युएईमा घाइते भएका सातैजना नेपाली नागरिक खतरामुक्त रहेको पुष्टि भएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार नेपाली राजदूतावासले सबै घाइतेसँग फोनमार्फत सम्पर्क गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको हो।
राजदूतावासका अधिकारीहरूले केही समयअघि घाइतेमध्ये चारजनालाई अस्पतालमै भेटेर अवस्थाबारे जानकारी लिएका छन्। बाँकी तीनजनासँग पनि चाँडै भेटघाट गरिने जानकारी परराष्ट्रमा पठाएका छन्।
घाइतेमध्ये ६ जना सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने गम्भीर घाइते एकजनाको उपचार जारी रहेको छ। यद्यपि, उनी पनि खतरामुक्त रहेको र छिट्टै अस्पतालबाट घर फर्किने जानकारी दिएका छन्।
घटनाबारे जानकारी प्राप्त हुनासाथ परराष्ट्र मन्त्रालयले आवश्यक समन्वयका लागि युएईस्थित नेपाली राजदूतावासलाई निर्देशन दिएको जनाएको छ। साथै, युएईका सम्बन्धित निकायहरूले समयमै आवश्यक उपचार तथा व्यवस्थापन गरेको पनि उल्लेख गरिएको छ। राजदूतावासले घाइते नेपालीहरूलाई आवश्यक पर्ने सबै प्रकारको सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ।