमा देखिए । पहिलो खेलमा जनकपुरविरुद्ध ४३ रन तथा दोस्रो खलमा विराटनगरविरुद्ध ३२ रन बनाएका थिए ।
पाकिस्तानका अलराउन्डर हुसैन तलातले २९ बलमा ४० रन बनाए । एक चौका र दुई छक्का हिर्काएका उनी हिट विकेटको सिकार भए । उनी आउट हुँदा कर्णालीले १६.६ ओभरमा पाँच विकेट गुमाउँदै १४३ रन बनाएको थियो ।
हुसैनले पवन सर्राफसँग पाँचौँ विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए । पवनले २४ बलमा अविजित ३० रन बनाए । उनले दुई चौका हिर्काएका थिए ।
यसअघि इस्लाम र वाटले दोस्रो विकेटका लागि ४६ रनको साझेदारी भएको थियो । अलराउन्डर गुल्सन झाले २० रन बनाए । सातौँ नम्बर क्रिजमा आएका गुल्सनले १२ ओभरमा दुई छक्का हिर्काएका थिए ।
तेस्रो क्रममा आएका मार्क वाटले २० बलमा दुई चौकासहित १७ रन बनाए ।
यसअघि पहिलो खेल खेलिरहेका बंगलादेशका ओपनर निसन अलामले पाँच बलमा मात्र सात रन बनाए । उनी आइतबार मात्रै नेपाल आइपुगेका थिए । पाकिस्तान टी–२० टिमका कप्तान शाहिदजादा फर्हान फर्किएपछि कर्णालीले युवा ब्याटर अलामलाई भित्र्याएको हो ।
दीपक डुम्रे पनि ६ बलमा आठ रन मात्रै बनाएर आउट भएका थिए ।
काठमाडौंका लागि रिपोन मोन्डोलले दुई तथा शाहव आलम, कप्तान करण केसी, जहानदाद खान, देव शाह र सन्तोष यादवले समान एक विकेट लिएका थिए ।
प्रतियोगितामा कर्णाली लगातार तेस्रो जितको खोजीमा छ । यसअघि कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रन तथा विराटनगर किंग्सलाई चार विकेटले पराजित गरेको थियो ।
यता, काठमाडौं भने पहिलो जितको खोजीमा छ । काठमाडौं पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो ।
आज नै हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै छन् ।