राखेपका पूर्वसदस्यसचिव युवराज लामाद्वारा नेकपा परित्याग

शुक्रबार, २० चैत, २०८२
डिजिटल संस्करण

राष्ट्रिय खेलकुद परिषद् (राखेपा)का पूर्वसदस्य सचिव तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को खेलकुद विभागका केन्द्रीय सदस्य युवराज लामाले पार्टी परित्याग गरेका छन।

लामाले केही समयअघि नै पार्टी नेतृत्वसमक्ष राजीनामा बुझाए पनि उक्त विषय हालै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।

नेपाल चलचित्र विकास बोर्डका पूर्वसदस्यसमेत रहेका लामा हाल सितेरियो कराँते महासंघका अध्यक्षको जिम्मेवारीमा छन्। उनले करिब दुई महिनाअघि नै पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई सम्बोधन गर्दै राजीनामा बुझाएको बताए। ‘त्यतिवेला नेताहरूको अनुरोधका कारण सार्वजनिक नगरेको राजीनामा अहिले बाहिर ल्याएको हुँ,’ उनले उल्लेख गरेका छन्।

राजीनामापत्रमा उनले अब कुनै पनि राजनीतिक दलमा आबद्ध नरही स्वतन्त्र नागरिकका रूपमा रहने स्पष्ट पारेका छन्। पार्टीभित्रको आन्तरिक असन्तुष्टिका कारण आफूले यस्तो निर्णय लिनुपरेको उनको भनाइ छ।

लामाले दुईवटा महाधिवेशनमा आफूभन्दा कनिष्ठहरूलाई केन्द्रीय सदस्य बनाइएको, बाहिरबाट आएका व्यक्तिहरूलाई सिधै पदाधिकारी र पोलिटब्युरोमा समेटिएको, तर आफूलाई सधैँ भूमिकाविहीन अवस्थामा राखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

उनले पार्टीभित्र ‘किचन क्याबिनेट’, गुटबन्दी र नेताका घरघर धाउने प्रवृत्तिका कारण आफू अवसरबाट वञ्चित भएको आरोप लगाएका छन्। ‘म कुनै गुटमा सहभागी भइनँ र नेताहरूको चाकरी गर्ने शैलीमा लागिनँ, त्यसैले ओझेलमा परेँ,’ उनको भनाइ उद्धृत गरिएको छ।

१८ वर्षसम्म पार्टीमा रहेर काम गरेको उल्लेख गर्दै लामाले नेपाली माओवादी जनयुद्ध र त्यसपछिको आन्दोलनले उत्पीडित वर्गको अधिकार, गणतन्त्र स्थापना र धर्मनिरपेक्षताको पक्षमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको पनि स्मरण गरेका छन्।

लामाले आगामी दिनमा स्वतन्त्र मतदाताको रूपमा मात्र रहने स्पष्ट पार्दै सक्रिय दलगत राजनीतिबाट अलग हुने संकेत दिएका छन्।

सुझावित समाचार