निर्वाचन आचारसंहिताको पालनामा कडाइ गर्न मानव अधिकार आयोगको आग्रह

बिहिबार, २२ माघ, २०८२
डिजिटल संस्करण

 प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन आचारसंहिता उल्लंघनका घटनामा वृद्धि भइरहेको जनाउँदै सबै सरोकारवाला पक्षलाई संयम र जिम्मेवारी अपनाउन आग्रह गरेको छ।

आयोगले हालै सम्पन्न अनुगमन र विभिन्न सरोकारवालासँगको छलफलबाट राजनीतिक दलका नेताहरू तथा उम्मेदवारहरूबिच सार्वजनिक मञ्चमा मर्यादाहीन भाषा प्रयोग र एकअर्काविरुद्ध घृणाजन्य अभिव्यक्ति बढ्दै गएको निष्कर्ष निकालेको हो। यस्तो प्रवृत्तिले निर्वाचन प्रक्रियालाई मानव अधिकारमैत्री बनाउन चुनौती सिर्जना गर्ने आयोगको भनाइ छ।

डिजिटल प्लेटफर्मको दुरुपयोगमार्फत व्यक्तिको चरित्रमाथि आघात पुर्याउने सामग्री उत्पादन र प्रचार भइरहेको उल्लेख गर्दै आयोगले गोप्य मतदानको अधिकारमाथि समेत गम्भीर खतरा उत्पन्न भएको जनाएको छ। मतदातासँग कसलाई मत हाल्ने भन्ने प्रश्न सोधेर त्यसको अडियो–भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्नु गोपनीयताको स्पष्ट उल्लंघन भएको आयोगको ठहर छ।

यस्तै, केही सञ्चारमाध्यमबाट निर्वाचनअघि नै विजयी उम्मेदवारको अनुमानसहित समाचार सम्प्रेषण हुँदा मतदातामा भ्रम फैलिएको र मतदाता शिक्षा प्रभावकारी हुन नसकेको विषयप्रति पनि आयोगले चासो व्यक्त गरेको छ। विभिन्न राजनीतिक दलका कार्यालयमा भएका तोडफोड तथा अवाञ्छित गतिविधिहरूले पनि निर्वाचन वातावरण बिग्रँदै गएको संकेत गरेको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा राजनीतिक प्रतिस्पर्धाका क्रममा संयमित अभिव्यक्ति अपनाउन, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न र कुनै पनि किसिमका हिंसात्मक गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरिएको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मानव अधिकारअनुकूल बनाउन राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी तथा सरोकारवाला सबै पक्षले आचारसंहिताको कडाइका साथ पालना गर्नुपर्ने आयोगले पुनः जोड दिएको छ।

सुझावित समाचार