त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौं नागार्जुन–१ की अनिता लामा, सिन्धुपाल्चोक सुनकोशी–६ की संगीता लामा र लिशंखुपाखर–७ का विनोद लामा रहेका छन्।
प्रहरीका अनुसार अन्तर्राष्ट्रिय प्रस्थान ह्यान्ड ब्यागेज चेकिङका क्रममा उनीहरू विदेशी मुद्रा बाहिर लैजान खोज्दै गर्दा पक्राउ परेका हुन्। उनीहरूको साथबाट क्रमशः १० हजार, १० हजार र ८ हजार ९०० अमेरिकी डलर बरामद गरिएको हो।
तीनैजनालाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको प्रहरीले जनाएको छ।